बुद्ध एयर नेपाली आकाशमा उड्न थालेको २४ वर्ष पूरा भएको छ। विगतमा दर्जनौँ एयरलाइन्स कम्पनीहरू खुल्दै बन्द हुँदै गरेको अवस्थामा पनि अनवरत रुपमा बुद्धले आन्तरिक उडानमा एकछत्र राज गरिरहेको छ। अहिले आन्तरिकतर्फ ६० प्रतिशतभन्दा बढी बजार हिस्सा समेत लिइसकेको छ। यसै अवसरमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग बिजनेस न्युजका लागि केदार दाहाल र उत्तम काप्रीले अहिलेको अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन्।
२३ वर्ष पूरा गरेर २४ वर्षे यात्रामा प्रवेश गरेको छ बुद्ध एयर। आन्तरिक उड्डयनको क्षेत्रलाई यो ठाउँमा ल्याउन तपाईंहरूको भूमिका पनि महत्वपूर्ण छ। कसरी भइरहेको छ काम?
अक्टोबर ११ तारेखबाट हामी २४ वर्ष पूरा गरेर २५ वर्षमा प्रवेश गर्दै छौँ। यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो।
२४ वर्षको अवधिमा दिगो र दह्रो जग हाल्न सफल भएका छौँ। संसारमा एउटा भनाइ के छ भने, अर्बपतिबाट करोडपतिमा झर्न हवाई व्यवसायी गर्नुपर्छ। यसलाई हामीले असत्य सावित गरेका छौँ। हामी नाफामा नै छौँ। हाम्रो पारर्शीतको मूल मन्त्र जुन छ यो नै यसको सफलताको आधार हो। पारर्शीतालाई संस्थागत गर्यौँ, यो सफलताको मूल कारण हो।
बुद्ध एयरको पहिलो स्वार्थ कर्मचारीको हक हित, प्रगति र कर्मचारीले काम गर्न सक्ने सहज वातावारण नै हो। हामीले त्यस्तो वातावरण बनाएका छौँ। यो पनि सफलताको अर्को आधार हो। मलगायत हामी सबै कर्मचारीको आवश्यताहरू पूरा भइरहेको छ। कर्मचारीले आफ्नै कम्पनी जस्तो गरेर हेरिरहेका छन्। अपनत्व लिएका छन्। बुद्ध एयरलाइन्सका कर्मचारी सबैले यसको स्वामित्व लिएका छन्।
हामील सम्झने अर्को विषय, कोभिड महामारी पनि भोग्नु पर्यो। १५ महिनाको महामारीमा ८ महिना त शून्य आम्दानीमै बस्नु पर्यो। तर कर्मचारीको चुलो निभ्न दिएनौँ। केही नै केही पैसा कर्मचारीको खातामा जम्मा गरेका थियौँ। अहिले त हामी पुरानै लयमा फकिएका छौँ। यो चाँही सबै भन्दा ठूलो उपलब्धी मानेका छौँ।
यो सबैको पछाडि कर्मचारीको भूमिका ठूलो छ। हामीलाई एटिआर कम्पनीले भनेअनुसार हामी संसारको उत्कृष्ट सञ्चालकमा पर्छौं। एउटा जहाजबाट उडान सुरु गरेर संस्थालाई आज सक्षम र बलियो रुपमा खडा गरेका छौँ।
संस्थालाई यो ठाउँमा ल्याउँदै गर्दा कर्मचारीबाट साथ सहयोग कस्तो रह्यो, कुनै समस्या त भोग्नु परेको छैन?
हामीले अहिलेसम्म कर्मचारीबाट खासै कुनै समस्या भोग्नु परेको छैन। माओवादी शान्ति प्रक्रियामा आएपछि नयाँ राजनीतिक माहोल सुरु भयो। त्यसपछि भने केही कर्मचारीले युनियन खोल्ने कुरा गरे। मैले पनि सहमति दिएँ। तर राजनीतिक दलको झण्डा बोकेर बनेको युनियन नभइ स्वतन्त्र युनियन खोल्नु पर्ने विषय अगाडि बढाएँ। त्यहीअनुसार काम पनि भयो। जसबाट कर्मचारीको विषयमा गर्नु पर्ने काममा पनि सहजता भयो। त्यसले कुनै असर गरेन। तर युनियन धेरै वर्ष सञ्चालन हुन सकेन। समस्या नभएका कारण हुनुपर्छ युनियनको आवश्यकता भएन।
अहिले चाँही सामाजिक सुरक्षा कोषमा जानुपर्ने भएपछि युनियन नहुँदा कर्मचारीको विषयमा व्यवस्थानले नै लड्नु परेको छ। हुन त कर्मचारीकै सहयोगमा यो काम अगाडि बढाएका हौँ।
२४ वर्षसम्म आइपुग्दा यात्रुलाई दिनु भएको सेवा र खर्च कसरी व्यवस्थापन भइरहेको छ। सुरुवाती दिनको भाडा र अहिलेको भाडामा कति फरक परेको छ?
हाम्रो २४ वर्ष अगाडिको खर्च र अहिलेको खर्च अवश्य बढेको छ। हामीले २४ वर्ष अगाडिको खर्च र अहिलेको खर्च विवरण तुलनासमेत गरेका छौँ।
२४ वर्ष अगाडि हवाई इन्धन मूल्य प्रतिलिटर ३० रुपैयाँ थियो। अहिले यो बढेर ८६ रुपैयाँ पुगको छ। केही दिनमै यो मूल्य अझै बढ्ने छ। अहिलको हिसाबमा तुलना गर्दा ५६ रुपैयाँ फरक हो। यो १ सय ८७ प्रतिशतले बढी हो।
जब हाम्रो कूल खर्चको ४० प्रतिशत खर्च हवाई इन्धनमै हुन्छ। सबै जहाज मर्मत, तालिम, पार्टपुर्जा सबै डलरमा कारोबार हुन्छ। उक्त समयमा १ डलरको मूल्य ६८ रुपैयाँ थियो। अहिले १ सय २० रुपैयाँ पुगेको छ। यसमा ५२ रुपैयाँ फरक परेको छ। यो सम्रगमा ७६ प्रतिशत बढेको छ।
मुद्रास्फिती १९९९ मा सय थियो अहिले यो ४ सय ४० भएको छ। यस्तै बुद्ध एयरले कर्मचारीलाई दिने तलब खर्च पनि ६ सय प्रतिशतभन्दा बढीले बढेको छ। सुरुवातमा हामीले ४ वटा सेक्टर विराटनगर, पोखरा, भैरहवा र नेपालगञ्जमा उडान गरेका थियौँ।
चार वटा सेक्टरको तत्कालिन समयको औसत भाडा १ हजार ८ सय ५० रुपैयाँ थियो। अहिले भने औसत भाडा ३ हजार १ सय ६४ रुपैयाँ पुगको छ। जुन १ हजार २ सय ८९ रुपैयाँले मात्रै बढी हो। भाडा ७९ प्रतिशतले मात्रै बढेको हो।
यो भाडामा पनि हामी नाफामै छौँ। हामीले के पुष्टि गरेका छौँ भने नेपालको आन्तरिक हवाई सेवामा हिजोको दिनमा जुन हिसाबले हामीले सिट उत्पादन गरेका थियौँ त्यो बढाएर आज दैनिक ८ हजार सिट क्षमता बनाएका छौँ। यसले गर्दा सरल र सस्तो हवाई भाडा भएको छ।
सस्तो भाडादर सिर्जना गरेर आम नेपालीलाई जहाजमार्फत आवतजावत गर्न सक्ने बनाएका छौँ। आम जनताले पनि त्यसलाई सदुपयोग गरेका छन्।
हामीले नेतृत्व गरिरहेका छौँ। सबैले यसलाई पछ्याइरहेका छन्। अहिलेको अवस्थामा राजमार्गको अस्तव्यस्त अवस्थामा पनि सुलभ र सहज रुपमा काठमाडौं ओहोरदोहोर गर्न पाइरहिएको छ। कहिले काहिँ केही समय ढिला भए पनि सबैले सहज र सस्तो दरमा यात्रा त गर्न पाएका छन्।
जहाजमा समस्याा आउँदा पनि केही ढिला त भएका होला। तर हामीले एउटा परिवर्तन चाहिँ ल्याएका छौँ। नेपाली समाजमा जुन किसिमले हामीले हवाई यात्रालाई सहज र सुभल बनाएका छौँ। यसमा हामी खुसी पनि छौँ। सहजीकरण गर्दै परिवर्तन गरेका छौँ।
अबको योजना के हो? १० वर्षपछिको बुद्ध एयरको अवस्था कस्तो परिकल्पना गर्नु भएको छ?
