बागलुङ- बागलुङमा पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ। आन्तरिक पर्यटक चाडवाड तथा बिदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र घरबासमा पुगेर अर्गानिक परिकारको स्वाद लिँदै रमाउने परिपाटी बढिरहेको छ। बागलुङमा रहेका २८ सामुदायिक घरबासमध्ये एक दर्जन घरबास पर्यटकका कारण चर्चित बनेका छन्। घरबास पर्यटन फस्टाउन थालेको बागलुङमा कृषि पर्यटनको अवधारणासमेत भित्रिएको छ।
जैमिनी नगरपालिका-१० राङ्खानीका केदार आचार्यले कृषि पर्यटकलाई लक्षित गरी ‘ढोरपाटन पारिवारिक फार्मस्टे’ सञ्चालनमा ल्याएका छन्। जैमिनीको चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको हाँडीकोटको काखमा फार्मस्टे सञ्चालनमा ल्याइएको हो।
२०७३ सालबाट कृषि खेतीमा नयाँपन दिँदै नयाँ-नयाँ फलफूल तथा जडीबुटीको अवधारण ल्याउदै आएका आचार्य जैविक नमुना कृषि फार्मका सञ्चालक केदार आचार्यले कृषि विषयको अध्ययन तथा अवलोकनसहित फार्ममै सुविधास सम्पन्न ढङ्गले अर्गानिक खानाको सवादसहित बस्न मिल्ने व्यवस्थापनसहित ‘फार्मस्टे’को अवधारण भित्र्याएका हुन्।
इको घरबासको प्राविधिक तथा समन्वयमा बागलुङमा पहिलो पटक फार्मस्टे सञ्चालनमा ल्याएको फर्मका सञ्चालक केदार आचार्यले बताए।
३८ वर्षीय आचार्यले मलेसियामा तीन वर्ष काम गर्दा देखिनै कृषिमा सम्भावना देखेर नेपाल फर्किएका थिए।
विदेशी भोलेन्टियर र कृषि तथा कृषि विज्ञान अध्ययन गरिरहेका विद्यार्थी तथा पर्यटकलाई लक्षित गरी ढोरपाटन पारिवारिक फार्मस्टे सञ्चालनमा ल्याएको आचार्यको भनाइ छ।
'अध्ययन तथा अनुसन्धानका लागि पाँच रोपनी जग्गामा फलफुल र जडीबुटी बिरुवा उत्पादन गरिरहेको छु, सोही स्थानमा गड्यौला खेती समेत भइरहेको छ, अन्य १५ रोपनी जग्गामा फलफूल, तरकारी र जडीबुटीको व्यावसायिक खेती गरिरहेको छु' उनले भने 'म नेपालका धेरै कृषि फर्म पुगे, आफ्नो फर्म अवलोकन गर्नसमेत धेरै कृषि विज्ञ, पर्यटक तथा सरकारी निकायका मानिस आए, उनीहरुलाई खान बस्नको सुविधा भएन, मेरो लक्ष्य एग्रो रिसोर्ट हो त्यसैको सानो रुप अहिले फार्मस्टे सञ्चालमान ल्याएको छु।' फार्मस्टेमा अहिले एक रातमा छ जना पर्यटकको क्षमता रहेकामा त्यसलाई थपेर १० पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
फार्मस्टेबाट पैदलमार्फत हाँडीकोट पुग्न डेढघण्टा लाग्छ। पछिल्लो समय हाँडीकोट पुग्ने पर्यटकमा उल्लेख्य वृद्धिसमेत भइरहेकोले फार्मस्टेले सघाउ पुग्ने बताइएको छ। कृषि पेसामा मलेसिया गएपछि आकर्षित भएको बताउँदै आचार्यले कृषि पर्यटनको सम्भावना राम्रो देखेको बताए। उनले बस्नको राम्रो व्यवस्था भए पनि पछिल्लो समय अर्गानिक खानाको व्यवस्था नदेखिएकाले आफ्नै फर्ममा मौसम अनुसारको जे उत्पादन हुन्छ त्यही पाहुनालाई खुवाउने गरी फार्मस्टे सञ्चालनमा ल्याएको बताए।
फार्मस्टेमा आउने पर्यटकलाई प्याकेजमै कार्यक्रम ल्याउने र जैमिनीको हाँडीकोट, माइकोस्थान र ढुङ्गाखानीसहित विभिन्न दृश्यावलोकनसमेत गराउने लक्ष्य आफूसँग रहेको आचार्यको भनाइ छ। आचार्यको पाँच रोपनी जग्गामा गड््यौला खेती, माहुरी पालन, फलफूलका बिरुवा नर्सरी र जडीबुटीका बिरुवा उत्पादन गर्ने नर्सरी रहेको छ भने अन्य १५ रोपनी जग्गामा अलैँची, फलफूल बगैँचा, च्याउ, जडीबुटी खेती रहेको छ। फलफूलमा सुन्तला, कागती, एबोकाडो, किबी, उखु, अम्बा, ओखर, जापानिज नास्पती, पैँयू प्रजातीको टेरी र अजिर लगायतको उत्पादन भइरहेको छ।
यस्तै जडीबुटी खेतीमा अस्वगन्धा, रोजमेरी, सतुवा, टिमुर, गुर्जो र बिहारी लहरो आदी खेती भइरहेको छ।
पाहुनाका लागि लोकल कुखुरा, हाँस र टर्कीसमेत पालिएको छ। 'नयाँ अवधारणा हो, मेरो कृषि फर्म जैविक लक्षित छ, मेरो लक्ष्य भनेको गाउँलाईनै कृषि पर्यटनको हब बनाउने हो, अहिलेसम्म सफल भएको छु, एग्रो टुरिजमको अवधारणा नेपालमा सफल भइसकेको छ, विषादीमुक्त फलफूल, तरकारी र अन्न उत्पादन गरेर पर्यटकलाई आर्कर्षित गर्ने हो' आचार्यले भने 'अहिले कृषि विज्ञ तथा आन्तरिक पर्यटकहरु फर्म अवलोकन तथा अध्ययन अनुसन्धानका लागि आएका छन्, यो एउटा ठूलो अवधारणा हो लामो समय लाग्छ यस्ले पूर्णता पाउन।'
व्यवसायी आचार्यले जैविक फर्म तथा ढोरपाटन पारिवारिक फार्मस्टेका लागि ५५ लाख रुपैयाँभन्दा बढी रकम लगानी गरिसकेका छन्। उनलाई सरकारी निकाएकोसमेत राम्रो सहयोग रहेको छ। संघ, प्रदेश र स्थानीय निकायबाट गरी २७ लाख रुपैयाँ अनुदानबापत फर्मले प्राप्त गरिसकेको छ।
उनले आफ्नो जैविक फर्मलाई दुई भागमा विभाजन गरेका छन्। पहिलो परीक्षण केन्द्र र दोस्रो व्यवसायिक उत्पादन। उनले आफ्नो फर्ममा परिवारका अन्य सदस्यको राम्रो सहयोग रहेकोभन्दै मौसमअनुसार ज्यालादारीमा कामदार खटाउने गरिएको जानकारी दिए। आचार्यले जैविक कृषिका २० विधामा अध्ययन, अनुसन्धानसँगै प्रयोग र उतपादन गर्दै आएका छन्।
उनले फुर्सदको समयमा नेपालका विभिन्न कृषि फर्मकोसमेत अध्ययन गर्दै आफ्नो कृषिसम्बन्धी ज्ञानलाई बढाउँदै आएका छन्। आचार्यले स्थापना गरेको ढोरपाटन पारिवारिक फार्मस्टेले विद्यार्थी, प्राध्यापक, सरकारी अधिकारी, अन्वेषक, इन्टर्न, स्वयंसेवक आदिलाई खाना, बस्न र सिकाइ अभ्यासको काम गर्ने छ भने फर्म, अध्ययन तथा अनुसन्धान गरी त्यहाँको समुदायसँग राम्रो सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउनेछ।
उनले रोजगारीको सिलसिलामा मलेसिया गएका युवाको कथा, विदेशीबाट आफ्नै देशको मूल्य थाहा पाएर आफ्नै जन्मभूमि ‘फार्मस्टे’ सञ्चालनमा ल्याएका हुन्। रासस