बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज : सुधारोन्मुख आर्थिक सूचकबाट उत्साही राष्ट्र बैंक नीतिमा हेरफेर नगर्ने पक्षमा

शुक्रबार, माघ २७ २०७९
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज : सुधारोन्मुख आर्थिक सूचकबाट उत्साही राष्ट्र बैंक नीतिमा हेरफेर नगर्ने पक्षमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैछ। अर्थतन्त्र केही सुधारोन्मुख भएका बेला राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दैछ। कुनै पनि नीतिगत दर परिवर्तन नगर्ने गरी समीक्षा सार्वजनि गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ। 

राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने गरी समीक्षा सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। एक महिनामै विदेशी विनिमय सञ्चिति ४८ करोड डलरले बढेको छ। पाँच महिनामा ९ अर्ब ८२ करोड डलर रहेकोमा ६ महिनामा ४८ करोड थपिएर १० अर्ब ३० करोड डलर पुगेको छ।

योसँगै कुल विदेशी सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमयसञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ।

तथ्यांकबाट उ्रत्साहित राष्ट्र बैंकले ब्याजदर समेत घट्दै जाने र आयात पनि विगतमा झै एकै पटक नबढ्ने आंकलन गरेको छ। सोही कारण अहिलेकै नीतिलाई निरन्तरता दिएर समीक्षा सार्वजनिक गर्दैछ। यता चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको पुस महिनामा मात्रै १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो। सोही कारण पनि राष्ट्र बैंक कुनै पनि नीतिको दर नचलाउने निर्णयमा पुगेको छ। हाल वाणिज्य बैंकहरूसँग दुई खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी रहेपनि लगानी विस्तारमा समेत सचेत रहेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ। 

राष्ट्र बैंकले चालु पुँजी कर्जामा थप कुनै संशोधन नगर्ने संकेत गरेको छ। राष्ट्र बैंकले यस्तो कर्जाको लागि निश्चित समायावधि दिइसकेकाले पनि संसोधन नगर्नेमा राष्ट्र बैंक देखिएको छ। 

राष्ट्र बैंकले व्यवसायीहरूको कारोबारको आधारमा त्यसको २० देखि ४० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने व्यवस्था गरेको छ। यस्तो कर्जा लिइसकेका ऋणीहरूलाई सीमाभन्दा बढी लिएको भए २०८० असारदेखि २०८२ असारसम्म पाँच किस्ताको दरमा समायोजन गर्न समय दिएको छ। 

सेयर कर्जामा लिएको एकल ग्राहक कर्जा सीमा परिवर्तन पनि नगर्ने भएको छ। अधिकतम १२ करोड रूपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्थामा संशोधन भएपनि कर्जा लगानीको लागि राखिने जोखिम प्रावधान नघटाउने नीति राष्ट्र बैंकले लिएको छ। 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend