भूमिगत पानीको प्रयोगले वातावरणमा खासै ठूलो असर नगर्ने केही अध्ययनका आधारमा बताइन्छ, तर असर नै नगर्ने भन्ने चाहिँ होइन। केही न केही असर त अवश्य नै परिहाल्छ। तर वातावरणमा प्रत्यक्ष असर भने नपर्ने अध्ययनहरूले देखाएका छन्। भूमिगत पानी निकाल्दै जाँदा वातावरणमा पर्ने असरबारे विशेष अध्ययनहरू भने भएको छैन।
बोरिङ तथा ट्यूबवेल राख्दा राम्रोसँग व्यवस्थापन गरेको अवस्थामा वातावरणमा खासै असर गर्दैन र असर पनि देखिएको छैन। तर राम्रोसँग व्यवस्थापन नभएको अवस्थामा पने बाहिरको दूषित पानी भित्र जाँदा वातावरणमा असर गर्छ। अर्को भनेको बोरिङ तथा ट्यूबवेलबाट बढी पानी निकाल्दा जमिन भासिने पनि हुन्छ। यो विषय वृहत् हुन आउँछ।
अहिले चाहिँ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले भूमिगत पानी अध्ययनका लागि काम थालेको छ। बोर्डमार्फत भूमिगत पानी मनिटरिङ वेल बनाइरहेका छौँ। काठमाडौं उपत्यकाभित्र ग्राउन्ड वाटर मनिटरिङ नेटवर्क बनाउँदै छौँ। यसका लागि पहिलो चरणमा २० वटा मनिटरिङ वेल बनाउँदै छौँ।
अहिले चार ठाउँमा वेल बनिसकेका छन्। तीनवटा बन्दै छन्। बाँकी अरु पनि कामको तयारी भइरहेको छ। यसका लागि काम गर्ने समय छ। तर काममा भने केही समस्या देखिएको छ। स्थानीयले वेल बनाउँदै हाम्रो इनार सुक्ने तथा घरमा क्षति गर्छ भनेर भनिरहेका छन्। यसमा हामीले बुझाउने कसरत गरिरहका छौँ। कतिपयले बुझेर सहयोग पनि गर्नु भएको छ।
यसबाट पानीको लेभल मापन गर्ने हो। यसैगरी कुन ठाउँको पानीको गुणस्तर कस्तो छ भन्ने थाहा पाउन अहिले बनाउन लागेको वेलहरूमा सेन्सर राखेर रियल टाइम डाटा कलेक्सन गर्न लागेका छौँ। तथ्यांक सिधै अफिसमा आउँछ। यसबाट नै डाटा विश्लेषण गर्ने हो। तर यसबाट कसले कति पानी निकालेको छ भनेर थाह पाउने भने होइन। कसले कति पानी निकालेको छ त्यसको विवरण त पानी निकाल्नेले प्रयोग गरेको मिटरबाट मात्रै थाहा हुन्छ।
कसले कति पानी निकालेको छ त्यसको विवरण त ट्यूबवेलमा राखेको मिटरबाट नै थाहा हुने हो। वेलबाट त कुन ठाउँमा पानीको अवस्था कस्तो छ र कुन गुणस्तर के छ भनेर हेर्न खोजिएको हो।
अहिलेसम्म दैनिक कति पानी तानिएको छ। कति रिजर्भ छ भन्ने विषयमा कुनै अध्ययन तथा तथ्यांक छैन। कतिपय अध्ययनमा पानी तानेको केही विवरण देखाएको छ। तर हाम्रो विभिन्न अध्ययनले भने पुरानो पानी निकालिरहेका छौँ तर रिजार्च नभएको भनिरहेको छ। कतिपय अध्ययनले भने काठमाडौं उपत्याकामा पानी निकालिरहेको अवस्थामा नै रिचार्ज पनि भइरहेको देखाएको छ। तर त्यसमा पानीको मात्रा घटबढ भइरहेको भने देखाएको छ।
सन् २०१७ मा बोर्डले नै एउटा अध्ययन गराएको थियो। त्यो अध्ययनले भइरहेको वाटर ट्यूबवेलहरूको आधारमा धेरैजसो चाहिँ उत्तरी क्षेत्रमा पानीको तह नघटेको देखाएको थियो। तर मौसमअनुसार फरक भने छ। असारपछि सबै पानीको सतह नरम रुपमा नै रिजार्च (पुनर्भरण) भएको देखाएको छ।
अब उपत्यकाभित्र भूमिगत पानी कति छ भनेर अहिले जडान भइरहेका मनिटरिङ वेलले सहयोग गर्ला भन्नेका हामी आशावादी छौँ। उपत्यकाको पानीको तह विभिन्न रुपमा छ। भूमिगत पानीको तथ्यांक निकाल्ने काम एकदम जटिल छ। अहिलेसम्म हामीसँग भएको प्रविधिले थाहा पाउन सक्ने अवस्था छैन।
त्यही भएर अहिले हामीले मनिटरिङ वेलमार्फत केही तथ्यांक निकालिरहेका छौँ। साथै विभिन्न समयमा भएको अध्ययनको निष्कर्षबाट पनि तथ्यांक निकाल्ने काममा प्रयास गरिरहेका छौँ। तर अध्ययनले उपत्यकामा अहिले पानी रिचार्ज भइरहेको देखाएको छ। सामान्य क्षेत्र (उत्तरी क्षेत्र) मा चाहिँ पानी रिचार्ज नर्मल रुपमा नै भइरहेको देखाएको छ। अर्धसंवेदनशील क्षेत्र दक्षिण क्षेत्र / मध्य क्षेत्रमा पनि पुरानो पानी मात्रै झिकिएको छैन। रिजार्च पनि भइरहेको देखाउँछ।
अब अहिले हामीले गर्न लागेको मनिटरिङ वेलबाट पानीको लेभलको लङटर्मको डाटा थाह पाउन सकिने अवस्था हुन्छ। जस्तै कुन ठाउँबाट कुन ठाउँमा पानी कतातिर बगिरहेको छ भनेर थाहा पाउन सकिन्छ। तर यसका लागि २ देखि ५ वर्षको तथ्यांक चाहिन्छ। यसका लागि भर्खर काम गर्न थालेका छौँ। त्यसपछि लोकल तथा रिजनल रुपमा पनि कुन ठाउँबाट कता पानी बगिरहेको छ भनेर भन्न सकिन्छ।
साथै काठमाडौं उपत्यकाभित्र जसले बोरिङ तथा ट्यूबवेल खन्दा अनुमति लिनु पर्छ। यसका लागि पनि उत्तरी क्षेत्र, मध्य क्षेत्र र दक्षिणी क्षेत्रका लागि गहिराइ तोकिएको छ।
भूमिगत पानी उपलब्धता क्षेत्रको रुपमा गरिएको भौगालिक वर्गीकरण अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका स्थानहरू
क) सुरक्षित क्षेत्र- भूमिगत श्रोतको पानी उपलब्धताको पर्याप्त सम्भावना रहेको काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र भित्रपर्ने निम्न स्थानहरू यस वर्गिकरण अन्तर्गत पर्दछन्।
काठमाडौं जिल्ला अन्तर्गत गोंगबु, धापासी, साङ्गला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बुढानिलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मुलपानी, गोठाटार, नयाँपाटी, थली, झोर महाँकाल, इचंगुनारायण।
भक्तपुर जिल्ला अन्तर्गत बोडे, मनहरा क्षेत्र।
ख) अर्ध संवेदनशील क्षेत्र- भूमिगत श्रोतको पानी उपलब्धता सामान्य वा औसत सम्भावना रहेको काठमाडौं उपत्यकाको मध्य क्षेत्र भित्र पर्ने निम्न स्थानहरू यस वर्गिकरणमा पर्दछन्।
काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं नगरपालिकाको सबै क्षेत्र, सितापाइला, स्युचाटार, नैकाप, तिनथाना, बलम्बु, मच्छेगाँउ, सतुंगल, मातातिर्थ र बाडभन्ज्याङ।
ललितपुर जिल्ला अन्तर्गत कुपण्डोल, ज्वागल क्षेत्र।
भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर जिल्लाको सहरी क्षेत्र।
ग) संवेदनशील क्षेत्र- भूमिगत श्रोतको पानी उपलब्धता सामान्य वा औसत भन्दा कम सम्भावना रहेको काठमाडौं उपत्यकाको दक्षिण क्षेत्र भित्र पर्ने निम्न स्थानहरू यस वर्गिकरण अन्तर्गत पर्दछन्।
काठमाडौं जिल्ला अन्तर्गत दक्षिणकाली, शेषनारायण, छैमले।
ललितपुर जिल्ला अन्तर्गत ललितपुर जिल्लाको बाँकी सबै भाग।
भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर जिल्लाको उत्तरी क्षेत्रमा नपरेका र सहरी क्षेत्र बाहेकका बाँकी सबै भाग।
यही आधारमा उत्तरमा ५० मिटर र मध्य क्षेत्रमा ३० मिटर तोकिएको छ। तर अहिले भूमिगत पानी कति प्रयोग भएको छ भनेर तथ्यांक एकीकृत रुपमा भएको छैन। तर जसले प्रयोग गरिरहेको उसले दिएको तथ्यांक आधार नै। तर मिटरको आधारमा उनीहरूले दिएको तथ्यांकन भए पनि वास्तविक तथ्यांक छैन्। तर कतिपय ठाउँमा भने संसद विकास कोषको रकमबाट ट्युवेन खेनेर पानी तान्ने तर अनुमति लिन नमान्ने समस्या पनि देखिएको छ। साथै हामीले अहिले आफै पुनर्भरणको काम पनि थाल्ने गर्ने विषयमा अध्ययन गरिहेका छौँ।
अहिले काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्डले ऐन तथा निर्देशिका नै संशोधन गरेर उपभोग र प्रयोजनका आधारमा मूल्य तय गर्ने विषयमा समेत छलफल भइरहेको छ।
(लेखक प्रविण चन्द्र केसी हाइड्रोजियोलोजिस्ट हुन्।)