सोमबार, मंसिर १० गते २०८१    
images
images

बैंकिङ प्रणालीमा निक्षेप बढ्दो ट्रेण्डमा, एकैदिन १२ अर्ब थपियो

सीडी रेसियो र अन्तरबैंक ब्याजदर लगातार घट्दै

images
बुधबार, माघ ४ २०७९
images
images
बैंकिङ प्रणालीमा निक्षेप बढ्दो ट्रेण्डमा, एकैदिन १२ अर्ब थपियो
images
images

काठमाडौं- पछिल्लो वित्तीय प्रणालीमा पैसा आउने क्रम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा झन्डै ५३ खर्ब ३२ अर्ब निक्षेप पुगेको छ। बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब निक्षेप थपिएको छ। 

images
images
images

अहिले वित्तीय प्रणालीमा धेरै सुधार आएपछि अझै लगानी गर्न पर्याप्त रकम भने नभएको सिटिजन्स बैंकका प्रवक्ता नारायणराज अधिकारी बताउँछन्। ‘अहिलेकै अवस्थामा सुधार हुँदै गए केही समयमै सबै सहज हुने देखिन्छ,’ प्रवक्ता अधिकारीले भने। 

images

बैंकहरूमा मंगलबार साँझसम्म ५३ खर्ब ३२ अर्ब निक्षेप पुगेको हो। सोमबारसम्म सम्म ५२ खर्ब २० अर्ब रहेको निक्षेप एकैदिन १२ अर्ब निक्षेप थपिएको छ। यता ऋण प्रवाह ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुले एकैदिन ६ अर्ब ऋण प्रवाह गरेका छन्। सोमबारसम्म ऋण प्रवाह ४७ खर्ब ८४ अर्ब रहेको थियो।

images

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४७ खर्ब १ अर्ब पुगेको छ। एकैदिन ११ अर्ब निक्षेप थपिएको हो। भने वाणिज्य बैंकहरूबाट ऋण ४२ खर्ब ४२ अर्ब ऋण प्रवाह भएको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.४७ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब २ खर्ब ५० अर्ब कर्जा दिन सक्ने देखिन्छ। 

यता अन्तरबैक ब्याजदर पनि ५.९५ प्रतिशतमा झरेको छ। सोमबारसम्म अन्तरबैंक ब्याजदर ६.४७ प्रतिशत रहेको थियो। पुसपछि तरलतामा झनै समस्या आउने देखिएपछि सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चिति कोषको रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। जसका कारण पनि वित्तीय प्रणालीमा राहत हुने देखिएको छ। 

ब्याजदर घट्दै

निक्षेप बढेसँगै वाणिज्य र विकास बैंकहरुले ले ब्याजदर घटाएका छन्। माघ १ गते देखि लागु हुनेगरी ब्याजदर घटाउका हुन्। बैंकर्स संघको गत बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ब्याजदर घटेको हो।

वाणिज्य बैंकहरुले हुनेगरी १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। यो सँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए। 

यता विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाएका छन्। डेभलपमेन्ट बैंकर्स एसोसिएसनको  बिहीबार बसेको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। 

विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ। विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए।

राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोही व्यवस्था अनुसार ब्याजदर घटाएका हुन्।

अर्थतन्त्रसँगै बैंकिङ प्रणालीमा पनि राहत

अर्थतन्त्रको बाह्य अवस्था दबाबमुक्त भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बाह्य क्षेत्रका अधिकांश सूचकमा निरन्तर सुधार देखिएको छ। रेमिट्यान्स, शोधनान्तर, चालु खाता घाटाको खाडल न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्षभर दबाबमा रहेको बाह्य क्षेत्रमा यो वर्ष सुधार देखिएको छ। 

साउनदेखि मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्रमा सुधार भएको जानकारी गराएको छ। गत वर्षको सुरुदेखि नै घाटामा रहेको शोधनान्तर अवस्था लगतार तेस्रो महिना बचतमा रहेको छ। पहिलो पटक असोजमा १२ अर्बले  बचतमा गएको  शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब ३ करोडले बचतमा थियो भने मंसिरसम्म पुग्दा ४५ अर्ब ८७ करोडले बचतमा गएको छ।  गएको छ। गत वर्षको अवधिमा १ खर्ब ९५ अर्बले घटामा थियो। 

यो वर्षको पाँच महिनामा रेमिट्यान्समा पनि उत्साहजनक वृद्धि देखिएको छ। गत वर्षको यही अवधिमा ओरालो लागेकाले यो वर्ष वृद्धिदर उच्च देखिएपनि सकारात्मक लय कायमै राखेको छ। साउनदेखि मंसिरसम्मको अवधिमा नेपाली रुपैयाँमा २३ प्रतिशतले बढेको छ। पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको थियो। 

विदेशी मुद्रा सञ्चितिमा पनि पछिल्लो समय निरन्तर सुधार देखिएको छ। मंसिरसम्मको तथ्यांक अनुसार ९ अर्ब ८२ करोड अमेरिकी डलर सञ्चिति पुगेको छ। साउनदेखि मंसिरसम्म विदेशी मुद्राको सञ्चिति ३ प्रतिशतले बढेको छ। २०७९ को असारमा कूल सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो। 

चालु खाता घाटाको विस्तार पनि निकै साँघुरिएको छ। राष्ट्र बैंकका अनुसार पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा २ खर्ब  ९८ अर्ब पुगेको थियो।

आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८‍‍‍‍.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 


प्रकाशित : बुधबार, माघ ४ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend