काठमाडौं- जापानी कार उत्पादन कम्पनी होन्डा मोटर कम्पनीले सवारीसाधनका लागि हाइड्रोजन फ्युल सेल उत्पादन सुरु गर्ने भएको छ। होन्डाले अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर (जीएम)सँगको सहकार्यमा नयाँ हाइड्रोजन फ्युल सेल उत्पादन सिस्टम विकास गरेर यसै वर्षदेखि उत्पादन गर्ने भएको छ।
यो दशकको मध्यसम्ममा होन्डाले वार्षिक २ हजार वटा नयाँ सिस्टम बिक्री गर्ने योजना बनाएको छ। उक्त बिक्रीलाई २०३० सम्म पुग्दा ६० हजार वटा पुग्ने दाबी होन्डाले गरेको छ।
होन्डाले नयाँ सिस्टमको विकास आफ्नै फ्युल सेल विद्युतीय कार (एफसीईभी)का लागि मात्र नभइ हेभी ट्रकका लागि समेत हुने जनाएको छ। त्यस्तै होन्डाले उत्पादन गर्ने नयाँ हाइड्रोजन फ्युल सेल सिस्टम निर्माण मेसिनरीका लागि पनि हुनेछ।
होन्डाले बिहीबार टोकियोमा गरेको कार्यक्रममा कम्पनीका सिनियर म्यानेजिङ एक्जुकेटिभ डिरेक्टर शिन्जी अयोयामाले जीएमसँगको संयुक्त उपक्रममा होन्डाले हाइड्रोजन फ्युल सेल सिस्टमको उत्पादन यसै वर्षबाट थाल्ने बताएका हुन्।
जीएम र होन्डाले विकास गरेर उत्पादन गर्न लागेको ‘नेक्सट जेनेरेसन’ सेल सिस्टम पुरानो फ्युल सेल सिस्टम भन्दा चुस्त रहेको र लागत २ तिहाइले घट्ने दाबी गरिएको छ। विश्वभर प्यासेन्जर कार जस्तै कमर्सियल सवारी पनि विद्युतीकरण हुने आवश्यक भएको र त्यसलाई फ्युल सेलले सम्भव बनाउने होन्डाको हाइड्रोजन बिजनेस डेभलपमेन्ट डिभिजनका जनरल म्यानेजर टेटसुया हसबेले बताएको रोयटर्सले लेखेको छ।
ब्याट्री विद्युतीय सवारीको समेत विकल्पको खोजी विश्वका ठूला सवारी उत्पादन तथा ऊर्जासँग सम्बन्धित एजेन्सीहरुले गरिरहेका छन्। ब्याट्रीमा प्रयोग हुने लिथियमको सञ्चिति प्रकृतिमा असाध्यै सीमित भएकाले त्यसको पनि विकल्पमा जानु पर्ने बहस सुरु भइसके.को छ।
त्यसैले पनि जापानी कम्पनी टोयोटा, निसान, कोरियन कम्पनी हुन्डाई, जर्मन कम्पनी बीएमडब्लूलगायतले पनि हाइड्रोजन फ्युल सेल बारे अध्ययन गरिरहेका छन्। हाइड्रोजन फ्युल सेलबाट चल्ने सवारी पनि शून्य प्रदूषण सवारी नै हुन्। विश्वले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको विकल्पमा जाने विषयमा भने संकल्प गरिसकेको छ।
हाइड्रोजन फ्युल सेलले कसरी काम गर्छ?
एफसीईभी पनि एक प्रकारको विद्युतीय सवारी नै हो जसले सञ्चालनका क्रममा प्रदूषण गर्दैन। मुख्य फरकका रुपमा बीईभीमा विद्युत सञ्चय गर्नका लागि ठूलो ब्याट्री प्लेट रहेको हुन्छ। यता एफसीईभीले विद्युत उत्पादनका लागि गाडीमा रहेको हाइड्रोजन फ्युल सेल प्रयोग गर्छ। एफसीईभीले कसरी काम गर्छ भन्ने बारे जान्न जरुरी हुन्छ।
पहिलो कुरा लिथियम आयन ब्याट्रीले सञ्चय भएको विद्युतबाट विद्युतीय मोटर चलाउँछ। तर फ्युल सेल विद्युतीय कारमा ब्याट्री निक्कै सानो हुन्छ किन कि ब्याट्री विद्युतीय मोटर चलाउने मुख्य स्रोत होइन। सामान्यतः टेस्लाको मोडल एसमा ७ हजार ९ सय २० वटा लिथियम आयन ब्याट्रीको सेल प्रयोग गरिएको हुन्छ। यता टोयोटाको मिराइमा एफसीईभीका ३ सय ३० वटामात्र सेल प्रयोग गरिएको हुन्छ।
एफसीईभीमा ग्यास फर्मको हाइड्रोजन ट्यांकीमा भरिएको हुन्छ। तरल फर्मको हाइड्रोजन ट्यांकीमा राख्न मिल्दैन किन कि यस्तो हाइड्रोजनले काम गर्न माइनस १५० डिग्रीको तपक्रम चाहिन्छ। हाइड्रोजन ग्यासमात्र र अक्सिजन मिसिएर हाइड्रोजन फ्युल सेलका लागि काम गर्छ।
फ्युल सेलले विद्युत उत्पादनका लागि हाइड्रोजन ग्यासको प्रयोग गर्छ। सामान्य रुपमा बुझ्दा सेलमा हाइड्रोजन ग्यास प्रूवेश गरेपछि यो प्रोटोनहरु र इलेक्ट्रोनहरुमा विभाजित हुन्छ। प्रोटनहरु इलेक्ट्रोृलेटबाट प्रवाहित हुन्छन् जुन तरल वा जेल पदार्थका रुपमा हुन्छ। यसमा इलेक्ट्रोनहरु इलेक्ट्रोलेटबाट प्रवेश गर्न सक्दैनन्। त्यसैले इलेक्ट्रोहरु बाहिर निस्कन वैकल्पिक बाटो खोज्छन्। यही प्रक्रियामा विद्युतीय करेन्ट उत्पन्न हुन्छ र मोटरले शक्ति पाउँछ।
फ्युल सेल प्रक्रियाको अन्त्यमा इलेक्ट्रोनहरु र प्रोटोनहरु एक आमसमा मिल्छन् र अक्सिजनसँग जोडिन्छन्। यसको रासायनिय प्रतिक्रियापछि पानी उत्पन्न हुन्छ र यो धुवाँ फाल्नेजस्तै पाइपबाट बाहिर निस्कन्छ।
फ्युल सेल स्वीकार्यताको चुनौती
आम रुपमा फ्युल सेलको स्वीकार्यता पुग्नका लागि केही चुनौतीहरु भने छन्। एउटा मुख्य चुनौतीका रुपमा कारको पर्फरमेन्स हो। ब्याट्रीयुक्त विद्युतीय कार र फ्युल सेल विद्युतीय कारको पर्फरमेन्टमा खासै अन्तर छैन। अधिकतम् रेन्जको कुरा गर्दा फ्युल सेल विद्युतीय कार टोयोटा मिराइको रेन्ज ४०२ माइल छ भने ब्याट्रीयुक्त विद्युतीय कार लुसिड एयरको रेन्ज ५०५ माइल रहेको छ।
अर्को दुई वटा मुख्य मुद्दामा पहिलो हाइड्रोजनको क्षमताको समस्या, दोस्रो ज्यादै न्युन संख्यामा हाइड्रोजन रिफ्युलिङ केन्द्रहरु। अमेरिकाको उदाहरण लिँदा त्यहाँको ऊर्जा विभागका अनुसार अमेरिकाभर जम्मा ४८ वटा हाइड्रोजन भरण केन्द्र छन्। तर ४९ हजार २ सय १० वटा चार्जिङ स्टेसन रहेका छन्। यसमा घरमा हुने चार्जलाई गणना गरिएको छैन।
हाइड्रोजनको ओसारपसारमा पनि धेरै सजगता अपनाउनु पर्ने हुन्छ। त्यसैले हाइड्रोजन फ्युल सेलको प्रयोगलाई व्यापकता दिन अझै धेरै अनुसन्धान र प्रविधिको जरुरी रहेको छ। टोयोटाले भारतमा समेत हाइड्रोजन फ्युल सेलको प्रयोगलाई अघि बढाउन अनुमति लिइसकेको छ। त्यसैले भारतमा यो प्रविधिको सफल परिक्षण भएर प्रयोगमा आए त्यो नेपालमा पनि पक्कै भित्रने छ।