बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ग्लोबल आईएमई बन्यो ३५.७७ अर्ब चुक्ता पुँजीसहित सबैभन्दा ठूलो बैंक

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्जर 

सोमबार, पुस २५ २०७९
ग्लोबल आईएमई बन्यो ३५.७७ अर्ब चुक्ता पुँजीसहित सबैभन्दा ठूलो बैंक

काठमाडौं- ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीचको मर्जरपछि आज (पुस २५) सोमबारदेखि एकीकृत कारोबार गर्दैछन्। दुई बैंक मर्जपछि नाम भने ग्लोबल आईएमई बैंक नै हुनेछ।

ग्लोबल आईएमई मर्जरपछि चुक्तापुँजीका हिसाबले सबैभन्दा ठूलो बन्नेछ। १:१ को स्वाप रेसियोमा यी दुई बैंक मर्जरमा जाने सहमति गरेका थिए। मर्जरपछि सीईओ र अध्यक्ष दुवै ग्लोबल आईएमई बैंकबाटै रहनेछन्।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ कुल निक्षेप ४ खर्ब  रुपैयाँ, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्। ग्लोबल आइएमइ बैंकको गत मंसिर २३ गते सम्पन्न १६ औं साधारण सभाले ५० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने प्रस्तावसमेत पारित गरेको छ। 

दुई बैंकहरूको मर्जर पश्चात् कूल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

सबैभन्दा धेरै ग्राहक भएको एनआईसी एसियाको ३२ लाख ग्राहक छन्। अब ग्लोबल आईएमई बैंक ग्राहकहरूको आधारमा समेत सबैभन्दा धेरै ग्राहकसञ्जाल भएको बैंक बन्नेछ। 

दोस्रो बजारमा कस्तो होला ?

दुई बैंक मर्जपछि कारोबार, निक्षेप र ग्राहका हिसावले पहिलो हुने निश्चित छ। तर पनि दोस्रो बजारमा लगानीकर्ताको खास रोजाइमा भने पर्न सकेको छैन। 

अहिले पनि दोस्रो बजारमा वाणिज्य बैंकमध्ये नबिल र एनआईसी एसिया रोजाईमा पर्दै आएको छ। दुई बैंक मर्जपछि दोस्रो बजारमा पनि लगानीकर्ताको विश्वास जितेर आकर्षित पार्ने प्रयास हुनेछ।

बैंक अफ काठमाण्डू लिमिटेडले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। २०७८/७९ सम्मको संचित नाफाबाट २०७९ आसार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गरेको थियो। 

यता यसका साथै ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को कुल नाफाबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिएको छ। 

ग्लोबल आईएमई बैंकको दोस्रो बजारमा २१० रुपैयाँमा कारोबार भइरहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा ३७५ रुपैयाँसम्म कारोबार मूल्य पुगेको थियो। भने न्यूनतम १९७ रुपैयाँम्म झरेको थियो। बैंकको पीई रेसियो १०.८४ गुणा रहेको छ। त्यस्तै बुक भ्यालु १६१.४२ रुपैयाँ रहँदा प्रतिसेयर आम्दानी १९.४१ रुपैयाँ रहेको छ। बैंकको तीन महिनामा खुद नाफा १ अर्ब २४ करोड रुपैयाँ कमाएको थियो।

यता बैंक अफ काठमाण्डू लिमिटेड पहिलो तीन महिनामा २८ करोड नाफा कमाएको बैंकको दोस्रो बजारमा सेयर मूल्य २०७ रुपैयाँ रहेको छ। बैंकको एकवर्ष अगाडि ३३० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर १९५ रुपैयाँमा झरेको थियो। बैंकको प्रतिसेयर आम्दानी ९.९७ रुपैयाँ रहेको छ भने पीई रेसियो २०.७९ गुणा रहेको छ। बुक भ्यालु १७०.५४ रुपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, पुस २५ २०७९०१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend