बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिनियाँ कम्पनी हुवावेविरुद्धको प्रतिबन्ध थप कडा बनाउँदै अमेरिका 

बुधबार, माघ १८ २०७९
चिनियाँ कम्पनी हुवावेविरुद्धको प्रतिबन्ध थप कडा बनाउँदै अमेरिका 

फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकी वाणिज्य विभागले केही अमेरिकन कम्पनीहरूलाई पत्राचार गर्दै कुनै पनि प्रविधि हुवावेलाई बिक्री गर्न नपाइने जानकारी गराएको छ। 

काठमाडौं- सयुक्त राज्य अमेरिकाले चिनियाँ कम्पनी हुवावेविरुद्धको प्रतिबन्धलाई थप कडा बनाउने भएको छ। पछिल्लो समय प्रकाशित भएका समाचारहरू अनुसार अमेरिकी सरकारले चिनियाँ टेक जायन्टविरुद्धको प्रतिबन्धलाई कसिलो बनाउने भएको छ। 

सन् २०१९ देखि हुवावेलाई इन्टिटी लिस्टमा राख्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो। गोप्य सूचनामा पहुँच राखी चिनियाँ सरकारलाई आपूर्ति गरेको, सार्वजनिक तथा व्यावसायिक सूचनामा सरकारी नियन्त्रण हुने गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको लगायतका विभिन्न आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। 

अमेरिकाले कालोसूचीमा राखेका कम्पनीसँग व्यापार गरेको र उनीहरूलाई प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै हुवावेलाई अमेरिकी प्रविधिक उपयोगमा प्रतिबन्ध लगाइएको थियो। अमेरिकाको सो कदमपछि हुवावेको स्मार्टफोन व्यापार ओरालो लागेको थियो। 

यही प्रतिबन्धपछि हुवावेले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्नबाट बन्चित भएको थियो। स्मार्टफोनसँगै कुनै पनि प्रविधिमा हुवावेलाई प्रविधि नदिन अमेरिकाले आफ्ना कम्पनीहरुलाई निर्देशन दिएको थियो। 

यसका बाबजुद पनि हुवावेले केही प्रविधि भने अमेरिकी कम्पनीहरूले दिइरहेका थिए। अबदेखि यस्तो बाटो पनि बन्द गरिदिने भएको छ। फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकी वाणिज्य विभागले केही अमेरिकन कम्पनीहरूलाई पत्राचार गर्दै कुनै पनि प्रविधि हुवावेलाई बिक्री गर्न नपाइने जानकारी गराएको छ। 

पछिल्लो अमेरिकी तयारीप्रति चिनिया सरकारले चासो व्यक्त गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले सरकारले यसलाई गम्भीरका साथ लिएको बताएकी छन्। 

'यसमा चीनले गहिरो चासो लिएको छ' उनले भनेकी छन्,'सम्बन्धित विकासक्रमलाई हामीले नजिकबाट नियालीरहेका छौं।' 

हुवावेमाथिको प्रतिबन्धसँगै चीन-अमेरिका व्यापार युद्धले गहिरो रुप लिएको थियो। त्यसयता अमेरिकाले हुवावेलाई आफ्नो देशमा मात्र होइन अरु देशमा पनि हुवावेविरुद्ध अभियान चलाइरहेको छ। अमेरिकी प्रभाव रहेका र एलाइन्ससँग जोडिएका देशलाई हुवावेको प्रविधि प्रयोग  नगर्न लविङ गर्दै आएको छ। 

 

 


प्रकाशित : बुधबार, माघ १८ २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend