बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा देखियाे उत्साह, यस्ता छन् सन् २०२३ भित्र उच्च बिन्दुकाे रेकर्ड ताेडिन सक्ने आधार

शुक्रबार, पुस १५ २०७९
सेयर बजारमा देखियाे उत्साह, यस्ता छन् सन् २०२३ भित्र उच्च बिन्दुकाे रेकर्ड ताेडिन सक्ने आधार

काठमाडौं- सन् २०२२ को अन्तिम सातामा आएर सेयर बजारमा उभार आएको छ। अब सन् २०२३ को सुरुवातसँगै नयाँ सरकार पनि गठन भइसकेको छ।

नयाँ सरकार आएसँगै दुई दिन उच्च अंकले बढेर एक दिन सामान्य गिरावट देखिएको सेयर बजारमा सन् २०२२ को अन्तिम कारोबारमा पनि हरियाली छाएको छ। बिहीबारको उच्च अंकको वृद्धिसँगै यो साताको चार दिनको कारोबार सुखद देखियो। सरकारी आश्वासनसँगै सेयर बजारमा लगानीकर्ताहरू विश्वस्त भइरहेको विश्लेषणका बीच बजारमा उछाल देखिएको हो।

index.JPG

नयाँ सरकारसँगै अंक र उच्च कारोबार समेत भएकोले बजार बिहीबारसम्म १६२ अंकभन्दा बढी उक्लिसकेको छ। यो बिन्दुसँगै चार महिनापछि परिसूचक दुई हजारको बिन्दुमाथि उक्लिएको छ।

बिहीबार ५६.८८ अंकको वृद्धिसँगै बजार २०२९.०३ बिन्दुमा पुगेको छ। २०८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।  यो साताको पहिलो कारोबारमा सोमबार ५६.८६ अंकको वृद्धि देखिएको बजार मंगलबार ५९.८७ अंकले बढेको थियो। बुधबार भने ११.८१ अंकको गिरावट देखिए पनि बिहीबारको बजार पुनः उच्च अंकले बढेको हो।  

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा उछाल आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको समस्या समाधानका लागि आफूहरूले काम गर्ने बताउँदै आइरहेका छन्।

निजी क्षेत्रको मागप्रति सरकार सकारात्मक हुनुले पनि सेयर बजारमा प्रभाव देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई अहिलेको समस्या अवगत गराउँदै समाधानका उपाय पनि सुझाएका छन्। जसप्रति अर्थमन्त्री गम्भीर देखिएका छन् भने समाधानको आश्वाशन पनि दिएका छन्। जुन अघिल्लो सरकार र अर्थमन्त्रीबाट उनीहरूले पाउन सकेका थिएनन्।  

तीन दिनमा लगानीकर्ताको २ खर्ब सम्पत्ति फर्कियो 

२०७८ असार २९ गते नेप्से २८७१.०४२ बिन्दुमा अडिएको थियो भने बजार पुँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड रूपैयाँ पुगेको थियो।करिब १८ महिनापछि पुस ७ गते बिहीबार १८६७.२१ बिन्दुमा रोकिएको थियो। यो दिन बजारको पुँजीकरण २७ खर्बमा झरेको थियो। यो तथ्यांकले लगानीकर्ताको झण्डै १२ खर्ब गुमेको देखिन्छ। 

सरकारको नेतृत्व फेरिँदै गर्दा सेयर बजारमा उछाल जारी छ। पुस ११ मा बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब पुग्यो। बिहीबार बजार पुँजीकरण २९ खर्ब ३४ अर्ब पुगेको छ। जुन पुस ७ गतेको तुलनमा बजार पुँजीकरण २ खर्बले बढेको छ। यसले नयाँ सरकार गठनसँगै लगानीकर्ताको गुमेको २ खर्ब रुपैयाँ पुँजीबजारमा थपिएको छ। 

२०२३ मा बजार बढ्न सक्ने यस्ता छन् आधार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा गरेको व्यवस्था तेस्रो त्रैमासबाट मात्रै कार्यान्वयनमा जाने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै वित्तीय संस्थाहरूको  स्प्रेड दर परिमार्जन गरेको थियो। 

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर 'क' वर्गका वाणिज्य बैंकहरूको हकमा ४.२ प्रतिशत र 'ख' र 'ग' वर्गका संस्थाको हकमा ४.८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नु पर्नेछ। सो अन्तर २०८० असार महिनाबाट 'क' वर्गका वाणिज्य बैंकहरूको हकमा ४.० प्रतिशत र 'ख' र 'ग' वर्गका संस्थाको हकमा ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नु पर्नेछ। 

हाल औसत ब्याजदर अन्तर 'क' वर्गका वाणिज्य बैंकहरूको हकमा ४.४ प्रतिशत र 'ख' र 'ग' वर्गका संस्थाको हकमा ५ प्रतिशत रहेको छ। बैंकहरूको निक्षेप पनि बढ्दै गएकोले बैंकहरूले सेयर कर्जामा विस्तारै लगानी बढाउने छन्। जसका कारण ब्याजदर पनि माघबाट घट्ने अनुमान गरिएको छ। 

यता नयाँ ब्रोकर लाईसेन्स तथा नयाँ स्टक लाइसेन्स दिने प्रक्रियामा समेत सर्वोच्च अदालतले रिट खारेज गरेकोले सेयर बजार सुधारको संकेतमा लगानीकर्ता उत्साहित हुने देखिन्छ। सेयर बजार ३१९९ सम्म पुगेको बिन्दुबाट ४० प्रतिशत घटिसकेको छ। खासगरी ३० प्रतिशत घटेपछि पुनः बढ्न थाल्ने अनुमान विश्लेषकहरूले गर्दछन्।


प्रकाशित : शुक्रबार, पुस १५ २०७९०२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend