शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांश घोषणा गरेकै दिन नबिलको सेयर मूल्य किन घट्यो?

सोमबार, मंसिर २६ २०७९
आकर्षक लाभांश घोषणा गरेकै दिन नबिलको सेयर मूल्य किन घट्यो?

काठमाडौं- नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश गरेकै दिन सेयर मूल्यमा ठूलो गिरावट आएको छ।

२५ मंसिर आइतबार बसेको बैंक सञ्चालक समतिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको थियो। तर सोमबारको दोस्रो कारोबारमा प्रतिकित्ता ३१ रुपैयाँ घटेर ८१५ रुपैयाँमा कारोबार भएको छ। 

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

नगद सेयर आएपछि लगानीकर्ता निराश भएको अनुमान गरिएको छ। जसका कारण सेयर मूल्यमा भारी गिरावट आएको छ। सोमबार २ लाख ६१ हजार कित्ता कारोबार हुँदा २१ करोड ३२ लाख रुपैयाँको किनबेच भएको छ। नबिलको सोमबार सवैभन्दा धेरै कारोबारसमेत भएको छ। 

nabil.JPG

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको थियो। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend