शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सहकारीको अग्रसरतामा बागलुङमा हुँदैछ लोपोन्मुख जुनेलोको पुनरुत्थान

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २४ २०७९
images
images
सहकारीको अग्रसरतामा बागलुङमा हुँदैछ लोपोन्मुख जुनेलोको पुनरुत्थान

जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् ।

images
images

बलेवा-  ठूलाठूला बारीका पाटा । गराभरी कोदो । छेउमा कोसेबाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरिलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीलाई हराभरा बनाएको छ ।

images
images
images

तरकारीको छाक टार्न भटमासले काम दिन्थ्यो भने जुनेलो हिउँदको खाजा, धार्मिक कार्यमा प्रसाद बनाउन पनि प्रयोग गरिन्छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरास्थित फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती थालेपछि यो परिवर्तन र किसानमा रौनक आएको हो । 

images
images

जुनेलो रैथाने बाली हो तर आजकाल लोप जस्तै भइसकेको छ । बहुउपयोगी भए पनि जुनेलो खेती गर्न किसानले छाडेकाले बीउ जोगाउनै सङ्कटमा परेको थियो । पछिल्लो समय सहकारीले यो अभियान चलाएपछि संरक्षण सुरु भएको हो ।

images
images
images

रैथानेबाली जुनेलो सङ्कटमा पर्न थालेपछि सहकारीले बीउ जोगाउने प्रयत्न गरेको हो । गत जेठमा लगाइएको जुनेलो पाकेपछि किसानले फसल भित्र्याएका छन् । सहकारीका पदाधिकारी पनि किसान जुनेलो बाली उत्पादनमा आकर्षित हुँदा उनीहरुलाई प्रोत्साहन गरेका छन् । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताए।  जैमिनी नगरपालिकाभरी नै खेती हुन छाडेको जुनेलोको सहकारीले बीउ जगाएको अध्यक्ष शर्माले बताए।

स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि यहाँ रहेको बारीमा खेतीपाती गर्न छाडेका थिए । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको हो । रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको थियो । गत जेठ महिनामा लगाइएको जुनेलोले खर्च कटाएर मुनाफा दिन थालेको अध्यक्ष शर्मा बताउँछन्। 

'यो वर्ष आठ क्विन्टल जुनेलो फलाउने लक्ष्य हो, पाकेको जुनेलो काटेका छौँ, हामीले लक्ष्यअनुसार नै उत्पादन गरेका छौँ', शर्माले भने ,'रैथानेबाली संरक्षणमा यो हाम्रो पहिलो प्रयास हो।'

जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् ।

बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको सहकारीका कोषाध्यक्ष त्रिबिक्रम आचार्यले बताए।

सहकारीले एक लाख रुपैयाँ खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ चार सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । रामेछापबाट बीउ ल्याइएको हो । 

केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको बीउ व्यावसायिक उत्पादन गरेका किसान सहकारीमा आबद्ध भएर नयाँ उत्पादनको अनुभव र थालनी गरेका हुन् । जुनेलो उत्पादन बढाउँदा किसानको आम्दानी पनि बढ्ने कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताए। 
 

रोपेको ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भए पनि हुने उनले बताउनुभयो । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले थालेको संरक्षण राम्रो भएको उनको भनाइ छ । रासस


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०८:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend