बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

न्यून उत्पादन हुने काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २९ २०७९
न्यून उत्पादन हुने काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा 

उत्पादन थोरै हुने जिल्लामा कृषि कर्जा अत्याधिक धेरै प्रवाह भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा बागमती प्रदेशभरमा ऋण प्रवाहको असमान चित्र देखिन्छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले कृषि उत्पादन बढाउनका लागि भन्दै कूल कर्जा प्रवाहमा कृषि क्षेत्रमा ऋण प्रवाह गर्नैपर्ने अनिवार्य अनिवार्य अंश निर्धारण गरिदिएको छ। राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाले कृषि लगायतका क्षेत्रमा प्रवाह गर्ने कर्जा बढाइरहेका पनि छन्। तर यसरी प्रवाह भएको कर्जाको प्रवाह भने असमान देखिएको छ। 

उत्पादन थोरै हुने जिल्लामा कृषि कर्जा अत्याधिक धेरै प्रवाह भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा बागमती प्रदेशभरमा ऋण प्रवाहको असमान चित्र देखिन्छ। 

आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार उत्पादनको सवालमा पुछारमा रहेको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा प्रवाह भएको पाइएको छ। अध्ययन अनुसार बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कूल १ खर्ब ८ अर्ब ४१ करोड १० लाख कर्जा प्रवाह गरेका छन्। यसमध्ये सबैभन्दा धेरै कूल कर्जाको ४१ प्रतिशत अर्थात् ४५ अर्ब ४७ करोड काठमाडौंमा प्रवाह भएको छ। 

जबकी काठमाडौंमा बाली तथा पशुपंक्षी उत्पादन भने प्रदेशका जिल्लामा सबैभन्दा न्यूनमा पर्छ। अध्ययन प्रतिवेदन अनुसार सबैभन्दा धेरै खाद्य बालीको उत्पादन काभ्रेपलाञ्चोकमा १६ प्रतिशत हुन्छ। यसमा काठमाडौंमा ४ प्रतिशत छ। त्यस्तै तरकारी उत्पादन प्रदेशमै सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमै २३ प्रतिशत छ भने काठमाडौंमा जम्मा ६ प्रतिशत छ। फलफूल सबैभन्दा धेरै सिन्धुलीमा २६ प्रतिशत छ भने काठमाडौंमा जम्मा २ प्रतिशत छ। 

कृषि कर्जा जाने अर्को उत्पादन क्षेत्र भने पशुपंक्षी पालन हो। यसमा काठमाडौंको उत्पादन सबैजिल्लामा न्यून हुनेमै पर्छ। तर कर्जा प्रवाहमा भने काठमाडौं अग्रस्थानमा रहेको छ। कृषिका लागि भन्दै कर्जा लिएर अन्यत्रै परिचालन हुँदा राष्ट्रिय उत्पादनमा कर्जा विस्तारको प्रभाव देखिएको छैन। 

बागमतीमा कुन क्षेत्रको अवस्था कस्तो? 

बागमती प्रदेशमा गएको आर्थिक वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्र १.९ प्रतिशतले बढेपनि उत्पादन २.२ प्रतिशतले घटेको छ।गहुँ, कोदो, जौ र फापर उत्पादन बढेपनि धान  र मकैको उत्पादन घटेको छ। 

प्रदेशमा तरकारी, दूध र  मासु उत्पादन बढेको थियो भने अण्डा उत्पादन घटेको थियो। 

गएको वर्ष बागमतीमा उद्योगको क्षमता उपयोगमा सुधार भएको छ। अघिल्लो वर्षको तुलनामा केही सुधार भएकर ४७.४ प्रतिशत क्षमता उपयोग भएको छ। यसमा चाउचाउ उद्योगको सबैभन्दा धेरै क्षमता उपयोग भएको थियो भने औषधिको सबैभन्दा न्यून रहेको छ। 

सेवा क्षेत्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरण भएसँगै सुधार भएको छ। होटलको अकुपेन्सीमा समाधान्य सुधार भएको र बढ्ने क्रममा रहेको अध्ययनले देखाएको छ। 

गएको वर्ष बागमतीमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या २१.६ प्रतिशतले प्रतिशतले बढ्दा राजस्व ३.३ प्रतिशतले घटेको थियो। 

प्रादेशिक तुलनामा बागमतीको दबदबा 

सात प्रदेशमध्ये हरेक आर्थिक सूचकमा बागमतीको दबदबा रहेको छ। राष्ट्र बैंकको अध्ययन अनुसार कृषि बाहेक सबै सूचकमा एक नम्बर रहेको छ। 

राजधानीसमेत रहेको बागमतीको सबैभन्दा ठूलो कूल गार्हस्थ उत्पादन रहेको छ। राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा बागमतीकै ३६ प्रतिशत हिस्सा रहेको छ। बागमती पछि दोस्रो स्थानमा रहेको प्रदेश १ को जम्मा १५.७ प्रतिशत रहेको छ। 

कृषि उत्पादन भने बागमती तेस्रो स्थानमा रहेको छ। सबैभन्दा धेरै प्रदेश १ मा २१ प्रतिशत कृषि उत्पादन  छ भने दोस्रोमा गण्डकी प्रदेशमा १७.३ प्रतिशत रहेको छ। बागती प्रदेशको १७.१ प्रतिशत रहेको छ। 

सेवा क्षेत्रमा बागतीको हिस्सा ४५ प्रतिशत छ। त्यस्तै उद्योगमा पनि बागमतीकै ३१ प्रतिशत रहेको छ। गएको वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर पनि बागमतीमै रहेको छ। गत वर्ष बागमतीमा ६.७ प्रतिशतले अर्थतन्त्र विस्तार भएको थियो। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend