काठमाडौं- नाडाको टोलीले भन्सार नाकामा लामो समयदेखि थन्किएर बसेका सवारीसाधनको जाँचपास बारे भन्सार विभागसँग छलफल गरेको छ। बुधबार नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासँग भेटगरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँचपासका सम्बन्धमा छलफल गरेको हो।
उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोबाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए। बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च व्याज दर, अटो लोन हायरपर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु¥याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायरपर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टू भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरु बिक्री हुन नसकेकोले सवारी साधन पैठारीकर्ताहरुले भन्सारमा आइपुगेका सवारी साधनहरुको भन्सार जाँचपास गर्न नसकेको उनले बताए।
सो छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्रीसमेत दुई तिहाईले घटेको जानकारी गराए।
नाडाका पूर्वअध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेको सवै कागजातहरु पेश गर्दा पनि भन्सार जाँच पासमा कठीनाई उत्पन्न भइरहेको गुनासो गरे। सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढन थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर विलिङलाई अनिवार्य गर्नुपर्ने धारणा राखे।
यसै क्रममा ट ह्वीलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च व्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको जानकारी दिए। त्यसैगरी राजस्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी भएका कम्पनीहरुसँग मिलेर आफनो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरि दिन आग्रह गरे।
उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरुको मागलाई यथासंम्भव सम्बोधन गर्ने बताए। महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरुमा आईसकेका सवारी साधनहरुको यथासम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दै नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारी साधनहरु छन् त्यसको तथ्यांक उपलब्ध गराई दिनसमेत आग्रह गरे।
छलफलमा भन्सार विभागका उपमहानिर्देशकद्वय डिलाराम पन्थी, यज्ञराज कोइरालालगायत र नाडाका केन्द्रीय कार्य समिति सदस्यहरुको उपस्थिति थियो।