बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

‘अन्डरभ्यालु’ भएको निफ्राको सेयरमा बजार बढ्दा पनि फर्किएनन् लगानीकर्ता, अब के होला?

बुधबार, पुस २७ २०७९
‘अन्डरभ्यालु’ भएको निफ्राको सेयरमा बजार बढ्दा पनि फर्किएनन् लगानीकर्ता, अब के होला?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को दोस्रो बजारमा सेयर मूल्य बढ्न सकेको छैन। बजार बढ्दासमेत निफ्राको व्यापार विस्तारमा लगानीकर्ता विश्वस्त नहुँदा सेयर मूल्य बढ्न नसकेको हो। निफ्राको सेयर मूल्य घटेर दुईवर्षयताकै सस्तो मूल्यमा झरेको छ। कम्पनीको मंगलबार प्रतिकित्ता २३६ रुपैयाँमा आइपुगेको छ। 

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर १७६ रुपैयाँमा आइपुगेको थियो। विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

nifra.JPG

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राको खुद नाफा बढेको थियो। समीक्षा अवधिमा बैंकको खुद नाफा ५६.४६ प्रतिशत बढेर ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन नाफा ५६.४६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको थियो। नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ।

निफ्राले चुक्ता पूँजी २१ अर्ब ६० करोड को ४ प्रतिशतले  हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव समेत पास गरेर सेयरधनीको खातामा पठाई सकेको छ।

दुई वर्ष अगाडि प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन।

जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण ५० अर्ब रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोडसम्म पुगेको कम्पनीको बजार पुँजीकरण अहिले निरन्तर घटिरहेको छ।

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा समेत लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ। विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ।


प्रकाशित : बुधबार, पुस २७ २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend