बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साताको अन्तिम कारोबारमा पनि हरियाली, सेयर बजारमा देखिएको हो विश्वासको आधार?

बिहीबार , पुस १४ २०७९
साताको अन्तिम कारोबारमा पनि हरियाली, सेयर बजारमा देखिएको हो विश्वासको आधार?

काठमाडौं- नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेर एक दिन सामान्य गिरावट देखिएको सेयर बजारमा साताको अन्तिम कारोबारमा पनि हरियाली छाएको छ। बिहीबारको उच्च अंकको वृद्धिसँगै यो साताको चार दिनको कारोबार सुखद देखियो।

सरकारी आश्वासनसँगै सेयर बजारमा लगानीकर्ताहरू विश्वस्त भइरहेको विश्लेषणका बीच बजारमा उछाल देखिएको छ।  

बिहीबार ५६.८८ अंकको वृद्धिसँगै बजार २०२९.०३ बिन्दुमा पुगेको छ। २०८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

यो साताको पहिलो कारोबारमा सोमबार ५६.८६ अंकको वृद्धि देखिएको बजार मंगलबार ५९.८७ अंकले बढेको थियो। बुधबार भने ११.८१ अंकको गिरावट देखिए पनि बिहीबारको बजार पुन: उच्च अंकले बढेको हो।  

अहिलेको बजारको अवस्था मौसमी हो या बजारले सही बाटो समात्न लागेको हो भन्ने यकिन गर्न समय लाग्ने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने उनीहरू बताउँछन्। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा यो साता उछाल देखिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको समस्या समाधानका लागि आफूहरूले काम गर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : बिहीबार , पुस १४ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend