बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४५ अर्बले बचतमा शोधनान्तर 

बढ्दै डलर सञ्चिति, मूल्यवृद्धि पनि मत्थर भयो, बाह्य क्षेत्र दबाबमुक्त भएको हो?

शुक्रबार, पुस २९ २०७९
२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४५ अर्बले बचतमा शोधनान्तर 

आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

काठमाडौं- अर्थतन्त्रको बाह्य अवस्था दबाबमुक्त भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बाह्य क्षेत्रका अधिकांश सूचकमा निरन्तर सुधार देखिएको छ। 

रेमिट्यान्स, शोधनान्तर, चालु खाता घाटाको खाडल न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्षभर दबाबमा रहेको बाह्य क्षेत्रमा यो वर्ष सुधार देखिएको छ। 

साउनदेखि मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्रमा सुधार भएको जानकारी गराएको छ। 

गत वर्षको सुरुदेखि नै घाटामा रहेको शोधनान्तर अवस्था लगतार तेस्रो महिना बचतमा रहेको छ। पहिलो पटक असोजमा १२ अर्बले  बचतमा गएको  शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब ३ करोडले बचतमा थियो भने मंसिरसम्म पुग्दा ४५ अर्ब ८७ करोडले बचतमा गएको छ।  गएको छ। गत वर्षको अवधिमा १ खर्ब ९५ अर्बले घटामा थियो। 

यो वर्षको पाँच महिनामा रेमिट्यान्समा पनि उत्साहजनक वृद्धि देखिएको छ। गत वर्षको यही अवधिमा ओरालो लागेकाले यो वर्ष वृद्धिदर उच्च देखिएपनि सकारात्मक लय कायमै राखेको छ। साउनदेखि मंसिरसम्मको अवधिमा नेपाली रुपैयाँमा २३ प्रतिशतले बढेको छ। पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको थियो। 

विदेशी मुद्रा सञ्चितिमा पनि पछिल्लो समय निरन्तर सुधार देखिएको छ। मंसिरसम्मको तथ्यांक अनुसार ९ अर्ब ८२ करोड अमेरिकी डलर सञ्चिति पुगेको छ। साउनदेखि मंसिरसम्म विदेशी मुद्राको सञ्चिति ३ प्रतिशतले बढेको छ। २०७९ को असारमा कूल सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो। 

चालु खाता घाटाको विस्तार पनि निकै साँघुरिएको छ। राष्ट्र बैंकका अनुसार पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा २ खर्ब  ९८ अर्ब पुगेको थियो।

आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 

मूल्यवृद्धि केही मत्थर

मंसिरमा मूल्यवृद्धि केही मत्थर भएको छ। राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा ७.३८ प्रतिशत कायम भएको छ। कात्तिकमा ८.०८ प्रतिशत थियो। पछिल्लो समय मूल्यवृद्धि घटिरहेको छ।

राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ।

यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुरा तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।

मंसिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशतले बढेको छ।

त्यस्तै घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य ८.२९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ। गत वर्षको मंसिर महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो।

गत मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२२ प्रतिशत रहेको थियो।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend