नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जिनबैंक)को टोलीले कैलालीमा नयाँ प्रजातिको जंगली धान पहिचान गरेको छ। स्थलगत अनुगमनका क्रममा जीन बैंकका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक डा. बालकृष्ण जोशी नेतृत्वको समूहले यो नयाँ प्रजाति पहिचान गरेको हो।
योसँगै नेपालमा जंगली प्रजातिका धान पाँच पुगेका छन्। जंगली प्रजातिका धानको संख्या पाँच पुगे पनि कमजोर अनुसन्धान तथा न्यून प्राथमिकताले गर्दा बीउबिजनको विकासमा भने नेपालले प्रगति गर्न सकेको छैन।
जैविक विविधता, रैथाने कृषि उत्पादनको बाहुल्यता भएको दाबी गरिए पनि नेपालकै उत्पादनको जातको गुणलाई क्रस गरेर विकसित देशले उच्च उत्पादनशील बीउ तथा प्रतिरोधी क्षमताको बाली विकास गरेर लाभ लिएका छन्। तर नेपालमा भने उल्टो बीउबिजनको आयात प्रत्येक वर्ष बढिरहेको छ। अवस्था कस्तोसम्म छ भने मुख्य सिजनमा किसानहरूले समयमै बीउसमेत पाउँदैनन्।
प्रस्तुत छ यी र यस्तै विषयवस्तुमा रहेर बिजनेस न्युजका रवीन्द्र शाहीले वरिष्ठ कृषि वैज्ञानिक डा. जोशीसँग गरेको कुराकानीको सम्पादित अंश -
तपाईंसहितको टोलीले नयाँ जंगली धानको प्रजाति फेला पारेको छ। यो नियमित प्रक्रियाअन्तर्गतको काम हो कि विशेष मिसनअन्तर्गत हो?
हाम्रो नियमित कार्यक्रमअन्तर्गत नै हो। यसका लागि कुनै पनि विशेष मिसन थिएन।
धानका प्रजातिहरू सीमित हुन्छन्। सामान्यतया खेती हुने धानको प्रजाति एउटा हुन्छ। त्यसअन्तर्गत कयौँ जातहरू हुन्छन्। त्यस्ता रैथाने तथा अन्य जातको विकास तथा खोजी हाम्रो नियमित काम हुन्छ। त्यसमा प्रजातिको पहिचान भयो।
अहिले फेला परेको जंगली धानको प्रजाति कसरी भेटियो?
पश्चिम क्षेत्रको कैलाली पहिले नै दुईवटा जंगली धानको पहिचान भइसकेको क्षेत्र हो। पछिल्लो समय सहरीकरण भएपछि त्यसको अवस्था के कस्तो छ भनेर हेरौँ भन्ने उद्देश्यले हामी अवलोकनमा जाँदा भेटिएको हो।
कैलालीमा जोखर ताल भन्ने छ। त्यो ताललाई तारबार गरेर संरक्षण गरिएको छ। त्यही तारबार बाहिर हामीले यो नयाँ प्रजातिको जंगली धान पहिचान गरेका हौँ। जुन धान भेटियो यसको पहिचान यसअघि भएको छैन।
दुईवटा यसअघि नै पहिचान भएका धानसँगै त्यो नयाँ प्रजाति पनि भेटियो। यो यसअघि पहिचान भएकोभन्दा भिन्न छ। यद्यपि यसको जैविक प्रमाणीकरणको अन्तिम काम भने सकिएको छैन। अहिलेसम्मको हाम्रो खोजीले के देखाएको छ भने यो 'माइन्युटा' हो जुन अहिलेसम्म रेकर्डमा छैन।
नेपालबाट चारवटा प्रजातिको धान रिपोर्टेड छ। निभारा र रुखीपोगन पूर्वदेखि पश्चिमसम्म पाउने प्रजाति हो। अर्को ओफिसिनालिसिस छ, अर्को ग्रानुलाटा छ। नयाँ भेटिएको मान्युटा चाहिँ हाम्रोमा रिपोर्टेड थिएन।
जंगली प्रजाति अन्तर्गत यो पाँचौँ हो। यति धेरै प्रजातिको जंगली धान हुनु भनेको नेपाल धान उत्पत्तिको केन्द्र हो भनेर सहजै भन्न सकिन्छ।
नयाँ धानको मोलिकुलर लेभलमा प्रमाणीकरण गर्न बाँकी छ। यसको संख्या सीमित छ। त्यसैले यसलाई हामीले संकटोन्मुख छ भनिरहेका छौँ। इन्डेन्जर अवस्थामा भएकैले गर्दा त्यहाँ बोटानिकल गार्डेन पनि छ, उहाँहरूलाई संरक्षण गर्न भनेका छौँ।
जंगली धानको एउटा नयाँ प्रजाति भेटियो। त्यसलाई लोपोन्मुख पनि भन्नुभयो। यसलाई हामीले संरक्षण गर्नुपर्ने महत्व के हो?
जंगलमा हुर्किरहेपछि प्रकृतिसँग जुध्दै नयाँ गुणको विकास गरिरहेको हुन्छ। त्यो कुनै पनि गुण हामीले खेती गरिरहेको अहिले सुक्खा तथा रोग किराको समस्या छ। गुणस्तरकै पनि समस्या छ। कालो धानको साइनिङ हुन्छ। यीमध्ये कुनै पनि गुण हामीले क्रस गरेर सार्नसक्छौँ र अहिलेकै हामीले खेती गरिरहेको धानलाई विकसित बनाउन सक्छौँ।
यसरी हामीसँग भएका जंगली धान र भेटिएको नयाँ प्रजातिबाट आवश्यक तत्वलाई क्रस गर्दै युनिक धानको जात विकास गर्नसक्छौँ। यही एउटा कदमले हाम्रो धान उत्पादन तथा कृषिलाई संसारमा अलग स्थानमा पनि पुर्याउन सक्छ। यसको अथाह सम्भावना छ तर हामीले लिन सक्नुपर्छ।
अर्को भर्जिन राइस भनिन्छ यसलाई। शुद्ध अन्नको रुपमा यसलाई खाने चलन पनि रहेको छ। यसको मुख्य उपयोगिता भनेकै वातावरणीय हिसाबले अनुकूलित हुन्छ। इकोलोजिकल कृषिका लागि पनि उपयुक्त हुन्छ। जंगली धानको विकास गरेर घरेलुकरण गर्न सकिन्छ। आखिर अहिले हामीले खेती गर्ने धान पनि कुनै समयमा जंगली नै थिए। त्यसैले यसको संरक्षण आवश्यक छ।
तर नेपालको सबै रिपोर्ट भएका प्रजाति लोपोन्मुख छन्। लोथरमा हराइसकेको छ। कोसीटप्पु राष्ट्रिय निकुञ्चमा अर्बौं लगानी गरिएको छ। तर त्यहाँबाट जंगली धान हराइसके। ग्रानुलटा भनेको सेड हुने ठाउँमा हुने प्रजाति हो त्यही हराइसक्यो। तर हामीले सबैको बीउ भने संरक्षण गरेर राखेका छौँ।
जंगली धानका प्रजाति पाँचवटा भइसके। अहिलेको त नयाँ भयो। यसअघिका चारवटाको थप विकासक्रममा के कति प्रगति भएको छ?
केही समय पहिले क्रसिङको केही काम भएको थियो। तर त्यो रोकियो। अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (ईरी) भन्ने संस्था छ जसको कार्यालय फिलिपिन्समा छ, तिनलाई उसले प्रयोग गरेको छ। हाम्रोमा यसको उपयोगिता लिएको जस्तो लाग्दैन।
यसै पनि हामी अनुसन्धानमा कमजोर नै छौँ। अनुसन्धान नभई यसबाट केही पनि लाभ लिन सकिँदैन।
ईरीले लिएर विकास गरेको धानको जातमा सबैले समान पहुँच पाउँछन् कि उसको विशेषाधिकार हुन्छ?
ईरीले विकास गरेको जातमा सबैलाई समान पहुँच हुन्छ। विश्वव्यापी सबैका लागि उपयोगी हुन्छ। अन्तर्राष्ट्रिय सन्धि हुनुअघि नै कलेक्सन गरेर लिएका हुन्। यसबाट कसैल पनि विशेष लाभ लिँदैनन्।
मुख्य कुरा चाहिँ के हो भने हाम्रो विविधता र हाम्रै देशमा पाइने चिजबाट अरुले लाभ लिए तर हामी आफैले विशेष अवसर सिर्जना गर्न सकेनौँ। सामान्य अध्ययन, विद्यार्थीहरूले गर्नेबाहेक केही छैन।
कैलालीमा भेटिएको नयाँ प्रजाति कति वर्षपछि भेटिएको हो?
अन्तर्राष्ट्रिय जंगली धानको गोष्ठी पनि नेपालमै भएको थियो सन् २००२/०३ तिर। त्यतिबेला विदेशी वैज्ञानिकहरू पनि आएका थिए। धान विज्ञहरूले सबैतिर घुमेर त्यतिबेला नै अजिगरा ताल भन्ने छ पश्चिममा त्यसलाई जंगली धानको स्वर्ग भनेर घोषणा गरिएको थियो। अहिले त्यो तालकै अवस्था के छ थाहा छैन। त्यहाँ धान पनि सायद पाइँदैन होला।
मिसन नै बनाएर खोज्ने क्रम त पहिले पनि थिएन। सन् २०१० मा जिन बैंक स्थापना भएपछि प्रजाति तथा जातिहरू खोज्ने काम अलि तीव्र भएको हो। खोजी त भइरहेको हुन्छ तर मिसन बनाएर जाने चलन छैन।
यसपालि पनि हामिले पहिलै नै निभारा पाइने ठाउँ हो, त्यहाँ के छ अवस्था भनेर हेर्न गएका थियौँ। धेरै ठाउँ खोज्दा सबैतिर हराएको देखियो। जोखर ताल पनि छ भन्ने सुनेपछि घुम्न जाँदा त्यो भेटियो।
अर्को वर्ष हामीले नार्कले लिड गरेर कहाँ कहाँ कुन प्रजातिको जंगली धान पाइन्छ भनेर अभियान चलाउने भनेका छौँ। यसमा राष्ट्रिय निकुञ्जलाई पनि संरक्षणमा जोड्ने, धान अध्ययन केन्द्रहरूलाई पनि जोड्नेगरि जाने योजना बनाएका छौँ।
सन् १९८७ पछिकै नयाँ पहिचान होला सायद। त्यसपछि कुनै नयाँ प्रजाति रिपोर्टिङ भएजस्तो लाग्दैन।
नयाँ प्रजाति भेटियो। थप प्रमाणीकरण बाँकी छ भन्नुभयो। यसको बाँकी प्रक्रिया के हुन्छ?
त्यसको फल, फूल र हाँगा पनि ल्याएका छौँ। त्यसलाई ट्याक्सोनोमिस्टहरूले हेर्छन्। त्यसको विभिन्न प्रक्रिया हुन्छ।
मोलिकुलर तहमा त हामीले विभिन्न धानको डीएनएलाई तुलना गर्ने हो। यसको प्रविधि हामीसँगै छ। यो सबै भएपछि यसको अन्तिम प्रमाणीकरण सकिन्छ।
धानलगायत बाली तथा जीवको रैथाने जातको संरक्षण तथा विकास गर्ने नार्कको मुख्य काम हो। जिन बैंक स्थापना भएपछि लोप भइसकेको कुनै त्यस्तो जात फेला पार्नुभएको छ?
त्यस्तो त धेरै छ। ५०/६० भन्दा धेरै नै छ। नाम चलेको समुन्द्र फिनी भन्ने धान हो। नुवाकोटतिर पाउँछ यो जात। त्यो सफ्ट, बास्ना आउने र स्वादिलो छ। त्यो लोपोन्मुख नै हो। हामीले त्यसलाई संकलन गरेका छौँ। धेरैतिर त्यस्ता जात छन् हामीले संकलन गरेर ल्याएका छौँ।
सरकारी अभ्यास तथा नीतिकै कारण कयौँ रैथाने जातहरू लोप भएका पनि छन्। विदेशमा विकास भएका जातलाई यहाँ ल्याउने र अलिकति स्थानीयकरण गर्ने र देशभर त्यही लगाउने गरियो। जस्तो मनसुली धानको पालामा पनि गरियो। सबैतिर एउटै जात लगाइयो। त्यो लगाउँदा किसानसँग भएका अरु त हराए।
त्यो वेभबाट पनि बाँचेका बीउ संकलन गरिरहेका छौँ। समुदायमै जिन बैंक पनि छन् त्यहाँबाट पनि ल्याएका छौँ। कृषिका सबै बीउलाई हामीले ल्याएका छौँ। जीवको पनि संकलन गरेका छौँ।
लोपोन्मुख भनिएका बीउ यहाँ ल्याएर संरक्षणमात्र गर्ने हो कि तपाईंहरूले त्यसमा थप विकास गरेर फेरि उत्पादनका लागि पठाउने पनि हो?
यहाँ संरक्षण गर्नेमात्र होइन त्यसलाई ल्याएर कृषि उत्पादन बढाउनका लागि बीउको विकास गर्ने हो। देशको अर्थतन्त्रमा कृषिलाई अझै किफायती र उत्पादनशील बनाउनका लागि सबैभन्दा पहिला हाम्रो उत्पादनलाई अझै लाभदायी बनाउने मुख्य काम हो।
हाम्रो बासमतीले युरोपको बजारमा राम्रो बजार पाओस्, जुम्ली मार्सी अन्तर्राष्ट्रिय ब्रान्ड बनोस् भन्ने नै हो। यहाँ खाली संरक्षणमात्र गर्ने होइन।
नेपालका सुपरमार्केटमा नेपाली किसानले उत्पादन गरेका वस्तुको बाहुल्य होस् भन्ने हो। कृषि अनुसन्धान परिषद(नार्क)को मुख्य काम नै यस्ता अनुसन्धान गरेर उत्पादनशील बनाउने भन्ने हो। तर हामीले अलि सजिलो बाटो मात्र लियौँ। विदेशमा विकास भएका जात ल्याएर परीक्षण गर्ने स्थानीयकरण गरिदिने। सिफारिस गरिदिने मात्र भयो।
तर, हामीले गर्नुपर्ने के थियो भने हाम्रै जिनोटाइपमा अभिवृद्धि गर्ने प्रक्रियामा जानुपर्ने हो। यो लामो छ तर पनि यो नगरि हामी कहिँ पनि जान सक्दैनौँ।
पछिल्लो समय नार्कमा केही काम भएका छन्। जस्तो धानको छुट्टै अध्ययन केन्द्र नै छ। त्यहाँ क्रसिङ गरेर स्थानीय जातमै अभिवृद्धिको काम पनि भइरहेको छ। विकास गर्ने भन्ने छ। क्रसिङका लागि विभिन्न किसिमको जात चाहिन्छ। जिन बैंकले त्यस्ता जात दिन्छ। हामीकहाँ राखेको कुनै पनि बीउ सय वर्षसम्म सुरक्षित हुन्छ। सावित्री र माछापुच्छ्रे धानको जात नेपालमै रिलिज भएको हो। यो धानको उपयोग संसारभरि भइरहेको छ। चीन, बंगालादेश, भुटानमा यसले बजार लिएको छ।
जुम्ली मार्सी संसारकै धेरै चिसो सहनसक्ने जातको धान हो। यसको जिन ७६ देशले उपयोग गरेका छन्। संसारलाई योगदान हाम्रो देशले गरेको छ। तर हाम्रै नेपाललाई थाहा छैन।
जुम्ली मार्सीमै पनि हामीले केही अभिवृद्धि गरेका छौँ। यसमा ब्लास्ट रेजिस्टेन्स गुण थिएन त्यो थप गर्ने काम भएको छ। यस्ता थुप्रै रैथाने बीउ र प्रजातिहरू छन् जसको बारेमा पर्याप्त अनुसन्धान नहुँदा लाभ लिन कठिन भइरहेको छ।
नेपालमा उन्नत जातको बीउ नहुँदा पनि कतिपय बालीहरू लोप हुने अवस्थामा पुगेका छन्। कोदो, कागुनो जस्ता बालीहरूमा दशकौँदेखि एउटै बीउ चलिरहेको छ। त्यसको उत्पादनशीलता स्वभाविक रुपमा क्षीण भइरहेको छ भने अर्कोतिर संसारका अन्य देशमा त्यस्तै बालीमा धेरै उत्पादन दिने नयाँ जातको बीउ आइसक्यो। त्यही कारणले पनि किसानले छाडिरहेका छन् भनिन्छ। यस्तै अनुसन्धान संस्थाले काम नगरेका हुन् कि, किसानले थाहा नपाएका हुन्?
कामै नभएको होइन, आउटपुट नआएको भन्नुपर्यो। काम पनि कम भएको हो। अनुसन्धानलाई यसै पनि धेरै प्राथमिकता छैन। नीति निर्माताले पनि अनुसन्धानमा लगानी गर्न सकिँदैन भन्छन्। राज्यकै प्राथमिकता छैन। अनुसन्धानको आधारशीला नै कमजोर छ। यसमा साधारण कुरा छ कि हाम्रै जिनोटाइपमा अभिवृद्धि गरेर विश्वव्यापीकरण गर्नुपर्ने हो तर यो त भएकै छैन। तर हाम्रोमा उल्टो विदेशबाट ल्याएर स्थानीयकरणमै अनुसन्धान सीमित भयो। बाहिरको ल्यायो, अनि मख्ख हुने।
जस्तो अहिले बाख्रामा हेरौँ, हाम्रो खरी सबै लोप हुने अवस्था आउन लाग्यो। खरीकै हाइब्रिड बनाउनुपर्थ्यो देशभित्रै अनुसन्धान गरेर तर यहाँ के गरियो भने बोयर ल्याइयो। बोयरले मध्य पहाडमा खरीलाई विस्थापन गर्दैछ। तराईमा जमुनापारीले गरिसक्यो।
मान्छेलाई शासन गर्नका लागि विदेशी आयो भने कति विरोध हुन्छ। तर त्यही अवधारणा भान्सा र खेतमा लागु हुँदा वास्तै छैन। नेपालमा थुप्रै यस्ता जिनोटाइप छन् जसको महत्व संसारभरी छ। पञ्चगुणमा नेपालको कृषि उपज एक नम्बरमा आउँछ। हिमालतिरको चिसो हावापानीमा उत्पादन भएका चिजको शुद्धता र स्वस्थताको तुलना कतै हुनसक्छ? यसको गुणवत्ता त संसारकै लागि अर्थपूर्ण छ।
त्यसका लागि विज्ञानले भनिदिनुपर्छ कि यो सर्वगुणसम्पन्न छ भनेर?
त्यसका लागि त हामीसँग अनुसन्धान संस्था छन् प्रविधि पनि छन्। यत्रा विश्वविद्यालय केका लागि छन्? के बाहिरको नमुना ल्याएर मात्र अनुसन्धान गर्ने हुन् तिनले? अनि ल्याबबाट पनि गर्नुपर्यो। त्यसपछि उपभोगबाट पुष्टी हुनुपर्यो।
जिन बैंक आफैँमा संवेदनशील हुन्छ। सुरक्षाको कुरा पनि हुन्छ। यसका लागि प्रविधि चाहिन्छ। प्रविधि र सुरक्षाका लागि पर्याप्त लगानी पाउनुभएको छ?
नेपालमा जैविक विविधताका लागि छवटा कम्पोनेन्ट छ। बाली, किरा, घाँसलगायतका छन्। यी सबैलाई संरक्षण तथा विकासका लागि १०१ असल अभ्यास अनुसरण गरेका छौँ। नेपालभर प्रयोग गरेका छौँ। हामीसँग १८/१९ हजार प्रकार संरक्षित भएका छन्। हामीले सन्तानेश्वर कृषि वंशानुगत आरक्ष स्थल स्थापना गरेका छौँ। यो सम्भवत: पहिलो पहल हो।
तर लगानीको अभाव छ। प्राकृतिक प्रकोप त कसैले पनि रोक्न सक्दैन। सेफ्टी डुप्लिकेटका लागि अर्को ब्याकअप राख्नुपर्छ भनिरहेका छौँ। हाम्रो त हिमालय क्षेत्र नै धेरै छ। त्यस्तै क्षेत्रमा भूमिगत एउटा बनाउनुपर्छ भनिरहेका छौँ। लगानी गर्नुपर्ने सरकारकै प्राथमिकतामा यस्ता कुरा परिरहेका छैनन्।
आधुनिक व्यापारमा बीउ उच्च मूल्यको वस्तु हो। नेपालमा थुप्रै रैथानेमात्र होइन महत्वपूर्ण जिनोटाइप पनि छ भन्नुभयो। बीउको अनुसन्धान तथा विकास गर्ने संस्थागत व्यवस्था पनि नभएको होइन। तर पनि बीउमाथिको निर्भरता किन हाम्रोमा बढिरहेको छ? यो निर्भरता हटाउन के गर्नुपर्छ?
यसका लागि सबैभन्दा पहिला विज्ञानमा विश्वास गर्नुपर्छ किसानदेखि सरकारसम्मले। यसका लागि सबैभन्दा पहिला अनुसन्धानमा लगानी गर्नुपर्छ राज्यले।
यदि कृषिको विकास गर्ने हो भने हामीले आफ्नै बीउको विकास गर्नुपर्छ। नेपालमा प्रत्येक घरमा फरक जातको बीउ छ। खेती भइरहेको छ। जसरी हामीले आफ्ना सन्तानको शिक्षा स्वास्थ्यमा लगानी गरेर अभिवृद्धि गरिरहेका हुन्छौँ त्यसैगरी बाली नालीमा पनि गर्नुपर्छ। यसका लागि हामीजस्ता अनुसन्धान संस्थालाई चलायमान बनाउने, नयाँ प्रविधि भित्र्याउने तथा हाम्रै बीउको अधिकतम् भ्यालुएड गर्ने काम गर्नुपर्छ। बल्ल मार्केट होराइजन बढ्छ। विदेशबाट बीउ ल्याएर स्थानीयकरण गरेर झारा टार्ने अनुसन्धानबाट हाम्रो कृषिको मौलिकता रहँदैन।
नेपालको सुन्तला उत्कृष्ट छ। यसलाई त हामीले राष्ट्रिय फल बनाउनुपर्छ भनेर भनिरहेका छौँ। राष्ट्रिय फल बनाउँदा यो नेपालको ओरिजिन पनि हो। अमेरिकाले नेपालको सुन्तला लिएर भाइरस नलाग्ने जात निकालिसकेको छ क्रसिङ गरेर। उसले मेन्डरिङ क्रस गरेर नयाँ जात बनाएर प्रतिरोधी क्षमता विकास गरिसक्यो। त्यो जात प्याटर्न गरेर बिक्री भइसकेको छ। तर हामीले त्यसमा केही गर्न सकेका छैनौँ। यस्ता काम प्रत्येक लाभदायक उत्पादनमा गर्नसक्नुपर्छ।
नेपालमा केही समय पहिले जीएमओको चर्चा भएको थियो। त्यतिबेला निकै विवादित भएर रोकियो। अहिले त भारतले पनि परीक्षणको काम अघि बढाइसकेको छ। नेपालका सन्दर्भमा तपाईंको बुझाइमा यसमा के हो?
यो कुरा पहिल्यै पनि आइसकेको छ। यो नयाँ विज्ञान हो। बायोलोजी प्रणालीलाई कृत्रिम रिडिजाइन गरिदिने जीएमओ चानचुने विज्ञान होइन। संसारकै नयाँ अन्वेषण हो। प्रयोगको पाटोमा भने सचेत हुनुपर्छ। यसमा धेरै कुराको चेक गर्नुपर्छ।
अनुसन्धान तत्काल सुरु गर्न सकिन्छ। नियन्त्रित क्षेत्रमा यसको अनुसन्धान गर्न सकिन्छ। नेपालमा कस्तो हुन्छ। यसको परीक्षण हुनुपर्छ। नत्र विदेशमा के भइरहेको छ कसले के बोलिरहेको छ भन्ने कुरामा धारणा बन्न हुँदैन।
विज्ञानकै परिणामअनुसार धारणा बनाउनुपर्छ। नेपालमै अनुसन्धान गर्नुपर्छ। हाम्रै प्रजातिको जीएमओ गरेर हेर्न सकिन्छ। विज्ञानको प्रविधि आयो यसलाई नेपालमा अनुसन्धानबाट काम गर्नुपर्छ। अफ्रिकाको परिणामलाई लिएर कसले कहाँ के बोलेको र लेखेको छ भन्ने कुराबाट धारणा बनाउने होइन। हामी आफैले अनुसन्धान गरेर परिणाम देखाएर आफ्नो धारणा बनाउनुपर्छ।