अब भाडादर सुलभ र सस्तो हुनुपर्छ। आवासीय भाडादर पनि सामान्य बनाउँदै छौँ। पर्यटकीय गन्तव्य पोखराबाट नेपालगञ्ज, चितवन, भैरहवा, विराटनगर लगायतका गन्तव्यमा पर्यटक जानका लागि सस्तो भाडा चाहिन्छ।
पर्यटकका लागि सहज भाडा बनाउनु पर्छ। त्यसैले बुद्ध एयरले त्यो काम गर्छ। भाडा चाहिँ डलरमै लिन्छौँ। नियम नै त्यही छ। तर नेपाली भाडादरको हाराहारीमै लिन्छौँ।
अब तुम्लिङटारलाई पनि हामी सहज बनाउँदै छौँ। तुम्लिङटार विमानस्थल दुर्गम विमानस्थल हो। यो विमानस्थलमा बुद्ध एयरले अब एटिआर ७२ जहाजबाट नै उडान गर्दै छ। त्यहाँ पनि भैरहवा र विराटनगरकै जस्तो फेयर हुन्छ। आवश्यकता हेरेर उडान हुन्छ।
पोखराबाट अन्तरसिटी उडान भइरहेको छ। यसमा सानो जहाज प्रयोग भएको छ। जनवरीमा अर्को जहाज आएपछि त्यही गन्तव्यहरूमा पनि ठूलै जहाजबाट उडान हुन्छ। भाडा पनि सस्तो हुन्छ।
जनकपुर र सिमरारमा भने सानो जहाजबाट नै उडान हुन्छ। लखनउ, गोरखपुरबाट आएका भारतीय सिधै भैरहवा तथा विराटनगरबाट सिधै नेपालगञ्ज र पोखरा जान सक्छन् भने पोखराबाट पनि सिधै ती गन्तव्यहरूमा जान सक्छन्। कम्पनी नाफामा गएपछि त्यही अनुसार सेवामा पनि सहज गर्दै लैजाने हो।
अर्को हाम्रो फोकस दुर्गममा उडान गर्ने हो। यसका लागि अध्ययन भइरहेको छ। सुगम विमानस्थललाई जसरी पुन: परिभाषित गरेका छौँ, दुर्गममा पनि गर्नु पर्छ। अन्तर्राष्ट्रिय उडान चाँही गाह्रो छ। आन्तरिकमा त्यस्तो गाह्रो छैन।
दुर्गममा सेवा विस्तार गर्नु हाम्रो हातभित्रै पर्ने काम हो। नेपालको आर्थिक उन्नती पनि १९७० को दशकमा दुर्गम उडानमा लागि ल्याइएको ट्वीनअटर जहाज नै हो। यसले दुर्गम क्षेत्र हवाई सम्पर्कमा आएका थिए। अब फेरि यसलाई पुनर्परिभाषित गर्नुछ। त्यसका लागि जहाजको विषयमा अध्ययन भइरहेका छ।
प्राविधिक टोलीले बाजुरा, साफेँ बगर, जुम्ला तथा ताप्लेजुङ विमानस्थलको पनि अध्ययन गरिहरेको छ। त्यसमा निर्णय हुन बाँकी छ। जब कम्पनी आर्थिक हिसाबले बलियो हुन्छ तब उसले गर्नुपर्ने काम विस्तार हुँदै जानुपर्छ।
बुद्ध एयर पब्लिक कम्पनीमा जाँदैन?
बुद्ध एयरमा जनताको स्वामित्व अहिले पनि छ। सेयरको विषयमा हामी एकदमै छनोटमा विश्वास गर्छौं। आम जनताले सेयर पाउने हो भने समस्या छैन। तर होल्डिङ गरेर एक जना, दुई जना पहुँचवाला व्यक्तिहरूले मात्रै लिने अवस्था आउने हो भने हामी त्यो चाहँदैनौँ।
हामीलाई अहिले कुनै नयाँ लगानी आवश्यक छैन। हामीले सेयरको मूल्याङ्कन नाफा र डेबिडेन्टले परिभाषित गर्ने हो। हामी कम्फर्ट जोनमा छौँ।
मेरो प्राथमिकता कर्मचारीहरूले बुद्ध एयरमा सेयर राख्न पाउनु पर्छ भन्ने हो। तर कहिले पाउँछन् के हुन्छ भने विषय सयय अनुसार हुँदै जान्छ। जनताको सेयरको विषयमा छलफल आवश्यक नै हुन्छ। तर कर्मचारीले सेयर हाल्ने विषयमा म सकारात्मक छु।
बुद्ध एयर अन्तर्राष्ट्रिय उडानबाट बाहिरिन खोजेको हो?
अन्तर्राष्ट्रिय उडानमा हामीले बनारस उडान नियमित नै गरिरहेका छौँ। जब नेपाल भारत एयर बबल उडान हटेर नियमित उडान हुन्छ त्यसपछि बनारसमा राम्ररी नै उडान हुन्छ।
यसैगरी उतर प्रदेश सरकारसँग पनि पत्रचार गरिरहेका छौँ। जनकपुर-अयोध्या उडान गर्ने तयारी पनि गरेका छौँ। त्यो करिब एक घण्टाको मात्रै उडान हो। जहाँ हामीलाई समस्या पर्दैन त्यस्तो गन्तव्यमा उडान चाहिँ हुन्छ। तर जेट लाइनरबाट अन्तर्राष्ट्रिय उडान सिंगापुर, बैंग्लोर, लण्डन, अमेरिका उडानमा अहिले हामी सक्दैनौँ। त्यो हामी एक्लैबाट सम्भव हुँदैन।
हामीले बोइङ र एयरबससँग अन्तरक्रिया पनि गरेका थियौँ। उडान सञ्चालन गर्दा घाटाको विषय पनि जोडिन्छ। एउटा जहाजबाट उडान थाल्दा पनि १८ घण्टा जहाज आकाशमा हुनुपर्छ। त्यसका लागि सोहीअनुसार गन्तव्य पनि चाहिन्छ।
अन्तर्राष्ट्रिय उडान हाम्रो सामर्थ्यभन्दा माथिको विषय हो। यसका लागि सरकारको पनि सहयोग चाहिन्छ। अवसर आएको अवस्थामा हामी सक्षम छौँ। तर, बटमलाइन हामी फाइदामा जानु पर्छ। घाटामा जान चाहँदैनौँ।
बुद्ध एयर सञ्चालनमा आउँदा त्यसअघि आफ्नो आधिपत्य जमाएका कम्पनी त डुबे। त्यसबाट पनि बुझ्नुपर्छ फाइदा नहुँदासम्म उन्नति हुँदैन। हामी अहिले लयमा आएइसकेका छौँ। सबैले फाइदाको आँकलन गरेर नै काम गर्नु पर्छ।
बुद्ध एयरको जहाजमा आएको प्राविधिक समस्यालाई लिएर अहिले सामाजिक सञ्जालमा नै बहस सुरु भएको छ। सुरक्षाको विषयमा बुद्ध एयरले कसरी काम गरिरहेको छ?
हामीले कुनै पनि सूचना लुकाएका छैनौँ। हामी आज यो ठाउँमा आइपुग्नुको पछाडिको कारण पनि हाम्रो पारदर्शिता नै हो।
जहाजमा प्राविधिक समस्या आउँछ। जहाजको टायर पन्चडको जुन समाचार आएको छ, यो बुद्ध एयरलाई खेद्न नै आएको समाचार हो। जहाजको टायर पन्चड भइरहन्छ। हामी १५ दिनमा ५० लाख रुपैयाँको त टायर नै फेर्छौं। अहिले पनि बुद्ध एयरसँग १ सय १२ करोड रुपैयाँको पार्टपुर्जा स्टक छ। पार्टपुर्जा बिग्रिन्छ नै, त्यो फेर्ने हो। हामीले जहाज मर्मतका लागि सुविधासम्पन्न ह्याङ्गर स्थापना गरेका छौँ। जहाजमा समस्या आएपछि ह्याङ्गरकैमुनि मर्मत गर्नु पर्छ। बिग्रिएको सामान फेर्ने मात्रै मर्मत त होइन।
जहाजको सबै आन्द्राभुँडी (पार्टपुजा देखि इन्जिन) निकालेर समय समयमा त्यसको नसा नसा हेर्ने, मर्मत गर्ने हो। यो काम हामीले गरिरहेका छौँ। हाम्रो सबै काम पारदर्शीछन्। एयरलाइन्समा १३ सय कर्मचारी छन् यो सबै विषय उहाँहरूलाई पनि थाहा छ।
सानो केही हुनेवित्तिकै हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा रिपोर्ट पेस गर्ने गरेका छौँ। कर्पोरेट सुरक्षा विभागमा पनि यो विषय आउनु पर्छ।
विराटनगर उडेको जहाजमा आएको समस्या विषयमा हामीले रिपोर्ट बुझाइसकेका छौँ। ककपिटमा रहेको कर्मचारीले जहाजभित्रको उपकरणलाईभन्दा बाहिरको विषयलाई बढी ध्यान दिँदा यस्तो भएको हो। यो विषय प्राधिकरणमा बुझाइसकेका छौँ।
जहाजमा कुनै पनि समस्या थिएन। सबै प्रमाण हेर्दा पनि हुन्छ। हाम्रो यसमा के कारणले गल्ती भयो त्यो हामी पनि खोज्दै छौँ। तर त्यसपछिको विषय ठूलो हो। यसले नेपालको हवाई क्षेत्रमै असर गर्छ। आज बुद्धलाई परेको होला भोली अरुलाई पनि पर्छ।
यो केस आएपछि सरकारले जहाजको विषयमा अध्ययन गर्ने भनेर समिति नै बनाएको छ। यसमा तपाईंको कस्तो सहयोग हुन्छ? अनि जहाज पुरानो भनेर भनिएको छ। जहाजको आयु नहुने हो त?
जहाजको आयु हुन्छ। चक्रमा हुन्छ। एउटा टेक अफ र एउटा ल्याण्डलाई एक साइकल भनिन्छ। कुनै जहाजको ६ हजार, कुनैको २० हजार त कुनैको ७० हजारसम्म जीवन चक्र हुन्छ। हामीले उडान गरिरहेको जहाज एटिआरको ७० हजार हो। ७० हजार साइकललाई इकोनोमिक लाइफ भनिन्छ। त्यति नउड्दासम्म जहाजबाट फाइदा लिन सकिँदैन। यो कम्पनीले भनेको कुरा हो। यसलाई उड्डयन क्षेत्रसँग सरोकार राख्ने संस्थाहरूले समेत प्रमाणित गरेका छन्। कम्पनीले मात्रै आयु राख्न पाउँदैन।
एउटा जहाजको मूल्य ३ अर्ब रुपैयाँ पर्छ। ३ अर्ब रुपैयाँ चुक्ता गर्ने भनेको जहाज उडाएर नै गर्ने हो। टाटाको गाडी कुदाए जस्तो हैन कि धेरै उड्यो भने छिट्टो सकिन्छ, कम उडाए लामो समयसम्म हुन्छ भन्ने। जहाज पुरानो हो भनेर जे आएको छ यो पनि पूर्वाग्रही हो। जहाजमा आउने प्राविधिक विषयमा सबैले बुझ्नु पर्छ।
सरकारले गर्ने भौतिक र प्राविधिक दुवै अध्ययनमा हाम्रो सहयोग हुन्छ। कैफियत भएको छ कि छैन यो विषयमा हुने अध्ययनमा सहयोग हुन्छ।
नेपाली वायुसेवा कम्पनीले नयाँ जहाज किनेर सेवा दिन सक्दैनन्? किन पुरानो मात्रै किन्छन् त?
हामीले पनि सुरुमा नयाँ जहाज नै किनेका हौँ। २४ वर्ष अगाडि सेवा सुरु गर्दा नयाँ जहाजबाट नै सेवा दिएका थियौँ। तर इकोनोमिक एड्भान्टेज के त? नयाँ जहाज ल्याएर औसत भाडादर ३ हजार रुपैयाँ चलाउन सक्दैनौँ।
जब नयाँ जहाजको आवश्यकता नै छैन किन ल्याउने। नयाँ जहाज र पुरानो जहाज ल्याउनुमा एउटा कारण छ। नयाँ जहाजमा मर्मत फ्रि हुन्छ। तर हामीले पुराना जहाज ल्याएर हाम्रा प्राविधिक लगाएर मर्मत गरेर सञ्चालन गरेका छौँ। सरकारले पनि जहाज ल्याउन पाउने कानूनी व्यवस्था नै गरेको छ।
१५ वर्षभन्दा पुरानो जहाज त ल्याउन नै पाइँदैन। यसैगरी आधा लाइफ साइकलभन्दा कम भएको जहाज पनि ल्याउन पाइँदैन। त्यसलाई त हामीले कार्यान्वयन गरिरहेका छौँ। फेरि जहाज प्राधिकरणको नियमनमै हुन्छ। हाम्रो बजार हिस्सा बढी भएको भनेर लापरबाही गरेका छैनौँ। बजार हिस्सा बढेपछि झन बढी ध्यान दिनु पर्छ। व्यवस्थापनमा कमी कमजोरी हुन दिँदैनौँ।
अब यात्रुको भरोसा टुट्न नदिन के गरिरहनु भएको छ?
कुनै पनि एयरलाइन्स कम्पनीको लागि यात्रु नै भगवान हुन्, यात्रुको सेवा एयरलाइन्सको मुख्य जिम्मेवारी हो।
यात्रु भएपछि नै सबै चक्र चल्ने हो। यात्रुको लागि भएको जे जस्तो हो त्यसमा सूचना सम्प्रेषण गर्नु नै सबैभन्दा राम्रो कुरा हो। जुन हामीले निरन्तर गरिरहेका छौँ। केही दिन अगाडि भएका घटनालाई पनि आन्तरिक छानविन गरेर मुख्य कुरा जानकारी गराइसकेका छौँ। सामाजिक सञ्जालमार्फत पनि सर्वे गराउने काम गरिरहेका छौँ। यात्रुको विश्वास टुट्न दिने छैनौँ, यो हाम्रो प्रतिवद्धता हो।
भिडियोमा हेर्नुहोस्