बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रक्षेपणभन्दा उल्टो सूचकले शिवम् सिमेन्टको सेयर मूल्यमा लगातार पहिराे

प्रिमियम मूल्यकाे आईपीओले लगानीकर्ता मारमा

बिहीबार , पुस २८ २०७९
प्रक्षेपणभन्दा उल्टो सूचकले शिवम् सिमेन्टको सेयर मूल्यमा लगातार पहिराे

काठमाडौं- शिवम् सिमेन्टको सेयर कारोबार प्रत्येकदिन घट्दो ट्रेन्डमा छ। घट्ने क्रम पछिल्लो वर्षदेखि नै जारी छ। साताको अन्तिम दिन बिहीबार पनि शिवम्काे सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ घटेर ५६६ रुपैयाँ कायम भएको छ।

कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। घट्दो ट्रेण्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। बिहीबार पनि २२ करोड २० लाख रुपैयाँको कारोबार हुँदा ३ लाख ८३ हजार कित्ता किनबेच भएको छ। बिहीबार पनि सबैभन्दा बढी कारोबार हुने सूचीमा शिवम नै रहेको छ। 

४ अर्ब ४४ करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण २४ अर्ब रुपैयाँ रहेको छ। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। यो वर्ष लाभांश घोषणा हुन बाँकी नै छ। तर, पनि लगानीकर्ता भने त्रासमा देखिएका छन्। 

shivam.JPG

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले २० लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

प्रमोटर सेयरधनी बाहिरिएको चर्चासँगै सर्वसाधारण लगानीकर्ताले धमाधम सेयर बिक्री गरिरहेका छन्। जसका कारण उच्च कारोबारसँगै सेयर मूल्य भने न्यून बिन्दुमा आइपुगेको छ। 

निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चार वर्षअगाडि प्राथमिक सेयर निष्कासन गर्दा त्यसपछिका २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको थियो। आर्थिक वर्ष ०७५/०७६ मा २५.२८ प्रतिशत नाफा बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो। त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरेको थियो।

उद्योगले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागी सार्वजनिक गरेको वित्तीय विवरणमा आम्दानी तथा नाफा बढाउने योजना सार्वजनिक गरेको थियो। २ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पूग्ने आब्हानपत्रमा उल्लेख गरिएको थियो। 

प्रक्षेपणभन्दा उल्टो 

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा घटेर ६८ करोड रुपैयाँमा सीमित भएको थियो। गत वर्षको तुलनामा खुद नाफा ५१ प्रतिशतभन्दा धेरैले घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झरेको छ। 

गत वर्षको फागुनबाट शिवम सिमेन्टको ३ करोड ८५ लाख कित्ता प्रमोटर सेयरको लक इन पिरियड खुलेको थियो। लक इन पिरियड खुलेर सेयर बिक्रियोग्य भएसँगै शिवममा सेलिङ प्रेसर देखिएको थियो। लक इन खुल्दाको समय ११०० को आसपासमा रहेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ३०० रुपैयाँको दरले कुल ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावितका लागि प्रतिसेयर २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६८० कित्ता आइपीओ निश्कासन गरेको थियो। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend