बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सुधारोन्मुख वित्तीय सूचक : ६ महिनामै बढ्यो सवा २ खर्ब निक्षेप, घट्दो ट्रेण्डमा ब्याजदर

मंगलबार, माघ २४ २०७९
सुधारोन्मुख वित्तीय सूचक : ६ महिनामै बढ्यो सवा २ खर्ब निक्षेप, घट्दो ट्रेण्डमा ब्याजदर

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ खर्ब १५ अर्ब १४ रुपैयाँले बढेको छ। जुन गतवर्षको ६ महिनाको अवधीमा ४.२ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको पुस मसान्तसम्म निक्षेप १ खर्ब ७९ अर्ब ७ करोड (३.८ प्रतिशत) ले बढेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ। २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३०.३ प्रतिशत र ५४.४ प्रतिशत रहेको थियो।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ। २०७८ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३९.२ प्रतिशत रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा  ४ खर्ब ९२ अर्ब ६३ करोड (१२.१ प्रतिशत) ले बढेको थियो। 

वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ। २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरूको ४.९ प्रतिशतले र वित्त कम्पनीहरूको१.६ प्रतिशतले बढेको छ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६७.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७९/८० को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.७ प्रतिशतले, अधिविकर्ष कर्जा ८.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ४.० प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १.४ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ८.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७.० प्रतिशतले र हायर पर्चेज कर्जा ८.७ प्रतिशतले घटेको छ।

तरलता व्यवस्थापन 

समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत ३ खर्ब १८ अर्ब ९ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ९२ अर्ब ८३ करोड गरी कुल ३० खर्ब ९४ अर्ब ७६ करोड खुद तरलता प्रवाह गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ३३ खर्ब ६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको थियो। 

वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ पुसमा ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ। २०७९ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः ६.३७ प्रतिशत र ९.४४ प्रतिशत रहेका थिए। 


प्रकाशित : मंगलबार, माघ २४ २०७९०२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend