शनिबार, वैशाख १५ गते २०८१    
images
images

मालदार कर भन्सारको प्रमुखमा अर्थमन्त्रीको आँखा, एकै वर्षमा फेरिए दर्जन बढी उपसचिव

images
images
images
मालदार कर भन्सारको प्रमुखमा अर्थमन्त्रीको आँखा, एकै वर्षमा फेरिए दर्जन बढी उपसचिव

कर र भन्सारका प्रमुखहरू बढुवा भएको र कारबाहीमा परेको अवस्थाबाहेक दुई वर्षसम्म कार्यालय प्रमुख परिवर्तन नगर्ने स्थापित मान्यता विपरित एकै वर्षमा सरुवा गरिएको छ। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी स्थापित मान्यता विपरित एकै वर्षमा महत्वपूर्ण कर र भन्सारका प्रमुखहरूको सरुवा गरेको छ। कर र भन्सारका प्रमुखहरू बढुवा भएको र कारबाहीमा परेको अवस्थाबाहेक दुई वर्षसम्म कार्यालय प्रमुख परिवर्तन नगर्ने स्थापित मान्यता विपरित एकै वर्षमा सरुवा गरिएको छ। 

images
images
images

एक वर्षअघि अर्थ मन्त्रालयाबाट आन्तरिक राजस्व कार्यालय बागलुङ पुगेका उपसचिव जनकराज शर्मा गौतमको सरुवा अर्थ मन्त्रालयमा नै भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकको तयारीका लागि उनलाई मन्त्रालयमा काजमा ल्याएका थिए। उनलाई अर्थ मन्त्रालयभित्र केन्द्रीय बजेटको प्रमुख बनाउने तयारी गरिएको स्रोतको दावी छ। 

images

शर्माको ठाँउमा उपसचिव शालिकराम आचार्य पुगेका छन्। आचार्य पनि शर्मा जस्तै एक वर्षअघि आन्तरिक राजस्व विभागबाट आन्तरिक राजस्व कार्यालय हेटौँडा पुगेका थिए। 'कम्तिमा दुई वर्षसम्म उपसचिवलाई एउटै कार्यालयमा राख्ने स्थापित मान्यता विपरित अहिले सरुवा भएको छ,' मन्त्रालयका एक उपसचिवले भने, 'अर्थ मन्त्रालयमा जे प्रणाली स्थापित थियो, त्यसलाई ध्वस्त बनाइँदैछ।' 

images

अर्थमन्त्री शर्माले कर भन्सारमा विभिन्न तत्वले जरा गाडेकाले त्यसलाई आफूले ध्वस्त बनाउने बताउँदै आएका थिए। त्यसैअनुसार उनले मालदार मानिएका अड्डामा आफूनिकट कर्मचारी पठाएका छन्। यसपटकको सरुवामा केही कर्मचारीलाई सोधिए पनि बाँकीलाई आफूखुसी चलाइएको छ। 'कहाँ कसको पर्फर्मेन्स कस्तो छ भन्ने नहेरी मनलाग्दी गरियो,' एक उपसचिवले भने। 

images
images

पछिल्लो समय आकर्षक मानिएको भैरहवा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वसका प्रमुख पनि एकै वर्षमा फेरिएका छन्। भैरहवामा गत वर्ष गएका मणिराम पोखरेलको सट्टा भन्सार विभागबाट ज्ञानेन्द्रराज ढकाललाई पठाइएको छ भने यसैगरी गत वर्ष नै भन्सार विभागबाट आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर गएका राजेन्द्र चुडाललाई भन्सार जाँचपास परीक्षण कार्यालय पठाएर उनको ठाउँमा आन्तरिक राजस्व विभागबाट जगदीश उपाध्यायलाई पठाइएको छ। कर्णाली प्रदेशका कर्मचारीलाई अधिक च्याप्ने गरेका अर्थमन्त्री शर्माले झापाका चुडाललाई हटाएर दैलेखका उपाध्ययलाई पठाउने निर्णय गरेका हुन्। 

ठूला करदाता कार्यालयमा हुँदा अख्तियारले डामेका उपसचिव टीकाराम भुसाललाई फेरि ठूला करदाता कार्यालय नै पठाइएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भुसाललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता व्यवस्थापन महाशाखामा थन्क्याएका थिए। 

राजस्व अनुसन्धान विभागबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै आन्तरिक राजस्व कार्यालय टंगालको प्रमुख भएका कर्ण तिमिल्सिना पनि एक वर्षमै अर्थ मन्त्रालय फर्कन पाउने भाग्यमानी उपसचिव ठहरिएका छन्। जुम्लाका उनलाई टंगाल गएको एक वर्षमै मन्त्रालय ल्याइएको छ। 

आन्तरिक राजस्व कार्यालय ठमेलबाट अर्थ मन्त्रालय आएको एक वर्षमै उपसचिव टंक लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय पठाइएको छ। एक वर्षअघि रसुवा भन्सार गएका रामप्रसाद रेग्मीलाई तानेर उनको ठाउँमा रामप्रसाद मैनालीलाई पठाइएको छ। मैनाली लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीका भाइ हुन्। 

एक वर्षअघि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय महाराजगञ्ज पठाइएका तीर्थराज चिलुवाललाई त्यहाँबाट हटाइएको छ। उनको सरुवा कहाँ भएको विवरण सार्वजनिक भएको छैन। उनको ठाउँमा आन्तरिक राजस्व विभागबाट महाराज कोइरालालाई पठाइएको छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयले गरेको सरुवाको सेटिङ आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले मिलाएका थिए। उनले मन्त्रीलाई कसलाई कहाँ पठाउँदा उपयुक्त हुन्छ भन्ने सल्लाह दिएका थिए। अर्थमन्त्री र अर्थसचिव मिलेर सूचीलाई अन्तिम रूप दिइएको थियो। त्यसमा प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, उपसचिव अर्जुन भण्डारी र पाँच वर्ष अर्थ मन्त्रालय बसेर बाहिरिएका सहसचिव बाबुराम भण्डारीले साथ दिएका थिए।

images

प्रकाशित : मंगलबार, असोज २६ २०७८०२:४५

प्रतिक्रिया दिनुहोस