बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १८ २०७९
लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। 
 
अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा आइतबार पौडेलले यस्तो निर्देशन दिएका हुन्।

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ। वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

अर्थमन्त्री पौडेलले राजस्व संकलनको वर्तमान अवस्थाबारे जानकारी लिँदै तोकिएबमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ।

'आजैदेखि दैनिकरूपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो', मन्त्रालयको विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

राजस्व परिचालनका लागि विभाग तथा कार्यालयलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाएका छन्। त्यस्तै, कर कानूनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ। 

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक तथा यथार्थपरक बनाउन अर्थमन्त्री पौडेलको निर्देशन छ।

त्यस्तै, कर कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्नसमेत उनले निर्देशन दिएका छन्। रासस


प्रकाशित : सोमबार, पुस १८ २०७९०६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend