काठमाडौं- ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो।
क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गस्किने बैंकले जनाएको छ। यो मेसिनबाट यस बैंकको खातामा बैंकिंङ समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था बैंकले जनाएको छ।
खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५ सय र १ हजार रुपैयाँ दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५ सय र दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ।
रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ। बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ। उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुने बैंकले जनाएको छ।
बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ। बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। साथै, यस बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहकको अत्यावश्यक बैंकिंङ सेवालाई अझ सहज एवं सरल बनाउदै लैजाने अठोट लिएको छ ।
एन आईसी एसिया बैंकले मुलुकमा सबैभन्दा धेरै बैंकिंक सञ्जाल विस्तार गरेको दाबी गरेको छ। यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको जनाएको छ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैंकले दाबी गरेको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको बैंकले जनाएको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ।