बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार दोस्रो महिना शोधनान्तर बचतमा, चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिट्यान्स 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २९ २०७९
लगातार दोस्रो महिना शोधनान्तर बचतमा, चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिट्यान्स 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 

काठमाडौं- चालु आर्थिक वर्षको चौथो महिनामा पुग्दा अर्थतन्त्रको बाह्य अवस्थामा केही सुधार देखिएको छ। 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बाह्य सूचकमा केही सुधार देखिएको छ। गत वर्षको सुरुदेखि नै घाटामा रहेको शोधनान्तर अवस्था लगतार दोस्रो महिना बचतमा रहेको छ। पहिलो पटक असोजमा १२ अर्बले  बचतमा गएको  शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब ३ करोडले बचतमा गएको छ। गत वर्षको अवधिमा १ खर्ब ५० अर्बले घटामा थियो। 

रेमिट्यान्समा निरन्तरको वृद्धि तथा आयात मत्थर हुँदा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चार महिनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २०.४ प्रतिशतले बढेको छ। चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ७.३ प्रतिशतले घटेको थियो। 

कात्तिकमा आएर विदेशी मुद्राको सञ्चिति पनि थपिएको छ। असोजको तुलनामा असोजमा १५ करोड अमेरिकी डलर थपिएर कुल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ। 

आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

कात्त महिनामा चालु खाता घाटा ३५ अर्ब ४० करोड पुगेको छ। असोजको तुलनामा १ अर्बले बढी हो।  अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा १ खर्ब ८६ अर्ब पुगेको थियो।

कात्तिकमा मूल्यवृद्धि ८.०८ प्रतिशत कायम भएको छ। वार्षिक बिन्दुगत आधारमा भदौमा मूल्यवृद्धि उच्च बिन्दु अर्थात् ८.६४ प्रतिशत पुगेको थियो। असोजमा केही मत्थर भएर  ८.५० प्रतिशतमा सीमित भएको थियो भने कात्तिकमा अझै घटेको छ। 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend