शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

भोजकुमारीको नेतृत्वमा चारतारे होटलको ‘किचन’

images
बिजनेस न्युज
images
images
भोजकुमारीको नेतृत्वमा चारतारे होटलको ‘किचन’
images
images

काठमाडौं- नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफको रूपमा नेतृत्व गरेका छिन्। सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौंको किचनको नेतृत्व सम्हालेकी हुन्। उनी रमदाको कन्टिनेन्टल सेफ हुन्।

images
images
images

विसं २०४३ मा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी शाहले स्कूल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कूलबाट पूरा गरिन्। आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ पेशामा आबद्ध भइन्।

images

गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कूल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि यो पेशा सुरु गरेकी हुन्।

images

'मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो', उनले भनिन्। आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ।

images
images

शाहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफसम्बन्धी इन्टर्नसीप गरेकी हुन्। इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ। 

सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफको रूपमा नै काम गरेकी थिइन्। 'अधिकांश तारे होटलका किचनमा पुरुष सेफमात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ हुँ भन्दा गर्वको अनुभूति हुन्छ', उनले भनिन्।

कोरोनाको समयसँगै काठमाडौँ महानगरपालिका–१६ ठमेलमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन्। नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन्।

होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछन्। 'एउटा रेष्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ', उनी भन्छन्।

नेपाली सेफहरुको छाता संस्था सेफ एशोसियशन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ आबद्ध छन्। विसं २०५३ मा स्थापना भएको एशोसियशनले नेपाली सेफको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ।

एशोसियशनका अध्यक्ष श्यामबहादुर लामा सेफमा आबद्ध एक हजार पाँच सय सेफमध्ये जम्मा १५ जनामात्र महिला सेफ आबद्ध भएको बताउँछन्। महिला सेफ एशोसियशनमा आबद्ध कुल सेफ सङ्ख्याको एक प्रतिशतमात्र हो।

'एशोशियसनमा आबद्ध महिला सेफ नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ अहिलेसम्म कोही महिला सेफ भएका छैनन्', उनी भन्छन्।

ग्लोबल नेप्लीज सेफ फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफका लागि गर्वको कुरा भएको बताउँछन्। आगामी दिनमा महिलालाई सेफमा अगाडि बढाउन सेफसम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ।

होटल एशोसियशन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन्। 'नेपाली होटलमा विदेशी महिला सेफले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ बनेको पाइँदैन', उनी भन्छन्। रासस

images

प्रकाशित : बुधबार, मंसिर २८ २०७९१२:४०
प्रतिक्रिया दिनुहोस