शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

images
बिजनेस न्युज
images
कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

नगरपालिकाले स्थापना गरेको नगर विकास सहकारीमा ती सबै सहकारीले सेयर लगानी गर्ने सहमति भएको छ। नगरपालिकाले सहकारी स्थापना गर्दा नगरभित्रका सबै सहकारीसँग बैठक गरेर सल्लाह लिएको थियो।

images
images

झापा- सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ। विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताइन्।

images
images
images

उनका अनुसार अर्जुनधारामा ८५ प्रतिशत बासिन्दा कृषिमा निर्भर छन्। परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्न सघाउने लक्ष्यसाथ आफ्नै सहकारी स्थापनाको सोच ल्याइएको उनले बताइन्। नगरपालिकाले सहकारी स्थापनाका लागि २४ लाख ९० हजार सेयरपुँजी लगानी गरेको छ। स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा जोडिए। हाल सदस्य आठ सय ६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद रानाले जानकारी दिए।

images

राज्यले तीन खम्बे आर्थिक नीतिलाई संविधानमै समावेश गरेपछि सहकारीको विकास र प्रवर्द्धनमा स्थानीय तह लागिपरेका छन्। स्थानीय तह आफैले सहकारी स्थापना गरेको प्रदेश नं १ मै यो पहिलो उदाहरण रहेको अध्यक्ष राना बताउँछन्। अर्जुनधारामा यसअघि ४६ सहकारी संस्था क्रियाशील थिए। नगरपालिकाले स्थापना गरेको नगर विकास सहकारीमा ती सबै सहकारीले सेयर लगानी गर्ने सहमति भएको छ। नगरपालिकाले सहकारी स्थापना गर्दा नगरभित्रका सबै सहकारीसँग बैठक गरेर सल्लाह लिएको थियो।

images

नगरका ११ वटै वडामा वडा समिति गठन गरेको अर्जुनधारा सहकारीले पहिलो चरणमा नगरपालिकालाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने अभियान चलाएको छ। 'हरेक वर्ष हाम्रो नगरपालिकाबाट कृषि बालीको बीउबिजन खरिदमा १० करोड  पुँजी बाहिर जाँदोरहेछ', सहकारीका उपाध्यक्ष छत्र पौडेलले भने, 'विसं २०८० सम्ममा नगरलाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने लक्ष्यले अहिले बीजवृद्धिमा लागेका छौँ।'

images
images

गत वर्ष धान बीउ खरिदमा दुई करोड खर्च भएको उनले जानकारी दिए। यसपालि सहकारीले सबै वडाका कृषकसँग सहकार्य गरेर धान, मकै, गहुँ, तोरी, जैघाँसलगायतका बीजवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ।

उनले छ जातको ९० हजार केजी उन्नत धान, १० हजार केजी गहुँ, २७० केजी तोरी, ७०० केजी मकै र २०० केजी जैघाँसको बीउ किसानलाई उपलब्ध गराएर त्यसको उत्पादन खरिद गर्ने लक्ष्य लिइएको बताए। बीजवृद्धि कार्यक्रममा सहभागी कृषकलाई सहकारीले बीउ, मल र प्राविधिक सहयोग उपलब्ध गराउँछ। कृषकले उत्पादन गरेको बाली आगामी वर्षको बीउबिजनलाई सहकारीले नै बजारभाउ भन्दा धेरै मूल्यमा खरिद गरिदिने उपाध्यक्ष पौडेलले जानकारी दिए।

सहकारीले आगामी वर्ष कृषि क्षेत्रको विकास र प्रवर्द्धनमै संस्थाको योजना केन्द्रित गर्ने निर्णय गरेको छ। आगामी वर्ष पशुआहार, मह र बेसारको उत्पादन गरेर बजारिकरण गर्ने कार्यक्रम सहकारीले अघि सारेको छ।

यो सहकारीमा ५१ प्रतिशत सेयर नगरपालिकाको कायम राखेर अरु सेयर स्थानीय सहकारी, वन उपभोक्ता समिति, सामुदायिक संघ संस्था र कृषकलाई नै वितरण गर्ने सोच बनाइएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताए। 'नगरपालिकाले आफै सहकारी स्थापना गर्दा के होला कसो होला भन्ने सुरुमा सबैलाई लागेको थियो, तर अहिले प्रगति हेर्दा उत्साहवद्र्धक छ', उनले भने, 'युवाहरू विदेश पलायन भइरहेको, सहकारी बचत र ऋण कारोवारमा मात्र सीमित हुन थालेको र उर्वर जग्गा कि त घडेरीमा प्लटिङ कि त बाँझै हुन थालेको परिस्थितिमा हामीले यो सहकारी अरुभन्दा भिन्न र कृषि क्षेत्रको उत्थानमा वरदान सावित होस् भन्ने अपेक्षा राखेका छौँ।'

हाल नौ सदस्यीय सञ्चालक समिति रहेकोमा स्थानीय सरकारको प्रतिनिधिको रुपमा नगरपालिकाले एक र सङ्घसंस्थाको तर्फबाट थप एक प्रतिनिधि सञ्चालक समितिमा रहने व्यवस्था छ। पदाधिकारी तथा अरु सदस्य समुदायबाटै चयन हुने व्यवस्था छ।

हाल संस्थामा सात कर्मचारी र प्राविधिक कार्यरत छन्। नगरपालिकाको पशु विकास शाखाले आवश्यक प्राविधिक परिचालनमा मद्दत पुर्‍याउँदै आएको सहकारीका व्यवस्थापक लोचन राईले बताए। कृषक सदस्यलाई आवश्यक पर्ने मल र बीउसमेत उपलब्ध गराइरहेको, बचत तथा कर्जा कारोबार दिनप्रतिदिन बढिरहेको र कृषकबाट उत्पादित बाली बीउबिजनका लागि भण्डारण गर्नुपर्ने खाँचो भएकाले एउटा कोल्डस्टोरको तत्काल आवश्यकता भइरहेको उनले बताए। रासस

images

प्रकाशित : शनिबार, पुस ३० २०७९०९:१०
प्रतिक्रिया दिनुहोस