शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अर्थतन्त्र संकटमा होइन सुधारको बाटोमा, तर खराब कुरामात्र बाहिर आयो : गभर्नर 

सोमबार, मंसिर २६ २०७९
अर्थतन्त्र संकटमा होइन सुधारको बाटोमा, तर खराब कुरामात्र बाहिर आयो : गभर्नर 

संकटको समयमा पनि वित्तीय चक्रलाई राम्रोसँग सञ्चालन गरेबाट नै नेपाली बैंकिङ क्षेत्र अब्बल रहेको पुष्टि भएको उनको भनाइ छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको वित्तीय समस्या सुधारको बाटोमा रहेको बताएका छन्। बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले धेरै सूचक सुधारको लयमा रहेको बताए। 

संसारभर अर्थतन्त्रमा लगभग उस्तै समस्या भएको र समस्या समाधानका लागि गरिएको नियमनको प्रकृति पनि उस्तै रहेको उनको भनाइ छ। यद्यपि नेपालको अवस्था संसारका अन्य मुलुकको जस्तो खराब स्थितिमा नपुगेको उनले बताए। 

'अहिलेको समयमै चुनौतिपूर्ण छ।  नेपालमात्र होइन संसारभरि नै समस्या देखिएको छ। विश्वव्यापी आर्थिक समस्याबाट नेपाल विमुख हुने कुरा पनि होइन। अमेरिकमै ०.२५ प्रतिशतबाट ब्याजदर ४.५ प्रतिशत पुग्दा कति गुणा बढ्यो? हामी नेपालकै मात्र कुरा गर्छौं। के नेपालमा त्यही अनुपातमा बढेको छ? पक्कै पनि भएको छैन' अधिकारीले भने। 

निजी क्षेत्रका उद्योगी व्यवसायीले उच्च ब्याजदरका विषयमा राष्ट्र बैंकलक्षित विरोध गरिरहेका छन्। गभर्नर अधिकारीलाई नै लक्षित गरेर व्यवसायीहरूले राजनीतिक दलका नेतालाई भेटिरहेका छन्। 

गर्नैपर्ने नियामकीय हस्तक्षेपका कारणले अहिलेसम्म केही दबाब परेको उनको भनाइ छ। यदि गत वर्ष कडाइ नगरेको भए अवस्था उल्टो खतरानाक हुने उनको भनाइ छ। 

गत वर्षको दोहोरो गणना भएको निक्षेप, सीडी रेसियोका कारणले केही दबाब सिर्जना गरेको उनको भनाइ छ। 'तर त्यतिबेला जे गरियो त्यो अत्यावश्यक थियो। गर्नैपर्ने काम थियो। त्यसैले गरियो' उनले भने। तर पछिल्लो समय धेरै कुरामा सुधार भएको उनको भनाइ छ।  

318677570_702557977877648_5526114378661876496_n.jpg

गत वर्षको चार महिनामा ३ खर्ब आपतकालीन सापटी गएकोमा यो वर्ष जम्मा ५ अर्बमात्र गएको उनको भनाइ छ। त्यस्त अन्तरबैंक ब्याजदर पनि ७.०७ प्रतिशतमा झरेको उनको भनाइ छ। 

'हो यही कुरा बाहिर आएको छ। बाहिर हल्ला चाहिँ दबाब उच्च बिन्दुमा पुगेको जस्तो गरिएको छ। अहिलेका तथ्यांकले धेरै सुधार भएको देखाउँछ' उनले भने। 

तर कर्जा विस्तारलाई मात्र ध्यानमा राख्दा अर्थतन्त्र अर्को समस्यामा फस्ने उनको चेतावनी छ। अहिले जति धेरै ऋण विस्तार भयो त्यति धेरै भुक्तानी सन्तुलनमा दबाब देखिने गरेको उनको भनाइ छ। ऋणको विस्तारलाई आन्तरिक उत्पादनमा लगाउनुपर्ने उनको भनाइ छ। 

पछिल्लो समय व्यवसायीले ऋणको ब्याज बढेकोमा बैंक र राष्ट्र बैंकको चर्को आलोचना गरिरहेका छन् भने बैंक र राष्ट्र बैंकले बचाउ गरिरहेका छन्। व्यवसायीले राजनीतिक नेतृत्वलाई उचालेर मौद्रिक नीतिका विरुद्ध बोल्नसमेत लगाइरहेका छन्। 

बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले भने अहिले एकआपसमा भिड्नेभन्दा पनि समन्वय गर्नुपर्ने अवस्था रहेको बताए। वित्तीय क्षेत्रको स्थायित्वका लागि सरोकारवालाहरू मिलेर जानुको विकल्प नभएको उपाध्यायले बताए।

'बैंकहरूको रिटर्न अन इक्विटी घटिरहेको छ, स्प्रेड दर घटेको छ, वित्तीय प्रणालीमा चुनौती थपिएको छ,'बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले बताए।

अहिलेको समयमा सबैभन्दा धेरै जोगाउनुपर्ने बैंकिङ क्षेत्र रहेको उनको भनाइ छ।  

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले अहिलेको समयमा खुकुलो व्यवस्था ल्याउन नहुने बताए। 

कोभिड-१९ पछि संसारभरका सरकारले बजेटबाटै इस्टिमुल्स प्याकेज ल्याएपनि नेपालमा भने त्यस्तो नभएको उनले बताए। तर राष्ट्रबैंकले आफ्नो परिधिमा रहेर अर्थतन्त्रलाई बचाउने प्रयास गरेको उनको भनाइ छ। संकटको समयमा वित्त र मौद्रिक नीतिको तालमेल नहुँदा अहिले समस्या देखिएको उनको भनाइ छ।  

'कहिलेकाहिँ नीतिहरूलाई ब्याकट्याक पनि गर्नुपर्छ। अहिले मौद्रिक कसिलोपनको बेला छ। तर पनि मूल्यवृद्धि धेरै छ। यस्तो अवस्थामा इस्टिमुलस ल्याउन मिल्दैन। क्वान्टिटेटिभ इजिङ गर्न मिल्दैन होला। अर्कातिर उद्योग व्यवसायमा समस्या भएकाले केही न केही नगरी नहुने बेला छ। यसमा राष्ट्रबैंकले सन्तुलनमा राख्नुपर्ने छ' रावलले भने। 

संघका उपाध्यक्ष सुनिल केसीले भने नेपालको बैंकिङ क्षेत्र सक्षम भएको बताए। संकटको समयमा पनि वित्तीय चक्रलाई राम्रोसँग सञ्चालन गरेबाट नै नेपाली बैंकिङ क्षेत्र अब्बल रहेको पुष्टि भएको उनको भनाइ छ। यसलाई अझै राम्रो र सक्षम बनाउनका लागि संघ तत्पर भएको उनले बताए। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend