काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर निजी क्षेत्रलाई दिने तयारी गरेको हो।
नयाँ विमानस्थल सञ्चालन गरेर खर्च धान्नै समस्या पर्ने तथा व्यवस्थापनमा कर्मचारीको लापरबाही झनै बढ्दै गएपछि प्राधिकरणले सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाउन लागेको हो। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको हो।
‘अहिलेको यहि संरचनाले विमानस्थल सुधार हुने देखिएन, अब अन्तर्राष्ट्रिय मोडलमा नेपालका विमानस्थल सञ्चालनमा लैजाने तयारी हो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भने।
प्राधिकरणले भारतमा जीएमआरले सञ्चालन गरेको मोडालिटीअनुसार नै नेपालमा पनि जाने तयारी गरेको छ। भारतमा जीएमआर कम्पनीले विमानस्थल सञ्चालन गर्दै आएको छ।
‘संसारभर नै अहिले पीपीपी मोडलमा विमानस्थल सञ्चालन हुने गरेको छ,’ महानिर्देशक अधिकारीले भने। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गराएर ख्यातिप्राप्त कम्पनी ल्याउने काम सुरु गरेको समेत अधिकारीले बताए। ‘नेपाल सरकारलाई अधिकतम फाइदा हुनेगरी मात्रै सञ्चालनको जिम्मामा निजी क्षेत्र ल्याउने छौ,’ अधिकारीले भने।
सरकारले भैरहवा विमानस्थल निर्माणमा मुआब्जासहित ३३ अर्ब रुपैयाँ खर्च गरेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनामा पनि अर्बौं रुपैयाँ खर्च भइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ काम पनि धमाधम भइरहेको छ। राज्यको अर्बौं लगानी भएपनि सञ्चालन गरेर नाफामा लैजाने र अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गर्नका लागि निजी क्षेत्र नै आवश्यक रहेको निष्कर्ष प्राधिकरणले निकालेको हो।
यसअघि पनि प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनका लागि जीटूजी मोडलमा अन्तर्राष्ट्रिय कम्पनीलाई दिने तयारी गरेको थियो। तर पछि आएर प्राधिकरण नेतृत्वले त्यसबाट हात झिकेको थियो। अहिले पुनः प्राधिकरणले तीनवटै विमानस्थल निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाउन लागेको हो।
भैरहवा र पोखरामा निर्माण सम्पन्न भएको दुई अन्तर्राष्ट्रिय विमानस्थल कोभिड १९का कारण केही ढिला भएको हो। २०७१ मा सुरु भएको भैरहवा विमानस्थल निर्माण २०७४ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। २०७७ भित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना गतवर्ष मात्रै सञ्चालनमा ल्याइएको थियो।
तत्कालिन प्रधानमन्त्री सुशील कोराइलाले २०७१ माघ १ गते शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आठ वर्षपछि निर्माण भएको थियो। एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। मुआब्जासहित ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। पोखरा विमानस्थलको काम पनि सम्पन्न भएर सञ्चालनको तयारी भएको छ। मुआब्जासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३० अर्ब रुपैयाँभन्दा बढी छ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनामा पनि पछिल्लो समय मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको निर्माण कार्य भइरहेका छन्। लगानी मात्रै हुने तर प्रतिफल लिन नपाउने स्थिति बन्ने आँकलनसहित प्राधिकरणले नयाँ ढंगले अघि बढ्ने निष्कर्ष निकालेको छ।
भैरहवा विमानस्थल ‘म्युनिख’ लाई दिने असफल प्रयास
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पुनः गभरमेन्ट टु गभरमेन्ट ९जीटूजी० मोडलमा जानेगरी सुरु गरेको प्रक्रियाबीचमै रोकिएको थियो। विगतमा जर्मनको म्युनिख विमानस्थलसँग जीटूजी मोडलमा सञ्चालनको जिम्मा दिनेगरी प्रक्रिया अगाडी बढेको भए पनि बीचमै प्रक्रिया रोकिएको थियो।
जर्मनको ‘म्युनिख’ विमानस्थललाई भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिने प्रक्रिया अगाडी बढाएको थियो। विगतमा म्युनिखसँग प्रक्रिया अगाडि बढाए पनि एउटामात्रै विमानस्थलको आवेदन परेकोले पछि विवाद हुनसक्ने भन्दै प्रक्रिया रोकिएको थियो।
गैरसैनिक हवाई उड्डयन ऐन २०५३ मा पनि विमानस्थल, निर्माण, सञ्चालन र संरक्षणको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हुने उल्लेख गरिएकोले पनि सिधै कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा दिने वा नदिने भन्ने विषयमा प्राविधिक समितिमा एकमत हुन सकेको थिएन।
तत्काल ऐन संशोधन गर्नुपर्ने अथवा सार्वजनिक बोलपत्र अह्वान गरेर मात्रै कम्पनीको छनोट गर्नुपर्ने विषयमा विवाद भएपछि प्रक्रिया नै रोकिएको थियो। ‘म्युनिख’ ले २०७५ माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो।
जीएमआरले कहाँ कहाँ गरेको छ काम?
जीएमआर समूहले दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल र हैदराबाद अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्व र सञ्चालन गर्दछ। यसबाहेक, कम्पनीले उत्तरी गोवाको मोपामा ग्रीनफिल्ड एयरपोर्ट र आन्ध्र प्रदेशको भोगपुरम, विजयनगरममा अन्तर्राष्ट्रिय ग्रीनफिल्ड एयरपोर्ट विकास गरिरहेको छ। यसले उत्तर कर्नाटकको बिदर एयरपोर्टमा सिभिलियन एन्क्लेभको सञ्चालन, सञ्चालन र मर्मतसम्भारको जिम्मा लिएको छ।
जीएमआरले फिलिपिन्सको मेगावाइड कन्स्ट्रक्सन कर्पोरेशनसँगको साझेदारीमा फिलिपिन्सको दोस्रो ठूलो एयरपोर्ट म्याक्टन सेबु अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र विकास गरिरहेको छ।
ग्रीसको हेराक्लियोनमा रहेको नयाँ अन्तर्राष्ट्रिय कास्टेली एयरपोर्ट, जसलाई क्रेट एयरपोर्ट पनि भनिन्छ, निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि समूहलाई ग्रीसको पूर्वाधार कम्पनी टेर्ना एसएको संयुक्त उद्यम साझेदारसँग छनोट गरिएको छ।