शनिबार, साउन १२ गते २०८१    
images
images
images

६ दशकदेखि घुम्तीगोठमा गाईभैँसीपालन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २६ २०७९
images
images
६ दशकदेखि घुम्तीगोठमा गाईभैँसीपालन

पुर्ख्यौली पशुपालनलाई व्यावसायीकरण गर्न नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ।

images

बेनी- धवलागिरि गाउँपालिका-४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुर्ख्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्।

images
images

छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्‍याउने गर्छन्। घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय बिताइसकेका छन्।

images

उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन्। गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन्। गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउँछन्। गाईभैँसीको घिउ प्रतिमाना १ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको छ।

'भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ', उनले भने।

images

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दै आएका थिए। बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउँछन्। प्रेमप्रसादका छ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए। अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन्।

हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्। यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पुर्‍याउने गरिन्छ। भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली-ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन्।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उहाँहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन। 'हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ', प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भने।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे। आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्छन्। अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उहाँको परिवारले निरन्तरता दिएका छन्।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन्। ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छिन्। जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन्। बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि उहनीहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउँछिन्।

‘‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ', उनले भनिन्। गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ। 

तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन्। उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन्। 'पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु', घर्तीमगरले भने।

एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ। घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ। पुर्ख्यौली पशुपालनलाई व्यावसायीकरण गर्न नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ। रासस


प्रकाशित : मंगलबार, पुस २६ २०७९०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend