शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमईको आईपीओ जारी गर्ने प्रस्ताव पारित, बन्ने भयो नेपालकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी 

शुक्रबार, मंसिर १६ २०७९
आईएमईको आईपीओ जारी गर्ने प्रस्ताव पारित,  बन्ने भयो नेपालकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी 

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ।

काठमाडौं- आइएमई कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ।
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा २२ औँ साधारण सभाले सम्पन्न गर्दै आइपीओमा जाने प्रस्ताव पारित गरेको हो। यो सँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको हुने भएको छ।

आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गराएका थिए।

अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका थिए।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिष्पर्धा बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यवसायिक दायराज फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ।

रेमिट्यान्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।


नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको थियो।

नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसमेत ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् सेवा दिँदै आएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend