काठमाडौं- सेयर बजारमा चर्चा भइरहने तीन कम्पनी एनआईसी एसिया, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच कुन अब्बल बन्ने प्रतिस्पर्धा छ। वित्तीय सूचकको प्रतिस्पर्धाले दोस्रो बजारमा समेत आकर्षक बनेका छन्।
पछिल्लो समय लगातार वाणिज्य बैंकमध्येकै सबैभन्दा महँगो सेयर भएको बैंकमा एनआईसी एसिया परेको छ। तीन कम्पनी आइतबार धेरै कारोबार हुनेमा पहिलो, दोस्रो र तेस्रो भएका छन्।
दुई वर्षदेखि लाभांश दिन नपाएको एनआईसीले भविष्यमा धेरै लाभांश दिन सक्ने क्षमता बनाएकोले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ। यता नबिल बैंकको भने दोस्रो बजारमा आफ्नै ब्रान्ड छ। कुनै समय ३ हजार रुपैयाँ पुगेको नेपाल लाइफको सेयर मूल्य अहिले सस्तो मूल्यमा आएको छ।
कुन कम्पनीको सूचक कस्तो?
एनआईसी एसिया
एनआईसी एसियाको दोस्रो बजारमा प्रतिकित्ता ८१७ रुपैयामा कारोबार भएको छ। लगातार बढेको सेयर मूल्य मंगलबार भने ३ रुपैयाँले घटेको छ। बैंकको ९० हजार कित्ता कारोबार भएको छ। पछिल्लो एकवर्षमा बैंकको सेयर मूल्य बढेर ८९० रुपैयाँसम्म पुगेको थियो। पछि घटेर ६०० सम्म आएको बैंकको सेयर मूल्य पछिल्लो सयम भने बढको छ।
एनआईसी एसिया बैंकले ६ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ।
यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।
नबिल बैंक
नबिल बैंकको लगातार पहिलो नम्बरको ताज यतिवेला एनआईसीले खोसेको भएपनि पुनः सेयर मूल्य बढ्न थालेको छ। एकवर्ष अगाडि बढेर ११४९ रुपेयाँसम्म पुगेको बैंकको सेयर मूल्य ७०१ रुपैयाँमा झरेको थियो। बैंकको दोस्रो बजारमा ६८१ रुपैयाँमा कारोबार भएको छ। नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५।६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।
३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। दोस्रो बजारमा कम्पनीको सेयर मूल्य ७३२ रुपैयाँमा कारोबार भइरहेको छ। कुनै समय ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य घटेर ५७० रुपैयाँसम्म झरेको थियो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।
त्यसैगरी सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ।