बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

३४ अर्ब १२ करोड चुक्ता पुँजीको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को एकीकृत कारोबार सुरु

अध्यक्ष पाँडे भन्छन्- दाेस्राे चरणको मर्जरपछि बढीमा ८ वटा बैंक भए पुग्छ 

बुधबार, पुस २७ २०७९
३४ अर्ब १२ करोड चुक्ता पुँजीको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को एकीकृत कारोबार सुरु

काठमाडाैं- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आज बुधबारबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नाममा एकीकृत कारोबार सुरू गरेका छन्। बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई नै नियुक्त गरिएको छ। 

यी दुई कम्पनी एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो। गत पुस ७ गते बसेको ती कम्पनीको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए।

एकीकृत कारोबारको कार्यक्रमा बाेल्दै नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले ३६ वर्षको अप्रेशनको अनुभव र मेगाको पनि १२ वर्षको अनुभव भएपनि धेरै छिटाे व्यापार विस्तार गरेकोमा अब एक भएर अगाडि बढ्दा झनै राम्रो हुने बताए। 'ठूला बैंक मर्जरपछि पनि चुनाैती रहेकोमा अब सबै हिसाबले अब्बल हुने छौँ,' अध्यक्षले पाँडेले भने।

मर्जरमा जानलाई राष्ट्र बैंकलाई आफूहरूले सुझाव दिएको बताउँदै उनले अहिले बैंकको संख्या ३२ बाट घटेर २१ मा झर्नु सकारात्मक भएको बताए। अब दाेस्रो चरणको मर्जरले बढीमा ८ वटा बैंक भए पुग्ने भएकोले याे मर्जर अझै हुँदै जानेसमेत उनले बताए। 

नेपालमा ५/६ वटा भएपुग्ने देखिएको र बढीमा ८ वटाभन्दा बढी हुन नहुनेसमेत अध्यक्ष पाँडेले बताए।

'बैंक जति ठूलाे भयाे निक्षेपकर्ताको पैसा सुरक्षित हुनेछ, यसकारण पनि मर्जर रोकिनु हुँदैन,' पाँडेले भने। 

साना प्रोजेक्टलाई पनि चार पाँचवटा बैंक खाेज्न पर्ने अवस्था रहेकोले ठूला बै‍ंक बनाउनका लागि सबैले प्रयास गर्नुपर्ने उनले बताए। कुनैपनि देशमा नेपालमा झैँ धेरै वित्तीय संस्थाहरू नरहेको समेत उनले बताए। 

अहिले बैंकको नाफालाई लिएर उद्याेगी र बैंकबीच विवाद हुने गरेको बताउँदै पाँडेले बैंकको ५८ अर्ब सम्पती हुने कम्पनीले ५ अर्ब कमाउनु स्वभाविक भएको बताए। अन्य लगानीमा कति नाफा हुन्छ भन्ने हिसाब नै नहुने गरेको उनले बताए। 

नेपाल राष्ट्र बैंकले दुई बैंकलाई गत पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। अब बैंकको चुक्ता पुँजी ३४ अर्ब  १२ करोड हुनेछ। 

मर्जरपश्चात् कम्पनीको जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कुल पुँजी ५८ अर्ब रुपैयाँ पुगेको छ। मर्जरपश्चात् कम्पनीको शाखा कार्यालय २९६ वटा र एटीएम संख्या २७९ वटा पुगेको छ। त्यस्तै, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या करिब ३० लाख पुगेको कम्पनीले बताएको छ।


प्रकाशित : बुधबार, पुस २७ २०७९०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend