शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

माया खोला हाइड्रोपावरको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २३ २०७९
माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आज शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता सेयर छुट्याएको छ। त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।  

निष्कासित सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

आवेदन अनलाइनबाट दिन सकिने 

कम्पनीले निष्कासन गरेको सेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत सेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend