बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पुँजी बजारमा ध्यान दिने सरकारको तयारीसँगै लगातार उछाल, विश्वासमा देखिए लगानीकर्ता

मंगलबार, पुस १२ २०७९
पुँजी बजारमा ध्यान दिने सरकारको तयारीसँगै लगातार उछाल, विश्वासमा देखिए लगानीकर्ता

काठमाडौं- पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा लगातार उछाल देखिएको छ। सोमबार ५६.८६ अंकको वृद्धि देखिएको बजारमा मंगलबार पनि उत्साहपूर्ण वृद्धि देखिएको हो।

मंगलबार ५९.८७ अंकले बढेर बजार १९८३.९५ बिन्दुमा पुगेको छ। ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको बजारमा २०२ कम्पनीको सेयर मूल्य बढेको छ। लामो समयपछि कारोबार रकममा यस्तो सुधार देखिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने बताएका छन्। वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने मन्त्रीपरिषद्‍को पहिलो बैठकले निर्णय गरेको हो।

सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पनि वर्तमान आर्थिक समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढ्ने बताएका थिए। उनले पुँजीगत खर्च बढाउने, मितव्ययीतामा जोड दिने तथा वित्तीय क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिने बताएका थिए। 

नयाँ सरकार गठन प्रक्रिया चलिरहँदा सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका थिए। आइतबार एमालेसहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै सोमबारको सेयर कारोबारमा सुधार देखियो। नयाँ सरकारमा एमालेका विष्णु पौडेल अर्थमन्त्री बनेसँगै उनीप्रति लगानीकर्ताहरूको विश्वास देखिन्छ। पौडेल उनै हुन् जसको यसअघिको कार्यकालमा पनि सेयर बजारमा व्यापक वृद्धि देखिएको थियो।

अहिलेको वृद्धि मौसमी हो या बजारले सही बाटो समातेको हो भन्ने यकिन गर्न समय लाग्ने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने उनीहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, पुस १२ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend