'सेफ्टी' भनेको सम्भावित खतराको पहिचान र हुनसक्ने जोखिम निवारण हो। साधारणतया जोखिम निवारण वित्तीय व्यवस्थापनसँग जोडिन्छ। उड्डयन क्षेत्रमा यसलाई 'एभिएसन सेफ्टी' भन्छौँ। जसमा जोखिम निवारण टेक्निकल ग्राउण्ड ह्याण्डिलङ, कार्गो उडानआदि सबैको उचित व्यवस्थापनमा एक महत्वपूर्ण र अभिन्न अंग हो।
सेफ्टी भन्नेवित्तिकै एकै व्यक्ति वा एकै विभागको मात्र उत्तरदायित्वको विषय होइन। हरेक कर्मचारी, पाइलट, इन्जिनियर, सुपरभाइजर, म्यानेजर तथा सबै डिपार्टमेन्ट, सबै डिभिजनको उत्तरदायित्वभित्र रहने विषय हो। रिजर्भेसन, रेभिन्यू तथा मार्केटिङबाहेक सबै डिपार्टमेन्टसँग सेफ्टीको नङमासुको सम्बन्ध हुन्छ।
एभिएसन सेफ्टीका लागि सबैभन्दा पहिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले (वायुसेवा सञ्चालक तथा सेवा प्रदायक कम्पनी तथा उड्डयन प्राधिकरण) सेफ्टी अपनाएर काम गर्न नियम नै बनाएको छ।
एभिएसनमा कुरा गर्दैगर्दा हामी सेवा प्रदायकहरूले गर्ने सबै गतिविधिहरू नियमनभित्रै रहन्छ। आइकाओ अनुसूची १ देखि १९ सम्म सेफ्टीको विषय समावेश गरिएको छ।
'अनुसूची १' लाइसेन्स प्रक्रिया हो भने सबैभन्दा पछिल्लो पटक थप गरिएको 'अनुसूची १९' सेफ्टी म्यानेजमेन्ट प्रणालीसम्बन्धी हो।
त्यही दायराभित्र बसेर सबै सेवा प्रदायकले काम गर्नुपर्छ। त्यही दायराअनुसार उड्डयन प्राधिकरणले हामीलाई मनिटरिङ, रेगुलेट गरिरहेको हुन्छ। साथै प्राधिकरणले अडिट पनि गर्छ। यो त केबल ग्राउण्ड वर्क हो। यो सबैले गर्नुपर्छ। सबैले गरेपनि बुद्ध एयरमा केही फरक अवश्य छ।
बुद्ध एयरमा हामीले गर्ने फरक काम भनेको नै हाम्रो काम गर्ने तरिका हो। कुनै पनि काम गर्दैगर्दा स्वामित्व लिनु पर्छ। बुद्ध एयरले सेफ्टीलाई आफ्नो विशेष स्वामित्वमा लिएको छ। 'सेफ्टी इज अ टप बटम एप्रोच' भनिन्छ। जब माथिल्लो तहको प्रतिबद्धता छैन भने सेफ्टीको आशा नै नगरे हुन्छ। बुद्ध एयरमा सेफ्टीका लागि उत्तरदायी व्यक्ति एमडी छन्।
एमडीले नै प्रतिबद्धता लिएर स-साना विषयलाई समेत मनिटरिङ गरेर काम गराइरहनु भएको छ। हामीले सेफ्टीलाई गहन रुपले हेरेका छौँ। माथिल्लो तहमा रहेको प्रतिबद्धताले नै तल्लो तहसम्म राम्ररी काम हुने हो।
बुद्ध एयरले बिजनेसका लागि लिने हरेक निर्णयमा सेफ्टीलाई मध्यनजर राखेर मात्रै निर्णय गर्ने र कार्यान्वयनमा लैजाने काम गरिरहेको छ। यसैले पनि बुद्ध एयरले सेफ्टीलाई गम्भीर रुपमा लिएको छ। हाम्रो हरेक निर्णयमा 'सेफ्टी पोइन्ट अफ भ्यू'ले सोचेर काम हुन्छ।
हामीले सेफ्टीको विषयमा प्राधिकरणले भनेर तथा आइकाओले भनेर गर्नेभन्दा पनि 'सेफ्टी बिजनेसको एउटा महत्वपूर्ण अंग हो' भन्ने सोचेर काम गरिरहेका छौँ। कुनै पनि बिजनेस विस्तारको विषय आउँदा सेफ्टीको विषयमा सबैभन्दा पहिले छलफल हुन्छ।
जस्तै एउटा नयाँ जहाज ल्याउने, नयाँ विमानस्थलमा उडान गर्ने, कुनै उपकरण ल्याउने, नयाँ जनशक्ति थप्ने विषयसमेत 'सेफ्टी पोइन्ट अफ भ्यू'बाट सोचेर तथा गृहकार्य गरेर मात्रै बुद्ध एयरले निर्णय गर्छ।
सेफ्टीलाई मान्छेले फिलिङ (अनुभूति/अनुभव) तथा सोचसँग दाँजिरहेका हुन्छन्। तर आइकाओले हामीलाई एउटा निश्चित परिभाषा दिएको छ।
आइकाओले सेफ्टी भनेको 'सोच, विचार, तथा फिलिङ केही नभइ खतरा पहिचान र जोखिम व्यवस्थापनको निरन्तर प्रक्रियामार्फत स्वीकार्य स्तरमा वा सोभन्दा कममा कायम गरिएको अवस्था' भनेर परिभाषित गरेको छ।
यसको अर्थ जोखिमलाई न्यूनीकरण गरेर एउटा स्वीकारको तहमा ल्याइन्छ। सेफ्टीको मुख्य अर्थ जोखिम निवारण हो। जोखिम कसरी निवारण गर्ने त? यसका लागि सबैभन्दा पहिले खतरा पहिचान गर्नु पर्छ। खतरालाई पनि कसरी पहिचान गर्ने त्यो पनि महत्वपूर्ण हुन्छ।
खतरा पहिचान दुई तवरबाट हुन्छन्। एउटा घटना घटिसकेपछि वा जनधनको क्षति भइसकेपछि त्यसलाई अनुसन्धान गरेर कुन कारकतत्वले खतरा निम्त्याएको हो भनेर पहिचान हुन्छ। त्यो पहिचान भइपछि त्यसलाई दोहोरिन नदिनका लागि गृहकार्य गर्नुपर्छ र गरिन्छ। कुनै पनि घटना घटेपछि के कारणले घटना भएको हो भनेर कारक तत्व पत्ता लगाउने गरिन्छ। जसलाई अंग्रेजीमा 'रियाक्टिभ मिन्स अफ हाजार्ड आइडेन्टिफिकेसन' भन्ने गरिन्छ।
अर्को भनेको केही घटनाअगावै क्षति गर्नसक्ने जोखिमको पहिचान गर्नु हो। यो कुनै पनि घटना घट्न नदिनका लागि पहिले नै सतर्कता अपनाउँदै जोखिमको पहिचान गर्नु हो। यसलाई 'प्रोयाक्टिभ मिन्स अफ हाजार्ड आइडेन्टिफिकेसन' भनिन्छ। बुद्ध एयरमा हामीले प्रोयाक्टिभ तरिकाबाट खतराको पहिचानमा प्राथमिकता दिन्छौँ र सबै कर्मचारीलाई आफूले गरिरहेको निरन्तर कार्यहरूलाई मनिटरिङ तथा समीक्षा गरी त्यसको रिपोर्ट गर्न प्रोत्साहन पनि गर्छौं।
बुद्ध एयरमा सबैभन्दा पहिले जे काम गर्दा पनि सेफ्टीको विषय र त्यसबाट आउनसक्ने जोखिम र त्यसको निवारणको काम तथा तयारी गरेर मात्रै निर्णय हुन्छ।
बिजनेसमा सबैभन्दा पहिले 'फिजिबिलिटी' अध्ययन हुन्छ। फिजिबिलिटी अध्ययन, लागत तथा नाफाको विश्लेषण गरेर मात्रै निर्णय लिने परिपाटी छ। फिजिबिलिटी अध्ययनले मात्रै सतप्रतिशत पुग्दैन। सेफ्टीले फिजिबिलिटी अध्ययनसँगै म्यानेजमेन्ट अफ चेन्ज पनि गर्न भन्छ।
जेसुकै काम थालनी गर्दा सबैभन्दा पहिले सेफ्टीको पाटोबाट अध्ययन हुन्छ। बुद्धले सबैभन्दा पहिले प्याकेजमा नै सेफ्टीको लागि काम गरेको हुन्छ। एयरलाइन्सले सबैभन्दा पहिले कुनै एउटा जहाज खरिद गर्ने निर्णय गर्छ भने सेफ्टीले चाहिँ नयाँ जहाज थप्ने भनेपछि जहाजलाई ल्याएर सुरक्षित उडान गर्नुभन्दा अगाडि के कस्ता जोखिम छ भनेर अध्ययन गर्छ।
सेफ्टीकै अध्ययनबाट पर्याप्त जनशक्ति मूल्यांकन, तालिमको आवश्यकता मूल्यांकन, उपकरणसहित पूर्ण तयारी गरेर र उल्लेखित जोखिमलाई न्यूनीकरण गरेर मात्रै जहाज थप्दा जहाज सञ्चालनमा सहज हुन्छ।
यसरी अगाडि नै तथा पूर्वतयारी गरेर सेफ्टी अपनाउँदामात्रै बल्ल सेफ्टीको आश्वसता मिल्छ। जहाज आयो। ग्राउण्डमा छ। त्यसपछि पाइलट, इन्जिनयर खोज्नेदेखि थप जनशक्ति खोज्ने त होइन नी।
पहिले नै तयारी नहुँदा सञ्चालन पनि घाटामा अवश्य नै जान्छ। सेफ्टीका हिसाबले पनि असुरक्षित अवस्था आउन सक्छ। दक्षता नभएको म्यानपावर प्रयोग गर्दा पनि सुरक्षित नहुन सक्छ। यसले सिधै सेफ्टीमा असर गर्छ। जसले खतरा पनि निम्त्याउन सक्छ। यसले स-सानो दुर्घटना मात्रै होइन ठूलो दुर्घटना हुन सक्छ। त्यही भएर सेफ्टीले पहिले नै सबै विभागसँग बसेर निर्णय गरेपछि मात्रै अगाडि बढ्न भन्छ।
यात्रुकै सुरक्षाका लागि हामीले सेफ्टी सुधार गर्नका लागि थुप्रै विधिहरू अपनाएका छौँ।
हामीले फ्लाइट डाटा मोनिटरिङ, रिक्सवेस सेफ्फी अडिट, लाइन अपरेसन सेफ्टी अडिट जस्ता विधिहरू पनि अपनाएका छौँ।
हामीले कर्मचारीको तालिमका लागिमात्रै वार्षिक करोडौँ खर्च गरेका छौँ। फ्लाइट 'क्रु मेम्बर' तालिमका लागि 'फ्ल्याट प्यानल ट्रेनर' जस्ता आधुनिक उपरकरण राखेका छौँ। जहाज मर्मतका लागि ह्याङर बनाएका छौँ।
बुद्ध एयरको सफल सेफ्टी लगानीले नै बिजनेसलाई सफलतामा पुर्याएको छ। सेफ्टी अपनाउनु नै 'स्मार्ट बिजनेस' हो। यसलाई आत्मसाथ गरे नेपालको एभिएसनले अर्को फड्को मार्न सक्छ।
(लेखक शर्मा बुद्ध एयरका सेफ्टी विभाग निर्देशक हुन्।)