बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा आउँदैछ उभार, विगतको लयमा फर्किएला?

आइतबार, माघ २९ २०७९
एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा आउँदैछ उभार, विगतको लयमा फर्किएला?

एभरेष्ट बैंकको मूल्य घटेर ४११ रुपैयाँमा झरेको थियो भने  स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७५ रुपैयाँसम्म झरेको थियो। 

काठमाडौं- पछिल्लो समय बैंकहरुको सेयर मूल्य बढ्नेक्रममा छ। त्यसमध्ये पनि विगतका दोस्रो बजारका ‘हटकेट’ एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। कुनै समय एभरेष्टको दोस्रो बजारमा ३८०० पुगेको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७००० रुपैयाँसम्म पुगेको थियो। पछि निरन्तर घटेर ३ सय रुपैयाँको हाराहारीसम्म आइपुगेको थियो।

दुबै बैंकले वित्तीय सूचकमा सुधारगरेसँगै यतिबेला एभरेष्ट बैंक र  स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। दोस्रो बजारमा एभरेष्ट बैंकको ५५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एभरेष्ट बैंकको मूल्य घटेर ४११ रुपैयाँमा झरेको थियो भने  स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७५ रुपैयाँसम्म झरेको थियो। 

एभरेष्ट बैंक

समग्र बजार घट्दा पनि एभरेष्ट बैंकको सेयर मूल्यमा भने उभार आएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय विवरणमा आकर्षक सुधार गरेको एभरेष्ट बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। चालु आवको ६ महिनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ। यो अवधिमा बैंकले २ अर्ब ८४ करोड ६९ लाख ६८ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.५५ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ।

अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय पुनः बढेर ५३८ रुपैयाँ पुगेको छ। बैंकको गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांशसमेत दिएको छ। सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिएको छ। 

स्ट्याण्डर्ड चार्टर्ड

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा लामो समयपछि लगानीकर्तामा आकर्षण देखिएको छ। वित्तीय सूचकमा सुधार गरेको बैंकको अहिलेको लाभांश र आगामी वर्ष दिनसक्ने लाभांशका कारण पनि बैंकको सेयरमा आकर्षण देखिएको छ। 

बैंकले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिएको छ। कुनै समय ७ हजार रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य अघिल्लो बुलमा बढ्न सकेन।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको थियो भने वितरणयोग्य मुनाफा १ अर्ब नाघेको छ।

बैंकले १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्तापुँजी स्थिर रहेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ९.६० प्रतिशत बढेको छ भने कर्जा २.३२ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, माघ २९ २०७९०१:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend