काठमाडौं- विद्वानहरूले सयौँ वर्षदेखि सुल्झाउन नसकेको संस्कृत व्याकरणको एउटा नियमलाई क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधिका एक विद्यार्थीले सुल्झाएका छन्। भाषाविज्ञानका पिता महर्षि पाणिनीको व्याकरण 'अष्टाध्यायी' मा रहेको एउटा सूत्रको अर्थ २७ वर्षका ऋषि राजपोपतले पत्ता लगाएका हुन्।
पाणिनीको व्याकरणलाई पछ्याउने हो भने, त्यसमा धातु र प्रत्ययमा आधारित भएर शब्द र वाक्यको रचना गरिने उल्लेख छ। कहिलेकाहिँ उस्तै दुई वा दुईभन्दा बढी नियमहरू एकैपटक प्रयोग हुँदा द्विविधा उत्पन्न हुने गरेको थियो।
भारत मुम्बईका राजपोपतको खोजका कारण अब कुनै पनि संस्कृत शब्द 'व्युत्पन्न' गर्न सम्भव हुनेछ। 'मन्त्र' र 'गुरु'सहित लाखौँ व्याकरणीय हिसाबले सही शब्द बनाउन पाणिनीको भाषाविज्ञान काम लाग्नेछ। जसका कारण यसलाई इतिहासकै सबैभन्दा ठूलोमध्येको बौद्धिक उपलब्धिका रुपमा अर्थ्याइएको छ।
पाणिनीको एउटा सूत्रको अर्थ यसअघि भाषाविद्हरूले 'उस्तै सामर्थ्य भएका दुई नियमहरू बाझिएको अवस्थामा 'अष्टाध्यायी'मा क्रमिक रुपमा पछाडि उल्लेखित रहेको सूत्र कार्यान्वयन हुने' जनाएका थिए। तर त्यसले पूर्णता नदिँदा गल्तिहरू भइरहेका थिए। यसैले राजपोपतले परम्परागत परिभाषा अस्वीकार गर्दै नयाँ अर्थ खुलाए।
राजपोपतको व्याख्याअनुसार उस्तै सामर्थ्य भएका दुई नियमहरू बाझिएको अवस्थामा शब्दको दायाँ र बायाँतर्फको नियम लागु हुन्छ र त्यस्तो अवस्थामा पाणिनीले नै दायाँतर्फको नियम रोज्नुपर्ने उल्लेख गरेका छन्।
संस्कृत विद्वानहरूका अनुसार २५ सय वर्षअघिदेखि सुल्झन नसकेको राजपोपतको खोज संस्कृत व्याकरणका लागिमात्रै नभएर विश्वभाषा जगतका लागि ठूलो उपलब्धि हो। जसले पाणिनीले बुझाउन चाहेको भाषाविज्ञानको सही प्रयोग सम्भव हुनेछ। जसका कारण अब पाणिनीको संस्कृत व्याकरण पहिलोपटक कम्प्युटरकृत गर्नसमेत सकिनेछ।
पाणिनीले ईसापूर्व ५०० मा लेखेको मानिने अष्टाध्यायीमा विस्तृत आठ अध्याय र चारहजार सूत्रहरू छन्। जसले भाषाविज्ञानमा एउटा मेसिनले जसरी काम गर्नेछ। एकपछि अर्को सही प्रक्रियामार्फत व्याकरणीय रुपमा सही शब्द र वाक्यको निर्माणका लागि शब्दको आधार र प्रत्ययलाई त्यसले ख्याल गर्नेछ।
क्याम्ब्रिज विश्वविद्यालयका अनुसार राजपोपतको सन् २०२२ डिसेम्बर १५ मा प्रकाशित शोध प्रबन्धसम्म पुग्नुअघि अरू धेरै विद्वानहरूले अन्य सयौँ प्रयासहरू पनि गरेका थिए। राजपोपत पनि सानो प्रयासले यो खोजमा सफल भएका होइनन्।
राजपोपतले खोजका दौरान असफलता पाइरहँदा उनको शोध जाँच गर्न पर्यवेक्षक रहेका प्राध्यापक भिन्सेन्जो भर्जानीले केही सुझावहरू दिएका थिए। उनले भनेका थिए, 'यदि समाधान जटिल देखिइरहेको छ भने तिमि गलत बाटोमा छौ।'
'त्यसको छ महिनापछि म अब केही नहोला भन्नेमा पुगिसकेको थिएँ। सबै खोज र अध्ययन झण्डै छाड्ने अवस्थामा पुगेको थिएँ। हुन पनि मैले केही पत्तो पाइरहेको थिइनँ। किताब बन्द गरेर पौडी, साइक्लिङ र ध्यानमा केन्द्रित हुन थालेको थिएँ', राजपोपतलाई उल्लेख गर्दै क्याब्रिजले लेखेको छ, 'त्यसपछि शान्त मुद्रामा फेरि अध्ययनमा फर्किएँ र त्यसको केही समयमै नयाँ बाटो भेट्टाएँ।'
विश्वकै प्राचिनतम भाषा संस्कृतको प्रयोग पछिल्लो समय कम हुँदै गइरहेको छ। भारोपेली भाषा परिवारमा देवनागरी लिपीको प्रयोग गरिने संस्कृत शास्त्रीय भाषासमेत हो। विश्वकै प्राचीन ग्रन्थ ऋग्वेदसमेत संस्कृतमै रचना गरिएको हो। जहाँ सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनीको अष्टाध्यायी नै हो। जुन अष्टाध्यायीमार्फत नै काव्य संस्कृतको आरम्भ भएको मानिन्छ।
यस्तो महत्वपूर्ण संस्कृत भाषामा सुस्पष्ट व्याकरणलाई अझ बलियो र सर्वव्यापी बनाउन राजपोपतको नयाँ खोजले सहयोग गर्ने विद्वानहरू बताउँछन्।