शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दीर्घकालीन लगानीकर्ता हाबी हुँदा चन्द्रागिरि हिल्सको सेयर मूल्यमा लगातार उछाल

शनिबार, पुस २३ २०७९
दीर्घकालीन लगानीकर्ता हाबी हुँदा चन्द्रागिरि हिल्सको सेयर मूल्यमा लगातार उछाल

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्यमा लगातार सर्किट लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चन्द्रागिरिको सेयर लगातार १० प्रतिशतले बढेको हो।

कम्पनीको बुधबार र बिहीबार दुवै दिन १० प्रतिशतले  बढेको थियो। कम्पनीको बिहीबार पनि ११७.९० प्रतिकित्ता बढेर १२९६.९० रुपैयाँमा कारोबार भएको छ।

विगतमा १५६५ रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ९०० रुपैयाँसम्म आइपुगेको थियो। अहिले पुनः लगतार बढेर १२९६ रुपैयाँ पुगेको छ। सेयर उचाइमा जाने अनुमानमा लगानीकर्ताहरू लगातार खरिदमा झुम्मिँदा मूल्यमा उछाल आएको छ। 

cgh.JPG

कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा पहिलो पटक नाफामा गएको थियो। सोही कारण पनि लगानीकर्ता सेयर खरिदमा झुम्मिएका छन्। कम्पनीमा दीर्घकालीन लगानीमा फाइदा देखेर पनि कम्पनीको सेयरमा आकर्षण बढेको देखिन्छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेको छ भने कुल आम्दानी ८७.१७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी २५८.६७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६.१९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३.४२ पैसा धनात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ पैसा रहेको छ। कम्पनीको पीई रेसियो ३७९.२१ गुणा रहेको छ। 

कम्पनीको १३ औँ वार्षिक साधारणसभा पनि भर्खरै सम्पन्न भएको छ। कम्पनीको अध्यक्षमा हेमाराज ढकाललाई चयन गरेको छ। त्यस्तै सञ्चालक समिति सदस्यमा उत्तम कुमार नेपाल, कल्याण गुरुङ, दिलिप शेखर श्रेष्ठ चयन भएका छन्। 

लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए। 

चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।


प्रकाशित : शनिबार, पुस २३ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend