काठमाडौं- सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डू्ले एकीकृत कारोबार सुरु गरेको छ। योसँगै ग्लोबल ३५ अर्ब ७७ करोड चुक्ता पुँजी भएको सबैभन्दा ठूलो बैंक भएको छ। मंगलबारदेखि सेञ्चुरी र प्रभु बैंकले पनि एकीकृत कारोबार गर्दैछन्।
एकीकृत कारोबारको उद्घाट कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंकले १० वर्षअगाडि लिएको लक्ष्य सफलताउन्मुख रहेको बताए। एक दशकअघि लिएको मर्जरको नीतिले अहिले सफलता पाएर वित्तीय प्रणाली सुधार र सुरक्षित बन्दै गएको उनले बताए। २४७ संस्था मर्जर भइसकेकोले यसले वित्तीय जोखिमलाई कम गर्ने उनको भनाइ थियो।
नेपाल राष्ट्र बैंकले मर्जरमा जानेहरूलाई पुस मसान्तसम्म विभिन्न छुट सुविधा दिएका कारण पनि धेरैको चासो बढेको थियो। मौद्रिक नीतिको समीक्षामार्फत समय असार मसान्तसम्म पुर्याउने तयारी समेत भएको छ।
मर्जरपछि अहिले वाणिज्य बैंकको संख्या २२ मा झरेको छ। सोमबार नै लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने सहमति भएको छ। लक्ष्मी र सनराईज बैंक मर्जपछि वाणिज्य बैंकको संख्या २१ हुनेछ।
नबिल र नेपाल बंगलादेश
चालू आर्थिक वर्षमा मर्जरको सुरुवात नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले गरेका हुन्। गत असार २८ गते एकीकृत कारोबार सुरु भएको हो। गत आवको पुस २८ गते नै नबिल बैंकको एक सय कित्ताबराबर एनबीको ४३ कित्ता सेयर हुने अर्थात् १०० अनुपात ४३ हुने गरी सम्झौता भएको थियो।
जसअनुसार नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्यो र नबिल बैंककै नाममा एकीकृत कारोबार भयो। बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगानालाई मर्जरपछि नियुक्त गरिएको थियो। अध्यक्ष भने नबिल बैंककै कायम भएका थिए।
कुमारी र एनसीसी बैंक
कुमारी बैंक र एनसीसी बैंकले एकीकृत कारोबार सुरु गरेको छन्। गत असोजमा मर्जर सम्झौता गरेका यी बैंकले यही पुस १७ गते एकीकृत कारोबार गरेका हुन्। एनसीसी बैंकको सीईओ रमेशकुमार अर्याल तथा अध्यक्षमा कुमारीकै तर्फबाट अमिर प्रताव जबरा राणा कायम छन्।
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकले यही २५ गतेबाट एकीकृत कारोबा सुरु भएको छ। मर्जरपछि यस बैंकको नाम ग्लोबल आईएमई बैंक भएको छ। १ अनुपात १ को स्वाप रेसियोमा यी दुई बैंक मर्जरमा गएका हुन्। मर्जरपछि सीईओ र अध्यक्ष दुवै ग्लोबल आईएमई बैंकबाटै रहनेछन्।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग मर्जर तोडिएपछि नयाँ पर्टनरको रुपमा मेगालाई अघि बढाएको हो। इन्भेष्टमेन्ट र मेगा दुई बैंकले जेठ २७ गते नै आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए। जसअनुसार पुस २७ गते नै एकीकृत कारोबार हुँदै छ। मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेनट मेगा बैंक हुनेछ।
बैंकको अध्यक्ष र सीईओ इन्भेष्टमेन्ट बैंकको नै कायम हुनेछन्। यी दुई बैंक इन्भेष्टमेन्टको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता सेयर हुने गरी मर्जरमा जाँदै छन्।
सेञ्चुरी र प्रभु बैंक
सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक यही पुस अन्तिममा अर्थात् २६ आज देखि एक हुँदै छन्। प्रभु बैंककै नामबाट एकीकृत कारोबार गर्ने गरी सम्झौता भएअनुसार पुस २६ गतेपछि एकीकृत कारोबार हुनलागेको हो। बैंकको सीईओमा अशोक शेरचन हुनेछन् भने अध्यक्ष समेत प्रभु बैंकको नै कायम हुने भएका छन्।
हिमालयन र सिभिल बैंक
इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि हिमालयन बैंकले नयाँ जोडीको रुपमा सिभिल बैंकलाई लिएको हो। दुई बैंकले गत असार २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए। मर्जरको सम्झौताअनुसार हिमालयन र सिभिल १००ः८१ को सेयर स्वाप रेसियोमा गाभिँदै छन्। हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गतेबाट हुने भएको छ।
हिमालयन बैंकमा सीईओ अशोक राणा र सिभिल बैंकका सीईओ सुनिल पोखरेललाई वरिष्ठ डेपुटी सीईओ बन्ने भएका छन् भने हिमालयन बैंकका अध्यक्ष मर्जरपछि पनि अध्यक्ष कायम हुनेछन्।
लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा
दुई ठूला वाणिज्य बैंक लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने भएका छन्। दुई बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।
दुवै बैंकबाट दुई÷दुई जना हुने गरी मर्जर समिति बनाइएको छ। लक्ष्मी र सनराइज बैंक बराबरी हैसियत अर्थात १ः१ को स्वाप सेयर आदन प्रदान अनुपातमा गाभिने गरी सम्झौता गरेका छन्।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै बैंकबाट सहमतिमा राखिने छ। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ। लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।
के के छन पाउने सुविधा?
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वित्तीय संस्थाहरूलाई असार मसान्तसम्म सुविधा पाउने गरी समय थप्ने तयारी गरेको छ। वाणिज्य बैंकहरू आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भइ २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म थप गरिनेछ।
वाणिज्य बैंकहरू आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भइ २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडाै उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन।
२०७९ पुस मसान्तभित्र गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंक अपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तथा पुनः नियुक्त हुन बाधा पर्ने छैन।
वाणिज्य बैंकहरू आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरू, पब्लिक लिमिटेड कम्पनीहरू, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एव स्थान मातहत सञ्चालित कोषहरूको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत विन्दुले थप गरिनेछ।