शनिबार, मंसिर ८ गते २०८१    
images
images

आठ वर्षमा चार पटक म्याद थपियो अझै सकिएन पुल निर्माण 

images
शुक्रबार, मंसिर १६ २०७९
images
images
आठ वर्षमा चार पटक म्याद थपियो अझै सकिएन पुल निर्माण 

पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ।

images
images

भरतपुर-  चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ। पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।

images
images
images

पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।

images

निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए। उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए। पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए। 

images

उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।

एक सय पाँच मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित  नौ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend