शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एकदिनको वृद्धिपछि फेरि थामियो सेयर बजार, ७७ करोडको मात्र कारोबार

मंगलबार, मंसिर २७ २०७९
एकदिनको वृद्धिपछि फेरि थामियो सेयर बजार, ७७ करोडको मात्र कारोबार

काठमाडौं- गतसातादेखि निरन्तर ओरालो लागेर सोमबार वृद्धि देखिएको सेयर बजार मंगलबार पुन: उही बिन्दु आसपास थामिएको छ।चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि उतारचढावमा नै रहेको हो।

मंगलबार २.५७ अंकले घटेर बजार १८९९.७० बिन्दुमा झरेको छ। ७७ करोड ७० लाख रुपैयाँको मात्र कारोबार हुँदा ९० कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। 

साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको थियो। सोमबार १६.९७ अंकले बढेर बजार १९०२.२८ बिन्दुमा पुगेको बजारमा मंगलबार उही वृद्धि कायम रहन सकेन। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend