बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वित्तीय प्रणालीमा राहत : एकवर्षमा ५ खर्ब २९ अर्ब निक्षेप थपिँदा पौने २ खर्बमात्रै ऋण प्रवाह

बुधबार, माघ ११ २०७९
वित्तीय प्रणालीमा राहत : एकवर्षमा ५ खर्ब २९ अर्ब निक्षेप थपिँदा पौने २ खर्बमात्रै ऋण प्रवाह

काठमाडौं- एकवर्षयता वित्तीय प्रणालीमा निक्षेप बढ्दो ट्रेण्डमा देखिएको छ। पछिल्लो एकवर्षमा ५ खर्ब २९ अर्ब निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गतवर्षको मंसिर मसान्तसम्म ४८ खर्ब १३ अर्ब निक्षेप रहेकोमा माघ पहिलो सातासम्म ५३ खर्ब ४२ अर्ब निक्षेप पुगेको छ। 

वित्तीय प्रणालीमा बुधबार साँझसम्म ५३ खर्ब ४२ अर्ब निक्षेप पुगेको छ। यता ऋण प्रवाह ४८ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट एकवर्षमा ऋण प्रवाह भएको छ। एकवर्ष अगाडि ४६ खर्ब ३० अर्ब ऋण प्रवाह पुगेको थियो। बुधबार साँझसम्म ४८ खर्ब ११ अर्ब ऋण प्रवाह पुगेको छ। 

एकवर्षको अवधीमा असार मसान्तसम्म निक्षेप ५१ खर्ब ५९ अर्ब पुगेकोमा साउनको पहिलो साता घटेर ५० खर्ब ३० अर्बमा झरेको थियो। गत साउनयता भने लगातार निक्षेप बढ्दो ट्रेण्डमा देखिएको छ।

साउनदेखि माघ ११ गतेसम्म वित्तीय प्रणालीमा ३ खर्ब ४२ अर्ब निक्षेप थपिएको छ। यता साउनयता ऋण प्रवाह भने ९७ अर्ब रुपैयाँमात्रै बढेको छ। बाह्य क्षेत्रको दबाब परेको भन्दै नेपाल राष्ट्र बैंकले गत पुसदेखि नै आयातमा रोक लगाउँदै आएको थियो। माघयता भने आयातमा लाग्दै आएको नगद मार्जिनसमेत हटाइसकेको छ। 

nrb aaaaa.JPG

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशतमा सिमित राख्न वित्तीय संस्थाहरुलाई धौधौ परेको थियो। अहिले घटेर ८६.७१ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब ३ खर्ब कर्जा दिन सक्ने क्षमता देखिन्छ। 

यता अन्तरबैक ब्याजदर एकवर्ष अगाडि ८ प्रतिशतसम्म पुगेको थियो। अहिले घटेर ५.८० प्रतिशतमा झरेको छ। सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चिति कोषको रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। जसका कारण पनि वित्तीय प्रणालीमा राहत हुने देखिएको छ। 

वाणिज्य बैंकहरुले हुनेगरी १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। यो सँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए। 

आधार व्याजदर निक्षेपको ब्याजदर घटेको तीन महिनापछि परिवर्तन हुने भएकोले बैशाखदेखि मात्रै कर्जाको ब्याजदर घट्ने छ। बैंकर्सहरुले माघबाट घट्न सुरु गरेको निक्षेपको ब्याजदर फागुन र  चैतमा पनि १० प्रतिशतका दरले घट्दै जाने बताउँदै आएका छन्। 


प्रकाशित : बुधबार, माघ ११ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend