बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नयाँ सरकार आएयता सेयर बजारमा २९६ अंकको वृद्धि, पुन: शीर्ष बिन्दु भेट्ने आशमा लगानीकर्ता

आइतबार, पुस २४ २०७९
नयाँ सरकार आएयता सेयर बजारमा २९६ अंकको वृद्धि, पुन: शीर्ष बिन्दु भेट्ने आशमा लगानीकर्ता

काठमाडौं- नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको सेयर बजारमा लगातार वृद्धि देखिएको छ। नयाँ सरकार आएसँगै समग्रमा बजारमा २९६.९३ अंकको वृद्धि देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २०.५५ अंकको वृद्धिसहित बजार २१६४.४८ बिन्दुमा पुगेको छ। जहाँ १३३ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका हिसाबले लामो समयपछि अहिलेको सुधार देखिएको हो। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा उछाल आइरहेको छ। 

नयाँ सरकार गठन भएसँगै पुस ११ गते सोमबार पहिलो कारोबारमा ५६.८६ अंकको वृद्धिसहित बजार १९२४.०७ बिन्दुमा पुगेको थियो। त्यसयता दुई दिन सामान्य 'करेक्सन' देखिएको बजार बाँकी समय लगातार बढिरहेको छ। 

सरकार गठन भएको साता मंगलबार बजारमा ५९.८७ अंकको वृद्धि, बुधबार ११.८१ अंकको सामान्य गिरावट, बिहीबार ५६.८८ अंकको वृद्धि देखिएको थियो। यसैगरी गएको साता आइतबार १७.२६ अंकको वृद्धि, सोमबार १७.५६ अंकको वृद्धि, मंगलबार ३.०३ अंकको गिरावट, बुधबार ६४.८७ अंकको वृद्धि र बिहीबार १७.९२ अंकको वृद्धि देखिएको थियो।

सेयर विश्लेषक छोटेलाल रौनियार अबको बजारमा केही दिन करेक्सन देखिए पनि पहिलेजस्तो लगातार नघट्ने र अब नयाँ उचाइतर्फ बढ्ने बताउँछन्। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणाहरू भइरहेका छन्। वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन्। 


प्रकाशित : आइतबार, पुस २४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend