बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निरन्तर बढिरहेको सेयर बजारमा देखियो गिरावट, कारोबार भने ७ अर्ब ६५ करोडको

मंगलबार, पुस २६ २०७९
निरन्तर बढिरहेको सेयर बजारमा देखियो गिरावट, कारोबार भने ७ अर्ब ६५ करोडको

काठमाडौं- निरन्तर उकालोमा देखिएको सेयर बजारमा मंगलबारको कारोबार केही घटेको छ। नयाँ सरकार आएयता ३४४.०८ अंकको वृद्धि भइसकेको बजार अहिले दोहोरो अंकले तल झरेको हो।

यो साता पहिलो कारोबारमा आइतबार २०.५५ अंकको वृद्धि देखिएको थियो। सोमबार ४७.१५ अंकको वृद्धिसँगै २२११.७६ बिन्दुमा पुगेको बजार मंगलबार घटेको हो।

मंगलबार २१.३५ अंकको गिरावटसँगै बजार २१९०.४२ बिन्दुमा झरेको छ। बजारमा कारोबार रकममा भने ठूलो वृद्धि देखिएको छ। ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। 

मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै सरकार गठन भएयता सेयर बजारमा देखिएको सुधार सरकारप्रति जनताको विश्वास भएको प्रमाण रहेको बताएका छन्। उनले सरकार गठन गरेयता निरन्तर पुँजी बजारलाई आफूहरूले ध्यान दिइरहेको बताइरहेका छन्। 

'वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार यो सरकारका लक्ष्य हुनेछन्' मंगलबार संसद्‍मा उनले भनेका छन्।  

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको सेयर बजारमा सुधार देखिइरहेको थियो। मंगलबारको बजारमा लामो उकालोपछिको करेक्सन हो या बजारले गति समात्न अझै समय लाग्ने हो यकिन देखिएको छैन। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारी साथ मिल्दै जाने देखिएकाले अबको बाटो पुनः उच्च अंकतर्फ लाग्नसक्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend