आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

अख्तियारले बुटिक विमानस्थल निर्माणको खर्च विवरण मागेसँगै प्राधिकरणले सबै फाइल केन्द्रीय कार्यालय झिकायो

महालेखाको पनि चासो, अध्ययनपछि रिपोर्ट अख्तियारमा बुझाउने तयारीमा प्राधिकरण

images
बुधबार, माघ १८ २०७९
images
अख्तियारले बुटिक विमानस्थल निर्माणको खर्च विवरण मागेसँगै प्राधिकरणले सबै फाइल केन्द्रीय कार्यालय झिकायो
images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने भन्दै गरेको खर्चमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सबै खर्च विवरण मागेको छ।

images
images
images

अख्तियारले चासो लिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल कार्यालयबाट बुटिक विमानस्थलको सबै खर्च तथा विवरणको कागजपत्र केन्द्रीय कार्यालयमा झिकाएको छ। विमानस्थललाई बुटिक विमानस्थल बनाउने सरकारले स्वीकृति दिएको रकमभन्दा ५ गुणा बढी खर्च भएको थियो।

images
images

खर्चको विषयलाई लिएर महालेखा परीक्षक तथा अख्तियारले बारम्बार चासो देखाएपछि सबै कागजपत्र ल्याएर अध्ययन सुरु भएको प्राधिकरण स्रोतले जनाएको छ।

images
images

सरकारले बुटिक विमानस्थल बनाउन ७ करोड ३५ लाख रुपैयाँ खर्च गर्न स्वीकृति दिएको थियो। तर तत्कालीन समयमा विमानस्थल कार्यालयमा महाप्रबन्ध राजकुमार क्षेत्रीले आफूखुसी ३६ करोड रुपैयाँ खर्च गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो। सोही उजुरीको आधारमा अख्तियारले सबै विवरण मागेपछि कार्यालयबाट कागजपत्र झिकेर केन्द्रीय कार्यालयमा ल्याएको प्राधिकरण स्रोतको भनाइ छ।

प्राधिकरण स्रोतले बुटिक विमानस्थलका लागि किनिएका कतिपय सामान त विमानस्थलमा प्रयोग नभएको र समानसमेत फेला नपरेको जनाएको छ।

प्राधिकरण स्रोतका अनुसार ३० हजार रुपैयाँ पर्ने सामानलाई १ लाख रुपैयाँ सम्म खर्च देखाउने काम भएको जनाएको छ। 

विमानस्थल कार्यालयका एक कर्मचारीका अनुसार बुटिक विमानस्थलका लागि भन्दै किनिएका गमलासमेत तत्कालिन समयमा हाकिमहरुको घरमा पुगेको छ। 

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले बुटिक विमानस्थल निर्माणका लागि ७ करोड ३५ लाख रुपैयाँ खर्च गर्न सहमति दिएको थियो। 

तर विमानस्थल कार्यालयका तत्कालिन महाप्रबन्धक तथा उच्चपदस्थ कर्मचारीले बिना योजना आफूखुसी गर्दै ३६ करोड रुपैयाँ खर्च गरेका हुन्। बुटिक विमानस्थल बनाउने विषय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले ल्याएका थिए। तत्कालीन समयमा विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री थिए।

सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै बुटिक विमानस्थल बनाउने निर्णय गरेको थियो। उक्त कार्यक्रममा विमानस्थलको रंगरोगनदेखि पुराना संरचनालाई शैली परम्परागत रुपमा सुविधा थपेर अत्याधुनिक बनाउने थियो।

तर ३६ करोड रुपैयाँ खर्च गरेर बुटिक विमानस्थल बनाएको भनिए पनि अहिले ती सबै संरचना पुन: परिवर्तन भइसकेका छन्। बुटिक विमानस्थल बनाउन भन्दै प्रयोग गरिएको समान सबै बिग्रिएर फेरि फेर्न परेको विमानस्थ कार्यालय स्रोतको भनाइ छ।

बुटिक विमानस्थलमा आर्थिक हिनामिना भएको भन्दै महालेखाको ५८ र ५९ औँ प्रतिवेदनमा समेत समावेश गरिएको छ।

महालेखाको प्रतिवेदनमा बुटिक विमानस्थलको शीर्षकबाट थप खर्च गरे पनि विवरण तयार नपारेको विषय उल्लेख छ। साथै बनाइएका र थपिएको संरचनासमेत पहिचान गर्न नसकिने अवस्थामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। तर बुटिक बनाउने भनिए पनि विमानस्थल पुरानै अवस्थामा रहेको छ। 

वाटर फाउन्टेन लगायतका संरचनामा १५ करोड

विमानस्थल कार्यालयले बुटिक विमानस्थल बनाउन भन्दै विमानस्थलको गेटबाट प्रवेश गर्ने वित्तिकै मुख्य चोकमा वाटर फाउन्टेन बनाएको थियो। उक्त वाटर फाउन्टेन बनाउन मात्रै १५ करोड रुपैयाँ खर्च भएको बिल कार्यालयले देखाइएको छ। १५ करोड खर्च भएको वाटर फाउन्टेनले काम नगरेपछि पुन मर्मत गरिसकिएको छ।

टर्मिनल भवन रंगरोगन गर्न मात्रै १५ करोड

बुटिक विमानस्थल अन्तर्गत नै अर्को काम भने टर्मिनल भवन रंगरोगनको काम भएको थियो। कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवन रंगरोगन गरेको थियो। उक्त कामका लागि कुल १५ करोड रुपैयाँ खर्च भएको छ। जसमा आन्तरिक टर्मिनल भवनको रंगरोगनमा ७ करोड रुपैयाँ खर्च गरेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनल भवनको रंगरोगनमा ८ करोड रुपैयाँ खर्च भएको विवरण फेला परेको छ। 

१ करोडमा गैँडा र बुद्धको मूर्ती 

बुटिक विमानस्थल अन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन कक्ष प्रवेश गेटनजिकै कार्यालयले गैँडा र बुद्धको मूर्ती राखेको थियो। यसका लागि कार्यालयले १ करोड रुपैयाँ खर्च गरेको थियो।  गैडा र बुद्धको मूर्ती खरिद पनि बिना प्रतिस्पर्धा भएको थियो।

चाइनिज इँटामा तेल लगाउन ४ करोड

बुटिक विमानस्थल अन्तर्गतको अर्को कार्यक्रम थियो चाइनिज इँटामा तेल लगाउने। यो काममा लागि मात्रै कार्यालयले ४ करोड रुपैयाँ खर्च गरेको तथ्यबाहिर आएको छ। 

यसैगरी फूलबारी बनाउन पनि कार्यालयले १ करोड रुपैयाँ खर्च गरेको थियो। यसबाहेक बुटिक विमानस्थलमा भन्दै बाहिर रहेको मार्वलमाथि कार्पेट राख्ने काममा पनि ८ करोड रुपैयाँ खर्च भएको थियो। तर कार्पेट झिकेर अध्यागमन विभागले केही ठाउँमा भने टल्कने मार्वल नै हालिसकेको छ।

सबै खर्च विवरणमा शंका देखिएको र सामान समेत विमानस्थलमा नदेखिएपछि अख्तियारले छानबीन सुरु गर्दै सबै विवरण प्राधिकरणसँग मागेको छ।


प्रकाशित : बुधबार, माघ १८ २०७९०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend