काठमाडौं- नेपाल राष्ट्र बैंकले अस्वभाविक रुपमा ब्याजदर बढाउने बैंकहरुलाई अंकुश लगाएसँगै सेयर बजारमा पनि उत्साह छाएको छ। तर वृद्धि स्थाइ नभएर अस्थाइ भन्ने बुझाइ विश्लेषकहरुको छ।
मनलाग्दी ब्याजदर बढाइरहेका बैंकहरुले अबदेखि एक महिनामा बढीमा १० प्रतिशतका दरले मात्रै ब्याजदर बढाउन पाउने व्यवस्थाले सेयर लगानीकर्तामा केही राहत भएको छ। जसका कारण लगातार घटीरहेको बजारमा ब्रेक लागेको छ। मंगलबार ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा आइपुगेको बजार बुधवार भने सबै जसो सूचकमा वृद्धि भएको छ।
बुधबार नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५ सय ७१.६६ अंकमा पुगेकाे छ। ६१ लाख १ हजार ४१४ कित्ता सेयर किनबेच हुँदाा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँको कारोबार भएको हो।
गत भदौ २ गते हालसम्मकै उच्च अंकमा पुगेर फर्किएको सेयर बजार अहिले माथि उठ्न सकेको छैन। दसैँअघिदेखि घटिरहेको बजार कात्तिक २ गते मंगलबारसम्म आइपुग्दा दुई महिनाको अवधिमा ६८८ अंकको गिरावट आएको थियो।
ब्याजदरका कारण आक्रान्त बनिरहेको सेयर बजारलाई राष्ट्र बैंकको यस कदमले केहि हदसम्म राहात दिन सक्ने अनुमान विश्लेषकहरुले गरेका थिए। तर व्याजदरमात्रै सेयर बजार घट्नुको कारण नभएकोले यो वृद्धि दीर्घकालिन हुन नसक्ने विश्लेषकहरु बताउँछन्।
अस्वभाविक रुपमा ब्याजदर बढाउन नपाउने राष्ट्र बैंकको निर्देशनले तरलतामा प्रभाव पार्दैन। अहिलेको समस्या बैंकको ब्याजदरभन्दा पनि बैंक वित्तीय संस्थामा देखिएको तरलता अभाव हो ।
तरलता अभावको समस्या समाधान हुने अवस्था छैन। राष्ट्र बैंकको मौद्रिक नीतिले मुख्य प्रभाव पारेको मौद्रिक नीतिको समिक्षासम्म अझै लगानीकर्ता पर्ख र हेरको नीतिमा रहने छन्।
राष्ट्र बैंकले कात्तिकमै संसोधन गर्ने तयारीमा रहेको छ। सरकारले तत्काल खर्च गर्न सक्ने अवस्था छैन। अर्को तर्फ कात्तिक महिना पछि बैंक वित्तीय संस्थाहरुमा कर्जाको अत्याधिक माग आउछ। कर्जाको माग अनुसार लगानी गर्न नपाउने वित्तिकै बैंकहरुले महंगोदरमा निक्षेप उठाएर भए पनि कर्जा प्रवाह गर्न खोज्छन्।
यसले गर्दा आगामी दिनमा तरलता अभाव थप चुलिने निश्चित छ। एक महिनामा १० प्रतिशतले मात्रै ब्याजदर बढाउन पाउने व्यवस्थाले अबका हरेक महिनामा १० प्रतिशतका दरले बढ्दै जाने निश्चित छ।
रेमिट्यान्स घट्दो क्रममा छ। सरकारले बजेट खर्च गर्न सकेको छैन। पर्यटन क्षेत्र सिथिल छ। कर्जा उठ्ने सम्भावना छैन। कर्जा नउठ्ने वित्तीकै रिफाइनान्स तथा पुनर्तालिकीकरणका कारण कर्जा प्रभाव धेरै देखिन्छ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ। गत असार मसान्तको तुलनामा बैंकहरुको निक्षेप घटेको छ तर कर्जा लगानी भने बढेको छ। जसले गर्दा सीडी रेसियो टाइट हुँदै गइरहेको छ।