सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

महाकाली नदीमा बाढी : पहुँच मार्ग भत्कायो, खतराको सतह नाघ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
महाकाली नदीमा बाढी : पहुँच मार्ग भत्कायो, खतराको सतह नाघ्यो

बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ। नदीले अझै सडक कटानको कार्य जारी राखेको छ।

कञ्चनपुर- महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ। नदीको उच्च बहावका कारण सडकखण्ड भत्किएको हो।

बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ। नदीले अझै सडक कटानको कार्य जारी राखेको छ। पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ। स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ। 

पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ। आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ। टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताए। उनले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताए। यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो। ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो।

कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो। तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ।

Sadak Kanchanpur1.jpg

यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए।

उनका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ। नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ। अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पुर्‍याउको क्षति बारे तथ्याङ्क सङ्कलन तथा उद्दारको काम भइरहेको जानकारी दिए। सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरे। पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिए।

महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए। बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिँदै उनले भने, 'थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ।' 

मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै डुवानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे। 

सुकाएको धान बगायो  

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ। अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन्। 

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए। 'केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,' उनले भने, 'केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्‍यायो। निकै ठूलो क्षति भएको छ। पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ। पूरै खेत र बस्ती जलमग्न छन्। काटेको सबै धान बगेको छ।'

नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन। 'निकै ठूलो नोक्सानी भएको छ। किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ। नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो। खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन। यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,' उनले भने।

स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताए। काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उनले बताए। 'पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन। घुँडाभन्दा माथि पानी छ,' उनले भने, 'कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ।' स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन्।

दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ। नदीको पानीले चेतावनी तह पार गरेको छ। अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ। गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ। नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ।  -राजेन्द्रप्रसाद पनेरु/रासस


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend