जनकपुर- हरेक वर्ष बजारले दसैँलाई नयाँ–नयाँ रौनकतासहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए ।
किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएकोछ । यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी देखिएको छ । दसैँ र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रीत गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ सार्वजनिक गरिरहेका छन् ।
उपभोगमा आधारित अर्थतन्त्रमा कूल उपभोगको एक तिहाइ दसैँमा उपभोग हुने बताइएको छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा हुने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दसैँलाई लिइन्छ ।
अर्थविद् उज्ज्वल दाहालले घरयासी खर्चको एकतिहाइ खर्च दसैँ सहित चाडपर्वमा हुने गरेको बताए।
'उद्योगी व्यवासायीले दसैँ, तिहार र छठपर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफर सहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन् । दसैँको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ' उनले भने।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभाविक भएको बताउछन्।
'टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागि सकेको छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/रेस्टुरेन्टले दसैँ लक्षित प्याकेज बिक्री गर्न थालेका छन्' उनले भने।
दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।
'पहिले पनि दसैँ अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैँ विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ' उनले भने।
अन्य महिनाका तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
अर्थविद्का अनुसार दसैँअघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ ।