पोखरा- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरालाई अन्य सबै सहरसँग जोड्नुपर्ने बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले कास्की तथा गण्डकी प्रदेशकै जनताको सपना साकार भएको बताउँदै अब पोखरालाई अन्य सबै सहरसँग जोड्नुपर्ने धारणा राखेका हुन्।
'यो विमानस्थलको अधिकतम प्रयोग कसरी गर्ने भन्ने विषय हामीसमक्ष चुनौती रहेको छ। यहाँ अन्तर्राष्ट्रिय उडानका लागि सुनिश्चितता र प्रभावकारी ढंगले काम होस्', उद्घाटन समारोहमा उनले भने, 'यसका लागि सरकारको तर्फबाट उड्डयन प्राधिकरणलाई आवश्यक सहयोग हुन्छ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेसँगै आइतबारदेखि व्यावसायिक उडानको बाटो खुलेको छ।