बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नयाँ सरकारको स्वागतमा सेयर बजार, देखियो उत्साहपूर्ण हरियाली

सोमबार, पुस ११ २०७९
नयाँ सरकारको स्वागतमा सेयर बजार, देखियो उत्साहपूर्ण हरियाली

काठमाडौं- नयाँ गठबन्‍धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिनु एक घण्टाअघि साताको पहिलो सेयर कारोबारमा उत्साहपूर्ण हरियाली देखिएको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहेको बजारमा देखिएको वृद्धिले बजारमा आश बढेको विश्लेषकहरू बताउँछन्। 

सोमबार ५६.८६ अंकको वृद्धिसहित बजार १९२४.०७ बिन्दुमा पुगेको छ। २०३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। गएको केही सातायता कारोबार रकममा पनि राम्रो सुधार देखिएको हो। 

नयाँ सरकार गठन प्रक्रिया चलिरहँदा सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका थिए। आइतबार एमालेसहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै सोमबारको सेयर कारोबारमा सुधार देखियो। नयाँ सरकारमा एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा रहेको छ। पौडेल उनै हुन् जसको यसअघिको कार्यकालमा पनि सेयर बजारमा व्यापक वृद्धि देखिएको थियो।

नयाँ सरकार गठनपछि अब बजारले गति लिने विश्वासमा लगानीकर्ताहरू रहेका छन्। अहिले देखिएको वृद्धि उतारचढावपूर्ण अवस्थाबीच देखिएको उछाल हो या बजारले गति समात्ने लय देखिएको हो भन्ने यकिन गर्न भने केही साता पर्खनुपर्ने उनीहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदम नियाल्नेछन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। उतारचढावमा रहँदै घटिरहेको सेयर बजारले नयाँ सरकारको स्वागतसँगै सकारात्मक संकेत गरेको हो। विश्लेषकहरूका अनुसार अब नीतिगत संरक्षण र सेयर बजारमैत्री सुधारको पर्खाइमा लगानीकर्ता रहेका छन्। 


प्रकाशित : सोमबार, पुस ११ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend