ढोरपाटन- पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन। विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो। यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पर्थ्यो। तर अहिले बोबाङमा यो समस्या छैन। पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरूको जीवनशैली पनि बदलिएको छ। विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरू पनि थपिँदै गएका छन्।
स्थानीय पनि शिक्षित बन्दै गएका छन्। यहाँका स्थानीयहरू घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन। हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो। ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन। बहुप्रतिक्षित ढोरपाटन सिकार आरक्षको ढोकाका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी-ढोरपाटन सडकले बीच भागबाटै चिररे गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ।
यस सडकले त विकासको दैलो नै खोलिदिएको छ। सडक आएपछि गाउँमा धेरै परिवर्तन आएको स्थानीय बताउँछन्। यो सडक बोबाङलगायत सिङ्गो भुजीखोलेवासीका लागि वरदान साबित भएको छ। सडकले हजारौँको जीवन बदलिदिएको छ। गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने स्थानीय अहिले घरघरमा दोकान सञ्चालन भएपछि दङ्ग छन्। जीवनको अधिक समय गाडी नदेखाका, नचढेका वृद्धवृद्धाहरू घरै अगाडि गाडी गुड्दा चकित छन्। स्थानीय ८३ वर्षीया पुतली विकले आफ्नो जीवनकालमा पहिलो पटक २०६९ सालमा गाडी देखेको बताउँछिन्।
'हाम्रो जस्तो दुर्गम गाउँमा गाडी आउला भन्ने त हामीले कल्पनासमेत गरेका थिएनौँ, आए पनि हामी मेरेपछि मात्रै आउला भनेका थियौँ, यति छिट्टै गाउँमा गाडी आयो, हाम घाँस दाउरा गरेर खाने मान्छेको गाउँमा गाडी चल्दा खुसी लाग्छ,' विकले भनिन्, 'पहिला हामीहरूले गाडी आउँदैन होला भनेर कल्पना गरेको कुरा गलत रैछ, हेर्नु त अहिले घरै अगाडि सररर गाडी गड्छन्, मेरो बुढा (श्रीमान्) ले गोरखपुर पुगेर गाडी देखेको कुरा गर्दा पनि रमाइलो लाग्थ्यो।'
विकले पहिले गाउँमा गाडी नआउँदा खाद्यान्न किनमेलका लागि बुटवल, पाल्पा र पछिपछि बुर्तिबाङ पुग्ने गरेको स्मरण गर्दै अहिले गाउँमै दोकान पसलहरू खुलेको बताउँछिन्। अहिलेका नयाँ पुस्ताले पुरानो पेसा छोडेर नयाँ व्यवसायहरू गर्न थालेको उनको भनाइ छ। पहिले पशुपालन र खेतीपाती गरेर परिवार चलाएकामा अहिले व्यापार, व्यवसायसँगै विदेश गरेर कमाउन थालेको विक बताउँछिन्।
'पहिले गाउँमा चामल आउँदैनथ्यो, भात खान दसैँ नै आउनुपर्थ्यो। अहिलेको मुख्य खान्की भात हो। चामल ल्याउन, सहर बजार जानु पर्थ्यो, दुई साता लाग्थ्यो। अहिले त घरघरमा दोकान छन्, चामलको अभाव छैन,' उनले भनिन्, 'गाउँमा पहिलेको जस्तो खेतीपाती र गाईभैँसी पाल्न छोडे, अहिले त पसल खोल्न, सामान बेच्ने, कोही विदेश जाने गर्छन्, दुःख कम छ अहिले त।'
स्थानीय नरबहादुर पुनले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेललगायत चाहिने सामान आएको बताए। उनले त्यस बेलामा आफूहरूले निकै दुःख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताउँछन्।
'आजभन्दा ४० वर्षपहिले ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेर खान्थ्यौँ, अहिलेको जस्तो घरघरमा आउने थिएन, बाटोमा बास बस्दै जानुपर्थ्यो, बास बस्दै आउनुपर्थ्यो धेरै दुःख थियो हजुर ऊ बेला, अहिले त जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यहीँ पाइन्छ,' पुनले भने, 'सुविस्ता (सुविधा) भएको छ अहिले, हाम्रा छोरानातिलाई धेरै दुःख गर्नु पर्दैन, यो सुविस्ता म बुढोले पनि लिन पाएँ, निकै खुसी लागेछ, अझै परिवर्तन भइरहेको छ ।'
उनले पैदल हिँडेर नौ दिनमा बुटवल पुगेको भन्दै बाटोमा खाने खर्च बोकेर जाने गरेको समेत सुनाए। पहिले नौ दिन लगाएर जाने बुटवल अहिले एकै दिनमा पुग्न सकिने पुन बताउँछन्। उनी भन्छन्, 'नुन ल्याउन जाँदा खर्चपर्च बोकेर जानुपर्थ्यो, बाटोमा बास बस्दै जान्थ्यौँ, पानी झरी गर्दा निकै कष्ट हुने गर्थ्यो, अहिले सबैथोक घरमै आउँछ, हामी नौ/नौ दिन लगाएर जाने बटौलीमा अहिले त एकै दिनमा पुगिन्छ, उस्तै परे बिहान गएर बेलुकी खाना खान घरै आइन्छ, हेर्नु त कति परिवर्तन भयो अहिले? अहिले यस्तो विकास देख्दा अचम्म लाग्छ।'
स्थानीय प्रेमबहादुर पुन मगरले मोटरबाटोले यस क्षेत्रको मुहार फेरिदिएको बताए। उनले मोटरबाटो गाउँमा आएपछि धेरैलाई शिक्षित र सभ्य बनाएको भन्दै विकासका अन्य ढोकाहरू पनि खुला गरेको बताए। भर्खर-भर्खर विकासका कामहरूले गति लिन थालेको भन्दै पहिलेको जस्तो यहाँका नागरिकहरू पढ्नबाट वञ्चित र स्वास्थ्य उपचारबाट टाढा हुन नपरेको बताउँछन्।
'आजभन्दा १० वर्षपहिले यो ठाउँ निकै पिछडिएको थियो, धेरै नागरिक अशिक्षित थिए, यहाँ सामाजिक विकृति विसङ्गतिका धेरै घटना हुने गर्थे र बाहिरबाट कोही नयाँ मान्छे आयो भने बस्ने वातावरण पनि थिएन। तर अहिले धेरै परिवर्तन भएको छ', उनी भन्छन्, 'अहिले सबै तिर विकास हुँदैछ, बालबालिकाहरू पनि विद्यालय जान थालेका छन्, बिरामी पर्दा धामी झाँक्री गर्ने प्रचलन त छ तर अहिले सडकले गर्दा सरर बुर्तिबाङ अस्पतालमा पुगिहाल्छन्, उपचारका लागि पनि समस्या छैन।'
उनले सडक सञ्जालले गाउँदेखि ढोरपाटन जोडिएपछि व्यापार व्यवसाय गर्नेहरूसमेत बढिरहेको बताए। उनले पहिले सामान लिन बुर्तिबाङ पुग्ने बाध्यता रहेको भन्दै अहिले त्यो समस्या हटेको बताउँछन्। उनी भन्छन्, 'पहिला त यहाँ पसलहरू पनि खासै थिएन, केही सामान चाहिएर किन्नु परेमा बुर्तिबाङ नै पुग्नुपर्ने बाध्यता थियो, तर अहिले त घरघरमै पसल छन्, सबै सामान गाउँमै किन्न सकिन्छ, पहिला घोडा खच्चडमा र भरिया लगाएर सामान लिने गर्थे, अहिले त्यो प्रचलन पनि हट्यो घोडा खच्चडको प्रयोग पनि कम हुन्छ।'
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले २०६६ सालमा बोबाङ गाउँ सडकले जोडिएको भन्दै त्यसयता बिस्तारै विकास हुँदै आएको बताए। अहिले यस क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेको बताउँछन्। उनले भौतिक पूर्वाधारसँगै स्थानीयको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरूसमेत ल्याएको बताउँछन्।
उपप्रमुख कायत भन्छन्, 'बोबाङ क्षेत्र पहिलेदेखि नै पिछडिएका ठाउँ हो, पहिले राज्यको नजर पुग्न सकेको थिएन, अहिले धेरै परिवर्तन आएको छ, विकासमै सडक मुख्य रहेछ, सडक पुगेपछि स्थानीयको जनचेतना पनि वृद्धि भयो, स्वास्थ्य, शिक्षालगायत विकासका पूर्वाधारले पनि यो ठाउँ जोडिँदै गएको छ, हामीहरूले अब गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ।' रासस